शिवेन्द्रले कसरी सिध्याइदिए अवोध विद्यार्थीको ‘हावामा तैरने’ सपना ? « Arthapath.com
२१ माघ २०८१, सोमबार

शिवेन्द्रले कसरी सिध्याइदिए अवोध विद्यार्थीको ‘हावामा तैरने’ सपना ?



काठमाडौँ । नियत र नियती, यी दुबै कारण हुनसक्छन्– जसले मानिसलाई कहिल्यै उम्कन नसकिने दलदल वा भासमा डुबाइदिन्छ । यस्तै खाले दलदलमा फसेका एक पात्रले नेपालमा महत्वाकांक्षी परियोजना सुरु गरेर कसरी मानिसहरुलाई बिल्लिबाठ बनाए भन्ने उदाहरण हो– शिवानी एयर फ्लाइङ स्कूल ।

दुई दशक अघि शिवेन्द्रबहादुर बस्नेतले यो स्कूल खोलेका थिए । नेपालमै पाइलट पढाउने भनेर खुलेको यो स्कुलले त्यस बेला त राम्रै चर्चा कमाएको थियो ।

सरकारी स्तरबाटै भएका प्रयास र केही कम्पनीले लाइसेन्स पाउँदा समेत आजसम्म पनि नेपालमा अर्को यस्तो स्कुल खुल्न नसक्नुले त्यस बेलाको प्रयास कति महत्वपूर्ण र महत्वाकांक्षी थियो भन्ने देखाउँछ ।

तर दुर्भाग्य, उक्त स्कुलले आफ्ना विद्यार्थीलाई पाइलट त बनाउन सकेन नै, बरु उनीहरुलाई अन्धकार भविष्यतर्फ धकेलिदियो ।

के भएको थियो ?

उक्त स्कुलले सन् २००६ मा आफ्नो पहिलो सत्रको पढाइ थालेको थियो । चितवनको भरतपुर विमानस्थललाई आधार क्षेत्र बनाएर उसले तालिम दिन पनि थालेको थियो । पहिलो वर्ष उसले ६ जना विद्यार्थी पायो । दोस्रो र तेस्रो वर्षमा राम्रै विद्यार्थी पाइसकेको थियो ।

नेपालमात्रै होइन, भारतबाट पनि ८–९ जना विद्यार्थी नेपालमा पाइलट पढ्न आएका थिए । तीन सत्रमा गरी कुल ३०–३५ जना विद्यार्थी रहेको उक्त स्कुलले एक जना विद्यार्थीसँग २३ लाख रुपैयाँ शुल्क लिएको थियो । तर दोस्रो वर्षमै विद्यार्थीको आकर्षण बढेपछि शुल्क बढाएर २६ लाख पुर्यायो ।

विदेशी प्रशिक्षक ल्याएको थियो । विद्यार्थीलाई चितवनको ग्लोबल होटेल (त्यस बेलाको महँगो र सुविधा सम्पन्नमध्येको एक)मा राखेको थियो ।

विद्यार्थीलाई प्रशिक्षण दिन एउटा सिंगल इञ्जिन जहाज पनि किनेको थियो । २०६४ वैशाखमै कम्पनीले अमेरिकाबाट डीए–२०–सी१ जहाज नेपाल ल्यायो । युनाइटेड फ्रेट सोलुशनसँग किनिएको यो जहाज भरतपुरमा उतारेपछि पहिलो सत्रका विद्यार्थीलाई उडान प्रशिक्षण पनि दिन थाल्यो ।

पहिलो सत्रका विद्यार्थीले धमाधम उडान प्रशिक्षण लिन थालेका थिए । तर एक वर्ष वित्दा नवित्दै उक्त विमान धावनमार्गमा धसिन पुग्यो । यसबाट मानवीय क्षति त भएन, तर कम्पनीसँग भएको एकमात्र विमान क्षतविच्छेद भयो ।

त्यसपछि शिवानी एयरको अधोगति सुरु भयो । कम्पनीले दुई वर्षसम्म नयाँ जहाज किन्न सकेन । विद्यार्थीलाई होटेलमा राख्नु पर्यो । दुई वर्षपछि अरु दुईटा यस्तै जहाज किनेर ल्यायो र पुरानो जहाजलाई पनि मर्मत गर्न थाल्यो ।

