के भारत नयाँ ‘माल्दीभ्स’ बनाउँदै छ ? « Arthapath.com
२६ पुष २०८०, बिहीबार

के भारत नयाँ ‘माल्दीभ्स’ बनाउँदै छ ?



काठमाडौं । माल्दिभ्सको सरकारले गत आइतबारमात्रै आफ्ना तीन जना मन्त्रीलाई निलम्बन गरेको छ । माल्शा शरिफ, मारियम शिउना र अब्दुल्ला महजूम मजिद निलम्बनमा परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपमान गर्दै सामाजिक सञ्जालमा पोष्ट र कमेण्ट गरेको भनेर उनीहरु निलम्बनमा परेका हुन् ।

‘इण्डिया आउट’ (भारत, बाहिर जाऊ) को नारा लगाएर भारतलाई आफ्नो देशबाट हटाउने चुनावी एजेण्डाका साथ गत नोभेम्बरमा राष्ट्रपति निर्वाचित भएका मोहमद मुइजुको कार्यकालमा यो घटना भएको हो । राष्ट्र प्रमुख बनेपछि पहिलो पटक भारतको भ्रमण गर्ने माल्दिभ्सको परम्परालाई तोडेर मुइजुले यस पटक प्रथम भ्रमणको गन्तव्य चीन बनाएका थिए ।

सत्तामा आएदेखि नै उनले भारतको कडा विरोध गरिरहेका छन् । जबकी, माल्दिभ्सको सुरक्षाको व्यवस्था भारतले लिइरहेको छ । यस्तो अवस्थामा भारतलाई आफ्नो देशबाट सेना फिर्ता लान दबाब दिइरहेका मुइजुको सरकारले तीन जना मन्त्रीलाई निलम्बन गर्नु पर्यो ।

लक्ष्यद्वीपको यात्रा

मोदी १९ पुसमा हिन्द महासागरको अर्को टापु ‘लक्ष्यद्वीप’को भ्रमणमा गएका थिए । त्यहाँका तस्वीर र भिडियोहरु उनले सामाजिक सञ्जालबाट साझा गरे । त्यसपछि सामाजिक सञ्जालमा मानिसहरु छुट्टी मनाउन ‘माल्दिभ्स होइन, लक्ष्यद्वीप जाऊँ’ भन्ने बहस चल्यो । प्रधामन्त्री मोदीले पनि मानिसहरुलाई लक्ष्यद्वीप घुम्न जान आह्वान गरेका थिए ।

त्यसपछि भारत र माल्दिभ्समा पनि लक्ष्यद्वीपको बारेमा इन्टरनेटमा असाध्यै धेर खोजि गरिएको छ । एक भारतीय ट्राभल कम्पनीले जनाए अनुसार मोदी त्यहाँ पुगेपछिका तीन दिनमै इन्टरनेटमा लक्ष्यद्वीप बारे खोजि गर्नेको संख्या ३४०० प्रतिशत बढेको थियो ।

माल्दिभ्समा भइरहेको ‘भारत विरोधी’ गतिविधीपश्चात् मोदीले आफ्नै देशको टापु समूहलाई प्रबद्र्धन गर्न खोजेको देखिन्छ । मोदीको यो शान्त यात्रापश्चात् भारतका चर्चित फिल्मस्टार र खेलाडीहरुले सामाजिक सञ्जालमा लक्ष्यद्वीपको चर्चा गर्न थाले । भारतमा भइरहेको यो नयाँ बहसको छाल माल्दिभ्ससम्म पुग्यो ।

त्यहाँका मन्त्रीहरुले नै सामाजिक सञ्जालमा भारत र मोदीको अपमान गर्ने गरी पोस्ट गर्न थाले । त्यसक्रममा मोदीलाई ‘जोकर’ र ‘इजरायलको कठपुतली’ जस्ता अपमानजनक शब्दहरु प्रयोग गरिए ।

