मध्यपूर्व संकटले विश्व अर्थतन्त्र कोभिडयताकै सुस्त, विकासोन्मुख देशलाई ६० अर्ब डलरको प्याकेज
काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण विश्वव्यापी आर्थिक वृद्धिदर कोरोना महामारी (कोभिड–१९) यताकै सबैभन्दा सुस्त विन्दुमा झर्ने चेतावनी विश्व बैंकले दिएको छ।
बैंकले बिहीबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदन अनुसार ऊर्जाको मूल्यमा भएको वृद्धि, आकासिँदो महँगी र बढ्दो ब्याजदरका कारण सन् २०२६ मा विश्वको आर्थिक वृद्धिदर खुम्चिएर मात्र २.५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। यसअघि गत जनवरीमा विश्व बैंकले यो वृद्धिदर २.९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।
अमेरिका र इरानबीचको कमजोर युद्धविराम पटक-पटक संकटमा पर्दा मध्यपूर्वको तनाव पुनः भड्किने खतरा बढेको प्रतिवेदनमा उल्लेख छ। अमेरिका र इजरायलको सैन्य कदमको जवाफमा इरानले तेल र ग्यास आपूर्तिको रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरिदिएपछि विश्वको ऊर्जा र समग्र आपूर्ति शृङ्खला गम्भीर दबाबमा परेको छ। यदि यो अवरोध अझै लम्बिएमा विश्व अर्थव्यवस्था थप संकटमा धकेलिने चेतावनी दिइएको छ।
विश्व बैंकका अनुसार यो वर्ष अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड (कच्चा तेल) को मूल्य औसत ९४ डलर प्रतिब्यारेल पुग्ने अनुमान छ, जुन गत वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो। इन्धनसँगै यो वर्ष रासायनिक मलको मूल्यमा पनि भारी वृद्धि हुने देखिएको छ, जसको सीधा असर खाद्यान्नको मूल्यमा पर्नेछ। यो रणनीतिक जलमार्ग बन्द हुँदा विश्वव्यापी मुद्रास्फीति (महँगी) गत वर्षको ३.३ प्रतिशतबाट बढेर यो वर्ष ४ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
यदि इन्धन आपूर्तिमा अवरोध अझै बढ्दै गएमा विश्वको आर्थिक वृद्धिदर खस्केर १.३ प्रतिशतको दयनीय अवस्थामा पुग्न सक्छ भने महँगी ४.४ प्रतिशतसम्म उक्लिन सक्ने प्रतिवेदनमा उल्लेख छ।
विकासोन्मुख देशहरू सबैभन्दा बढी जोखिममा
विश्व बैंकले जनवरी महिनायता संसारका दुई तिहाई देशहरूको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई घटाएको छ, जसमा विकासोन्मुख र गरिब राष्ट्रहरू अग्रपंक्तिमा छन्।
चीन र भारतलाई बाहेक गर्ने हो भने, बितेको एक दशकमा धनी देश र विकासोन्मुख देशहरूबीचको प्रतिव्यक्ति आम्दानीको खाडल पुरिन नसकेको प्रतिवेदनले औंल्याएको छ।
सन् २०२७ मा विश्व आर्थिक वृद्धिदर केही सुधारिएर २.८ प्रतिशत पुग्ने अनुमान गरिए पनि यो सन् २०१० को दशकको औसत वृद्धिदर भन्दा अझै कम नै हुनेछ।
विश्व बैंक समूहका अध्यक्ष अजय बंगाले विकासोन्मुख देशहरूले विगत एक दशकदेखि अनेकौं चुनौतीहरू सामना गरिरहेको बताएका छन्।
बंगाले भनेका छन्, “असर देश अनुसार फरक होला, तर मुख्य परीक्षा एउटै हो। भोलिको आर्थिक वृद्धि र रोजगारीलाई नगुमाई आजका जनतालाई जोगाउनु र स्थायित्व कायम राख्नु हो।”
मध्यपूर्वको यो द्वन्द्वबाट सिर्जित आर्थिक संकट झेल्न विकासोन्मुख देशहरूलाई सहयोग गर्न विश्व बैंकले ६० अर्ब अमेरिकी डलरको कोष सुरक्षित राखेको घोषणा गरेको छ।
यदि यो तनाव र संकट अझै लम्बिएमा उक्त सहयोग राशिलाई बढाएर १०० अर्ब डलरसम्म पुर्याउन सकिने बैंकले प्रतिबद्धता जनाएको छ।