पहिलो सत्रका विद्यार्थीले त १९० घण्टा उडान भरेर प्रशिक्षण पनि लिइसकेका थिए । तर ठूलो संख्यामा रहेका दोस्रो र तेस्रो सत्रका विद्यार्थीले उडान प्रशिक्षण लिने पालो आउँदै थियो । कम्पनी एकाएक बन्द भयो । एकातिर ऋणको चाप, अर्कातिर विद्यार्थीको दबाब थेग्न नसकेपछि लफडा पर्यो र स्कुलमा सदाका लागि ताला लाग्यो ।

विद्यार्थीको पढाइ बीचमै तुहियो । त्यस बेला उड्डयन क्षेत्रमा आफ्नो सुन्दर भविष्यको परिकल्पना गरेर २५–२६ लाख रुपैयाँ बुझाएका विद्यार्थीको विल्लिबाठ भयो । जिन्दगीको सबैभन्दा ऊर्जाशील ४ वर्ष खेर गयो । उनीहरुमध्ये ८०–९० प्रतिशतले आफ्नो सपना नै त्याग्नु पर्यो । केही विद्यार्थीले भने पुनः विदेशमा गएर शून्य विन्दुबाटै यो कोर्ष अघि बढाए र अब नेपालमै उडान भरिरहेका छन् ।

गौरव पोखरेल, डार्बिन सापकोटा र राजन ठकुरीजस्ता क्याप्टेनहरु त्यही शिवानी एयरबाट ‘ठगिएका’ विद्यार्थी हुन् ।

डुबेको ५ करोड कहिले होला फिर्ता ?

आजभन्दा १८–१९ वर्ष अघि २६ लाख रुपैयाँ भनेको सानो पैसा थिएन । त्यस बेलाका एक विद्यार्थी सम्झन्छन्, ‘त्यो समय बालाजुमा ३ लाख रुपैयाँ आनामा जग्गा कारोबार हुन्थ्यो । मैले ६ आना जग्गा बेचेर पाइलट पढ्न गएको थिएँ । त्यो जग्गा बचेको भए अहिले जति मूल्य आउँथ्यो, त्यति नै पैसा कमाउन मैले कति वर्ष काम गर्नुपर्ला ?’

सबै विद्यार्थीेले यसरी नै सम्पत्ती बेचेर पैसा तिरेका थिए । तेस्रो सत्रका सबैले पुरा पैसा नतिरेको भए पनि करीब ५ करोड रुपैयाँ त्यस बेला शिवानीले विद्यार्थीसँग उठाएको थियो । उक्त पैसा फिर्ता हुने आशामा विद्यार्थीहरु अहिले पनि छन् । यसका लागि सकेसम्म सल्लाहमै पैसा माग्ने, नभए न्यायिक कदम चाल्ने बाटोमा उनीहरु तयार देखिन्छन् ।

शिवानीका तीन जहाज भने अहिले पनि भरतपुर विमानस्थलमा एउटा टिनको टहरा (ह्याङ्गर)भित्र थन्किएको छ । ती जहाजहरु लिलामी गरेर बक्यौता उठाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया थालिसकेको छ ।

करीब डेढ दशकदेखि सेवा बन्द भएको शिवानी एयरले प्राधिकरणलाई साढे ५ लाख रुपैयाँ सेवाशुल्क तिर्न बाँकी छ । त्यसको ब्याज र जरिवानाको हिसाब गर्दा यो लागत महँगो पर्न सक्छ ।

भरतपुर स्थित ह्याङ्गरमा थन्किएका शिवानी एयरका जहाजको यो तस्वीर हामीले सामाजिक सञ्जाल फेसबूकबाट लिएका हौँ ।

आमालाई हिरासत

फ्लाइङ स्कुल बन्द गरेपछि शिवेन्द्र बस्नेत अमेरिका हानिए । तर यहाँ विद्यार्थीको विचल्ली भयो । २६ लाख रुपैयाँसम्म शुल्क तिरेर पढ्न नपाएका विद्यार्थीले काठमाडौँ प्रहरीमा उजुरी दिए । आफूहरु ठगिएको भनेर उजुरी दिएपछि प्रहरीले विवरण खोज्यो ।

हेर्दा त, शिवेन्द्र होइन उनी आमा आशारानी बस्नेतको नाममा त्यो कम्पनी दर्ता रहेछ । २०७० सालमा काठमाडौँ प्रहरीले आशारानीलाई गिरफ्तार गर्यो । उनी सुरेन्द्र बहादुर बस्नेतकी धर्मपत्नी हुन्, जसले नेपालमा बुद्ध एयरजस्तो एक प्रतिष्ठित कम्पनी खडा गरेका थिए ।