यस विषयलाई लिएर माल्दीभ्सका एक उपमन्त्री मरियमले ‘भारतीय सेना नचाहिने’ भन्दै अपमानजनक टिप्पणीहरु सामाजिक सञ्जालमा पोस्ट गरिन् । मन्त्रीहरुले नै भारतमा ‘गोबर गन्हाउने ठाउँ’ भनेर लेखे । सधैं गोबर गन्हाउने भारतले कहिल्यै माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न नसक्ने टिप्पणीहरु भए ।

त्यसपछि भारतमा यसको कडा प्रतिक्रियाहरु देखिन थाले । व्यवसायी, सञ्चारकर्मी, फिल्मस्टारदेखि खेलाडीसम्म सबैले ‘माल्दिभ्स होइन, लक्ष्यद्वीप’ भनेर सामाजिक सञ्जालमा लेख्न थाले । ‘एक्प्लोर इण्डियन आइल्याण्ड’ ह्यासट्याग सामाजिक सञ्जालको ट्रेण्डिङमा आउन थाल्यो । ‘अतिथि देवो भवः’ शब्दको पनि खुब प्रयोग भयो ।

कयौं भारतीयले माल्दिभ्समा एयरलाइन्स र होटेलको बुकिङ ‘क्यान्सिल’ गर्न थाले । कतिपय ट्राभल एजेन्सीहरुले ‘नशन फस्ट, विजनेश लेटर’ अर्थात् ‘पहिले देश, त्यसपछि विजनेश’ भन्दै भारतीयहरुलाई माल्दिभ्स भ्रमण गर्ने सेवा स्थगित गरेको घोषणा गर्न थाले ।

यसले दक्षिण एसियाको सबैभन्दा धनि (प्रतिव्यक्ति आयका अनुसार) मुलुकको अर्थतन्त्रको जग हल्लिने अवस्था सिर्जना हुन लाग्यो । यसपछि माल्दिभ्स सरकारलाई आफ्नै देशमा पनि आलोचना खेप्नुपर्ने अवस्था आयो । अन्ततः उसले गत आइतबार एक बक्तव्य जारी गरेर ती मन्त्रीहरुको भनाइलाई सरकारको दृष्टिकोण नभएको स्पष्ट पार्नु पर्यो ।

निलम्बित तीन जना मन्त्रीहरु ।

बक्तव्यमा भनिएको छ, ‘विदेशी नेता एवम् शीर्ष व्यक्तित्वको विरुद्ध सामाजिक सञ्जालमा अपमानजनक टिप्प्णीका बारेमा माल्दिभ्स सरकार अवगत छ । यो विचार निजी हो । यसले माल्दिभ्स सरकारको दृष्टिकोणलाई प्रतिनिधित्व गर्दैन ।’ बक्तव्यमा यस्ता अपमानजनक व्यवहार गर्ने र माल्दिभ्सको अन्तरराष्ट्रिय सम्बन्धमा दखल पुर्याउने व्यक्तिहरुलाई कारबाही गर्न आफ्नो सरकार पछि नपर्ने उल्लेख छ । त्यसै दिन तीन जना मन्त्रीहरु निलम्बनमा परेका हुन् ।

माल्दिभ्सको जग

सन् १९६५ मा ब्रिटिश हुकुमतबाट स्वतन्त्र भएपश्चात् माल्दिभ्सलाई एक स्वतन्त्र राष्ट्रको मान्यता प्रदान गर्ने सर्वप्रथम मुलुकमध्ये भारत एक थियो ।

भारतदेखि दक्षिण पश्चिममा करीब ८०० किलोमिटर टाढा छ माल्दिभ्स । यो १२०० द्वीपहरुको समूह हो । अधिकांश द्वीपमा मानवीय आवादी छैन । २९८ वर्ग किलोमिटरको यो देशमा ५ लाख १५ हजार मान्छे बस्छन् । यसमध्ये ९८ प्रतिशत जनसंख्या मुसलमान छन् । प्रतिव्यक्ति आयमा दक्षिण एसियाकै उँचो स्थानमा रहेको माल्दिभ्सको अर्थव्यवस्था पर्यटनमा अधिक टिकेको छ । त्यहाँको कुल राष्ट्रिय आयको एक चौथाइभन्दा बढी हिस्सा पर्यटनबाट नै आउँछ ।

