एकै महिना नेपाल भित्रिए ८० हजार विदेशी पर्यटक : चिनियाँ पर्यटक आगमन बढ्दै, भारतीय घट्दै « Arthapath.com
२१ माघ २०८१, सोमबार

एकै महिना नेपाल भित्रिए ८० हजार विदेशी पर्यटक : चिनियाँ पर्यटक आगमन बढ्दै, भारतीय घट्दै



काठमाडौं । एक महिनामै झन्डै ८० हजार विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको सन् २०२५ को पहिलो महिना अर्थात् जनवरीको तथ्याङ्कले यस्तो देखाएको हो ।

जनवरीमा विश्वका विभिन्न मुलुकहरुबाट ७९ हजार ९९१ जना विदेशी नागरिकहरुले नेपाल भ्रमण गरेका छन् । यो गत वर्ष सन् २०२४ को जनवरीको तुलनामा भने सामान्य १.१ प्रतिशत मात्रै बढी हो । गत वर्षको सोही महिनामा पनि विभिन्न मुलुकहरुबाट ७९ हजार १०० जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

नेपालमा सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारतबाट आउने गरेका छन् । जनवरीमा पनि २० हजार ४८५ जना भारतीय नागरिक नेपाल भ्रमणमा आएका छन् । यद्यपि, यो गत वर्षको सोही महिनाको तुलनामा भने १५.१ प्रतिशत कमी हो । गत वर्षको जनवरी महिनामा भारतबाट २४ हजार १३९ जना पर्यटक नेपाल घुम्न आएका थिए । नेपालमा भारतीय पर्यटकहरू सीमा क्षेत्र अर्थात् सडक (सवारी साधन) मार्फत पनि आउने गर्छन् । तर, बोर्डले हवाई मार्गबाट नेपाल भित्रिएने विदेशी पर्यटक राख्ने गरेको छ ।

बोर्डका अनुसार भारतपछि चीनबाट धेरै पर्यटक आउने गरेका छन् । जनवरीमा चीनबाट ८ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो समय भारतबाट आउने पर्यटकको संख्या घटेको छ । तर, चीनबाट आउने पर्यटकको संख्या भने दोहोरो अंकमा बढेका छन् । गत वर्षको जनवरीको तुलनामा चीनबाट आउने पर्यटकको संख्या १२.७ प्रतिशत बढेका छन् ।
चीनपछि नेपालमा अमेरिकाबाट धेरै पर्यटक आउने गरेका छन् । जनवरीमा सो मुलुकबाट ८ हजार ६३ जना पर्यटक आएका छन् । यो गत वर्षको तुलनामा १४.९ प्रतिशत बढी हो ।

बोर्डका अनुसार बंगलादेशबाट जनवरी महिनामा ५ हजार ४०६ जना, अष्ट्रेलियाबाट ४ हजार ३०१, दक्षिण कोरियाबाट ३ हजार ७५६, बेलायबाट ३ हजार ५२१, थाइल्याण्डबाट ३ हजार २१९, भुटानबाट २ हजार ७६८ र जापानबाट १ हजार ५७० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

कहाँबाट कति आए विदेशी पर्यटक ?


प्रतिक्रिया दिनुहोस्