उनलाई ‘नखाएको विष’ लाग्यो । आफ्नो छोराको अक्षमताको भागिदार बनेर उनले हिरासतको चिसो सिँढीमा दिनरात गुजारिन् । त्यस बेला काठमाडौँ प्रहरी प्रमुख थिए– सुपरस्टार एसएसपी रमेश खरेल । यो घटनापछि सुरेन्द्र र जेठा छोरा वीरेन्द्र हनुमानढोका पुगे ।

भोलिपल्ट विद्यार्थीहरुसँग सहमति बन्यो,– निश्चित पैसा तिरेर आशारानीलाई रिहा गर्ने । प्रहरीको रोहबरमा वीरेन्द्रको बाबुछोराले १ करोड ३५ लाख रुपैयाँ तिरिदिए । त्यो पैसा आशारानीको तर्फबाट विद्यार्थीलाई दिइएको थियो ।

यसरी उनी हिरासतबाट रिहा भइन् । यस घटनापछि सुरेन्द्र आफ्ना कान्छा छोरा शिवेन्द्रप्रति विक्षिप्त भए । आफूले बदमासी गरेर आमालाई हत्कडी लगाउने छोराप्रति को खुसी होला र ?

अरुलाई फसाउने, आफू उम्किने

बस्नेत परिवारको सदस्य भए पनि शिवेन्द्रको पृष्ठभूमि नै गलत कामतर्फ तल्लिन रहेको देखिन्छ । उनले आफ्नी आमा र विद्यार्थीलाई मात्रै होइन, त्यस्ता धेरैलाई ठगेका छन् । यस घटनालाई केलाउन करीब २७ वर्ष पछाडी फर्कनु पर्ने हुन्छ ।

सुरेन्द्र बहादुर बस्नेतले २०५३ सालमा बुद्ध एयर दर्ता गरेको भए पनि यसको व्यावसायिक उडान भने २०५४ असोज २५ बाट सुरु भयो । कम्पनी खोल्दा सुरेन्द्रले आफ्ना दुई छोराहरु वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुरलाई १४—१४ प्रतिशत सेयर दिएका थिए । बाँकी ७२ प्रतिशत हिस्सा उनकै नाममा थियो ।

नेपाली आकाशमा आफ्नो ‘सपना’ले पखेटा फिँजाएको हेर्ने भोक मेटाउन लालायित सुरेन्द्रले दुबै छोरालाई कम्पनीको हित र विस्तारमा खटाए । तर सम्भ्रान्त परिवारमा पुलपुलिएर हुर्किएका शिवेन्द्र अलि ‘रोमान्टिक’ खालका थिए । व्यवसाय भन्दा पनि मोजमस्तीमा ज्यादा ध्यान दिने उनले २ वर्ष वित्दा नबित्दै बुबाको सामु अनौठो प्रस्ताव राखे ।

पहिले नै विवाह भएर बच्चा समेत भइसकेका उनले बुद्ध एयरकै एक जना विमान परिचारिका (एयर होस्टेस)लाई ‘कान्छी बुहारी स्वीकार गर्नु पर्यो’ भन्दै पुगे । दोस्रो विहे गर्ने छोराको प्रस्ताव सुरेन्द्रले अस्वीकार गरेपछि उनले बाबुआमामात्रै होइन, व्यवसायबाटै अलग हुने निर्णय लिए ।

त्यसपछि उनीसँग भएको बुद्ध एयरको १४ प्रतिशत स्वामित्व सुरेन्द्रले नै ७० लाख रुपैयाँमा खरीद गरे । यो २०५६ सालको घटना हो । बुद्ध एयरको सेयर बेचेर आएको यो पैसा बोकेर उनी अर्को कम्पनी खोल्न गए । २०५६ असोज ७ मा माउण्टेन एयर दर्ता भयो । यो कम्पनीमा प्रज्ञानशम्शेर राणालाई अध्यक्ष राखेर शिवेन्द्र महाप्रबन्धक बने ।

प्रज्ञानशम्शेरको ठूलो लगानी सहितको साझेदारी थियो । माउन्टेन एयरले अमेरिकाको रेथियन कम्पनीसँग दुईटा जहाज लिजमा लिएर उडान सुरु गर्यो ।