माल्दिभ्सको पर्यटन मन्त्रालयका अनुसार त्यहाँ १७५ रिसोर्ट, १४ होटेल, ८६५ गेस्ट हाउस, १५६ जहाज, २८० डाइब सेन्टर, ७६३ ट्राभल एजेन्सी र ५ टुर गाइड्स छन् । सन आइल्याण्ड, ग्लोइङ बीच, फिहालहोही आइल्याण्ड, राजधानी माले शहर, माफुशि, आर्टिफिशियल बीच, मामीगिलीजस्ता कयौं पर्यटकीय गन्तव्य माल्दिभ्समा छन् । त्यहाँ पुग्ने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतकै छ ।

भारतबाट हरेक वर्ष २ देखि ३ लाख मान्छे छुट्टी मनाउन माल्दिभ्स जाने गर्छन् स सन् २०२२ को आँकडा अनुसार माल्दिभ्स जाने विदेशी पर्यटकमा भारत, रुस, चीन, बेलायत, जर्मनी, इटली र अमेरिका शीर्ष स्थानमा थिए । त्यस्तै माल्दिभ्सबाट ठूलो संख्यामा मानिसहरु उपचारका लागि भारत आउने गर्छन् ।

सन् २०१८ देखि २०२२ सम्म चार वर्षमा माल्दिभ्सबाट १ लाख मान्छे भारत आएकोमा त्यसमध्ये ८६ प्रतिशत मानिसहरु केवल उपचारका लागि भारत पुगेका थिए । माल्दिभ्समा कार्यरतमध्ये ३० प्रतिशत चिकित्सकहरु आज पनि भारतीय छन् । माल्दिभ्सका विद्यालय र कलेजमा पढाउने २५ प्रतिशत शिक्षक पनि भारतबाटै गएका छन् ।

त्यही देशले अहिले भारतलाई बाहिर निस्कन आह्वान गरिरहेको छ । मुइजु सरकार आएसँगै भारतसँग उसको सम्बन्धमा फाटो देखिन थालेको थियो । सायद त्यही कारण हुनसक्छ, जनवरीको सुरुआतमै भारतीय प्रधामन्त्री मोदीले आफ्ना नागरिकलाई उक्त सामुद्री टापुहरुको विकल्प छान्न प्रेरित गरेका छन् । किन की, माल्दिभ्स घुम्ने सबैभन्दा राम्रो मौसम नै जनवरीदेखि अप्रिल महिनासम्मलाई मानिन्छ ।

नयाँ माल्दिभ्स !

संस्कृत र मल्यालम भाषामा लक्ष्यद्वीपको मतलव ‘एक लाख टापु’ हो । तर भारतको केन्द्रशाशित यस इलाकामा केवल ३६ वटा टापुहरु छन् । त्यहाँ को क्षेत्रफल करीब ३२ वर्ग किलोमिटर छ । अर्थात्, माल्दिभ्स योभन्दा झण्डै १० गुणा ठूलो छ । माल्दिभ्सजस्तै लक्ष्यद्वीप पनि एक मुस्लिम बहुल इलाका हो । सन् २०११ को जनगणना अनुसार त्यहाँ करीब ६५ हजार मानिस बस्छन्, त्यसमध्ये करीब ९६ प्रतिशत मुसनमान हुन् ।

लक्ष्यद्वीपमा १० वटा टापुहरुमा आवादी छ । कवाराट्टी, अगाट्टी, अमिनी, कदमत, किलातन, चेतलाट, बिद्रा, आनदोह, कल्पनी र मिनिकोय टापुहरुमा थोरबहुत मानिस बस्छन् । यहाँका मानिसहरुको मुख्य कमाइको स्रोत माछा मार्ने र नरिवल खेति गर्ने हो ।