उक्त नयाँ कम्पनीमा बुद्ध एयरका ६० प्रतिशत हाराहारी कर्मचारी माउन्टेनमा लगेको बुद्धका अधिकारीहरु बताउँछन् । अझ इञ्जिनियरहरु त सबैजसो माउन्टेनले लगेको थियो । बुद्ध एयरलाई नै धरासायी बनाउने योजनामा उनले यस्तो कदम चालेको बुद्धका अधिकारीहरुको भनाइ छ ।

पिता र दाजुसँगको वैमनष्य साँध्न महँगो तलव सुविधा दिएर कर्मचारी लगे पनि उनले यो एयरलाइन्स चलाउन सकेनन् । दुई वर्ष बित्दानबित्दै यो कम्पनी डुब्ने अवस्थामा पुग्यो ।

यस पल्ट उनले आफ्ना साझेदारलाई फसाए । प्रज्ञानशम्शेर राणा र सिद्धिदा राणा सेन २०६२ जेठ २६ देखि नै कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् । उनी उम्किए ।

माउण्टेन एयरले लिजमा लिएका विमानहरु पछि बुद्ध एयरले नै सकार्यो । रेथियनले या त नेपालबाट विमान फिर्ता लानुपर्ने थियो, नभए यहीँ बेच्नुपर्ने भयो । त्यसपछि उसले सस्तै मूल्यमा बुद्ध एयरलाई ती जहाज बेच्यो ।

यसरी दुई एयरलाइन्समा टिक्न नसकेपछि उनले नयाँ ‘आइडिया’ ल्याएका थिए– पाइलट पढाउने स्कुल खोल्ने । नेपालमै पाइलट पढाउने भनेर उनले आफ्नी जेठी छोरीको नाममा शिवानी एयर फ्लाईङ स्कूल खोलेका हुन् । त्यही मेसोमा उनले कर्मचारी र विद्यार्थीमात्रै होइन, आफ्नै जननीलाई समेत फसाइदिए ।

सम्पत्ति भागबण्डा

सुरेन्द्र जीवितै हुँदा उनले आफ्नो अरु सम्पत्तिका साथै बुद्ध एयरको स्वामित्व पनि ‘भागबण्डा’ गरिदिएका थिए । २०७५ सालमा उनले भागबण्डा गरिदिनुअघि वीरेन्द्रको हिस्सामा १४ प्रतिशत सुरुआति सेयर बाहेक सबै स्वामित्व सुरेन्द्रकै नाममा थियो ।

त्यस बेला उनले ६ प्रतिशत सेयर वीरेन्द्रलाई थपिदिए । कम्पनी स्थापना र सञ्चालनमा सबै काम गरेको भनेर उनले उक्त सेयर दिए । बाँकी ८० प्रतिशत स्वामित्व दुई भाईका परिवारलाई बराबर अनुपातमा बाँढिदिए ।

यसरी उनले त्यस बेला दुई समूहमा विभाजन गरी वीरेन्द्रको परिवारलाई ‘क’ समूह र शिवेन्द्रको परिवारलाई ‘ख’ समूह भन्ने बनाए । बकसपत्र गरेर बाँडिएको यो स्वामित्वमा शिवेन्द्रलाई भने १ कित्ता पनि सेयर दिएनन् । शिवेन्द्रले आफ्नी आमालाई हिरासतमा हाल्नेसम्मको गलत काम गरेका कारण तिनीप्रति सिंगो परिवारको विस्वास उठिसकेको थियो ।

यसरी वीरेन्द्रको नाममा २० प्रतिशत र उनको परिवारको ४० प्रतिशत जोड्दा ‘क’ समूहमा ६० प्रतिशत स्वामित्व पुग्यो । शिवेन्द्रको परिवार अर्थात् ‘ख’ समूहमा ४० प्रतिशत स्वामित्व कायम भयो । त्यसमा पनि शिवेन्द्रकी श्रीमती अर्चना बस्नेतको नाममा २५ प्रतिशत स्वामित्व छ भने छोरीहरु शिवानी र देव्यानी तथा छोरा आदर्शबहादुरको नाममा ५–५ प्रतिशत स्वामित्व छ ।

कम्पनीमा तीन सदस्यीय सञ्चालक समिति रहने र त्यसमा ‘क’ वर्गबाट दुई जना, ‘ख’ वर्गबाट १ जना सञ्चालक रहने व्यवस्था सुरेन्द्रले नै गरिदिएका थिए ।