पछिल्ला वर्षमा पर्यटन उद्योग पनि तीव्र दरले बढ्न थालेको छ । गत साल यो क्षेत्रमा २५ हजार हाराहारी पर्यटक पुगेका थिए । कोचीबाट १४ देखि १८ घण्टामा जहाजमा लक्ष्यद्वीप पुगिन्छ । लक्ष्यद्वीवमा घुम्नका लागि कवाराट्टी आइल्याण्ड, लाइट हाउस, मस्जिद, अगाट्टी, कदमत, बंगारम, थिन्नाकाराजस्ता स्थानहरु उपलब्ध छन् ।

माल्दिभ्सकै जस्तो लक्ष्यद्वीपमा पनि सेतो बालुवाले भरिएको समुद्री किनारा छ । यहाँ जानका लागि सबैभन्दा राम्रो मौसम भनेर अंग्रेजी महिना मेदेखि सेप्टेम्बरसम्मलाई मानिन्छ । २२ देखि ३६ डिग्रि सेल्सियस तापमान रहने यो इलाकामा डिसेम्बरदेखि फेब्रुअरीसम्म पर्यटकको बडी भिडभाड हुने गरेको छ । तर यहाँ कतिपय टापुमा छिर्न प्रतिबन्धित छ र कतिपयमा सरकारको पूर्वअनुमति लिनुपर्ने हुन्छ ।

माल्दिभ्सबाट करीब ७०० किलोमिटर उत्तर र केरलाको कोचीबाट ४४० किलोमिटर पश्चिममा पर्ने यो टापु के नयाँ माल्दिभ्स बन्न सक्छ ? मोदीको चाहना यस्तै देखिन्छ । संयुक्त अरब इमिरेट्सले दुबइ शहरलाई सिंगापुरको नयाँ विकल्प बनाएजस्तै मोदी पनि लक्ष्यद्वीपलाई ‘नयाँ माल्दिभ्स’ बनाउन चाहन्छन् ।

आफ्नो सरकारको तेस्रो कार्यकालमा संसारको तेस्रो धनि मुलुक बनाउने सार्वजनिक प्रतिबद्धता गरेर आसन्न चुनावी मैदानमा होमिएका मोदीका लागि माल्दिभ्सको नयाँ सरकारका गतिविधिहरु एक ‘मौका’ बन्न पनि सक्छ । तर यसका लागि लक्ष्यद्वीपमा ठूलो लगानी र प्रशासनिक सुधार गर्नुपर्ने आवस्यकता छ ।

आजैको दिनमा भारतबाट लक्ष्यद्वीपभन्दा माल्दिभ्स पुग्न सहज र छरितो छ । भारतीयहरुका लागि माल्दिभ्स जान ‘भिसा फ्रि’ छ । तर लक्ष्यद्वीप जान प्रशासनको अनुमति लिनुपर्छ । माल्दीभ्स जान पर्याप्त हवाई सुविधा उपलब्ध छ, तर लक्ष्यद्वीप जान फ्लाइटको संख्या हाललाई कमैमात्र उपलब्ध छ ।

होटेल, रिसोर्ट र पर्यटन सम्बद्ध अन्य पूर्वाधारहरु खडा गर्न पनि आवस्यक छ । तर आज भारतमा मोदीले जुन स्तरको आम जनसमर्थन प्राप्त गरेका छन्, यसले उनलाई लक्ष्यद्वीपको ‘कायापलट’ गराउन ज्यादै लामो समय र ठूलो माथापच्चिसी गर्नु नपर्ने अवस्था देखाउँछ । बरु एक राजनीतिक एजेण्डाको रुपमा भारतको विरोध गर्नु माल्दिभ्सका लागि महँगो पर्ने संभावना बढेको छ ।

एजेन्सीहरुको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्