दोस्रो विहेको लफडा

शिवेन्द्रले बुद्ध एयरमा जागिर खान आएकी एक नवयुवतीलाई प्रेमजालमा फसाएका थिए । रायमाझी थरकी ती युवती गर्भवती भएपछि उनले परिवारमा ‘बुहारी स्वीकार गर्न’ आग्रह गरेको बताइन्छ । अहिले उनीसँग २० वर्षकी छोरी छन् ।

तर ती छोरीले नागरिकता पाउन सकेकी छैनन् । शिवेन्द्रले बुबासँग त कुरा गरे, तर त्यसपछि छुट्टीभिन्न भएर पनि दोस्रो विहेको मान्यता दिएनन् । रायमाझीलाई अहिलेसम्म श्रीमती स्वीकार गरेका छैनन् । ती अलवा नारी अहिले पनि मुद्दामामिलामा जेलिँदै छिन् ।

उनले सम्पत्ती र छोरीको नागरिकता माग गरेर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छिन्, फैसला लम्बिएको लम्बियै छ ।

पारिवारिक स्रोतका अनुसार रायमाझीले सम्पत्ती मुद्दा हालेपछि शिवेन्द्रले आफ्नी (जेठी) श्रीमती अर्चनासँग कानूनी तौरमा सम्बन्ध विच्छेद (पारपाचुके) गरिसकेका छन् । उनीहरुले करीब दुई वर्ष अघि सम्बन्ध विच्छेद गरेको र त्यो पनि पुरानो मति (ब्याक डेट) राखेको हुनसक्ने पारिवारिक स्रोतको अनुमान छ ।

तर उनीहरु अहिले पनि ललितपुरको जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान अगाडीको घरमा सँगै बस्छन्, एकै भान्सामा खान्छन् । अमेरिका ओहोरदोहोर गरिरहने उनी विगत ३ महिनादेखि नेपालमै रहेको बताइएको छ ।

यसरी सम्बन्ध विच्छेद गर्नुको कारण पनि बुद्ध एयरको स्वामित्व नै हो । रायमाझीले जवलाखेलको घरसहित त्यहाँ रहेको करीब ७ रोपनी जग्गा र मोरङको डाँगीहाटमा रहेको करीब ६५ विगाह जग्गा अदालतमार्फत् रोक्का राखिदिएकी छिन् ।

उनीहरुको पैतृक सम्पत्तीको रुपमा आएको बुद्ध एयरको स्वामित्वमा पनि रायमाझीको हक स्थापित हुने देखिएपछि कानूनी तौरमा पारपाचुके गरेर बसेको पारिवारिक स्रोतको दाबी छ ।

मर्कामा मोही

मोरङमा भएको उनीहरुको पुस्तौनी जग्गामा मोही लागेको थियो । अंशबण्डा गर्दा शिवेन्द्रको भागमा परेको करीब ४ विगाह जग्गामा मोही लागेको छ । तर अहिले उनले त्यहाँ कृषि फार्म चलाएका छन् । फार्म चलाउनु पर्ने भन्दै मोहीलाई कानून अनुसार आधा जमीन वा त्यसको यथोचित मूल्य नदिई निकालेको भनेर पनि गुनासा आएका छन् ।

स्थानीय स्रोतका अनुसार उनले केही मोहीलाई फकाइ फुलाई वा नसा सेवन गराएर २–४ लाख रुपैयाँ दिँदै हटाएका छन् । केही मोही भने कानून अनुसारको हक चाहिने भन्दै बसेका छन् । उनीहरुलाई डर-धम्की देखाउन थालेको स्रोतको दाबी छ ।

नक्कली शरणार्थी !

नेपालमा आमा आशारानीले प्रहरी हिरासतको दुर्गती भोग्दै गर्दा शिवेन्द्र भने अमेरिका पुगिसकेका थिए । उनले अमेरिकामा शरण मागे । नेपालमा आफ्नै परिवार, साझेदारदेखि कर्मचारी र विद्यार्थीसम्मलाई ठगेर अमेरिका पुगेका उनले फर्जी कागजात जुटाएर शरण लिएको उनका निकटवर्तीहरु बताउँछन् ।

उनी अहिले अमेरिकी राहदानी बाहक हुन् । उनीसँग ५४५३०१४४१ नम्बरको अमेरिकी राहदानी छ । तर नेपाल प्रहरीको अभिलेखमा उनी अहिले पनि ‘फरार अभियुक्त’ रहेको बताइएको छ ।

पछिल्लो समय नेपालबाट ‘नक्कली शरणार्थी’को रुपमा अमेरिकामा ‘मानव तस्करी’ भइरहेको भनेर दुबै देशमा अनुुसन्धान भएका छन् । अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले पनि यस विषयमा अध्ययन गरिरहेको बताइन्छ ।

अमेरिकामा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अबैध आप्रवासीलाई देश निकाला गर्ने अभियान छेडेका छन् । तर पहिले नै नक्कली कागज देखाएर शरण लिएको भनिएका शिवेन्द्रजस्ता व्यक्तिको हकमा अमेरिकी प्रशासन र एफबीआईले के गर्ला, त्यो हेर्न बाँकी छ ।

अमेरिका पुगेपछि उनले मःम पस सुरु गरेका छन् । उनले एभरेस्ट मःमः र यति मःमः भनेर आउटलेट खोलेको देखिएको बुद्ध एयरका एक अधिकृतले बताए । शरणार्थी बनेर छिरेका उनले त्यहाँ व्यवसाय गर्नका लागि नेपालबाट पैसा लगे की लगेनन् भन्ने पनि प्रश्नको घेरामा छ, किन की अहिले पनि यस किसिमको व्यवसायका निम्ति नेपालबाट विदेशमा पूँजी लैजान बर्जित छ ।

बुद्ध सिध्याउने मक्सद

जानकारहरुका अनुसार शिवेन्द्रको एममात्र उद्देश्य बुद्ध एयरलाई लिक्वीडेशनमा लाने देखिन्छ । बुद्ध एयरमा अहिले १५०० भन्दा धेरै कर्मचारी छन् । उनीहरुको विचल्ली पार्ने उनको ध्येय रहेको केही पुराना कर्मचारीहरु बताउँछन् ।

अहिले आएर शिवेन्द्रले पुनः बुद्ध एयरमा कर्मचारी भर्तिमा समेत आफ्नो हिस्सा खोज्न थालेको स्रोत बताउँछ । समाचार सूत्रहरुका अनुसार उनी बजारमा आफू बुद्ध एयरको ‘४० प्रतिशत स्वामित्वको मालिक हूँ’ भन्छन् । कतिसम्म भने, उनले विगतमा ऋण लिएका कयौँ मानिसलाई ‘बुद्ध एयरबाट पैसा आएपछि दिन्छु’ भन्दै हिँडिरहेका छन् ।

शिवेन्द्र अब बुद्ध एयरलाई नै ‘भागबण्डा’ गर्नुपर्ने माग राख्न थालेका छन् । यो कम्पनीलाई लिक्वीडेशनमा लगेर ऊसँग भएका जहाजहरु सेयर स्वामित्वको आधारमा भाग लगाउनु पर्ने र एयरलाइन्सलाई नै ‘विभाजन’ गर्नुपर्ने उनको माग रहेको बुद्ध एयरका एक अधिकारीले बताए ।

बुद्धसँग अहिले १८ वटा जहाज छन् । केही समय अघिमात्रै नेपालको इतिहासमा पहिलो पल्ट जहाज ‘फेजआउट’ गरेको बुद्धले थप ४ वटा जहाजहरु ‘फेजआउट’कै पाइपलाइनमा रहेको बताएको छ । तर अहिले नै भाग लगाउन पाए १८ मध्ये ४० प्रतिशत हिस्सेदारीका लागि ८ वटा जहाज आफूले पाउनु पर्ने माग उनले अघि सारेका छन् ।

अहिले पनि ५ अर्ब ऋणको भारी बोकिरहेको यो कम्पनीमा शिवेन्द्र १ रुपैयाँ पनि ऋण दायित्व तिर्न तयार छैनन् । हुन त, उनको नाममा बैंकहरु पनि १ रुपैयाँ लगानी गर्नेवाला छैनन् । तर उनलाई जहाज चाहीँ चाहिहालेको छ । लाग्छ, उनी जिन्दगीमा फेरि एक पल्ट माउन्टेन एयरको तीतो अनुभवलाई दोहोर्याएर चाख्न लालायित छन् ।


प्रतिक्रिया दिनुहोस्