अन्तरिक्षमा डेटा सेन्टरदेखि मङ्गल ग्रहमा बस्तीसम्म, स्पेसएक्स आईपीओको महत्त्वाकांक्षा पुरा होला ?
स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो सेयर निष्कासनमार्फत ७५ अर्ब डलर संकलन गर्दै १.७५ ट्रिलियन डलरको मूल्याङ्कन पाउने तयारी गरेको छ, जसले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियन डलरको मालिक बनाउन सक्नेछ।
काठमाडौं । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ।
कम्पनीले अमेरिकी नियामक निकायमा बुझाएको विवरण पत्र (एस-वान फाइलिङ) अनुसार नयाँ लगानीकर्ताहरूबाट ७५ अर्ब अमेरिकी डलर (६४.५ अर्ब युरो) पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। यो सेयर निष्कासन सफल भएमा स्पेसएक्सको कुल बजार मूल्याङ्कन १.७५ ट्रिलियन डलर पुग्नेछ।
यो प्याकेज वित्तीय बजारको इतिहासमा अहिलेसम्मकै ठूलो सेयर निष्कासन हो। यसअघि सन् २०१९ मा साउदी अरामकोले २९.४ अर्ब डलर र सन् २०१४ मा चिनियाँ कम्पनी अलिबाबाले २२ अर्ब डलर उठाएका थिए। नयाँ मूल्याङ्कनसँगै स्पेसएक्स विश्वका शीर्ष १० ठूला कम्पनीहरू एनभिडिया, एप्पल, अल्फाबेट र माइक्रोसफ्टको सूचीमा समेटिनेछ।
गोल्डम्यान स्याक्सले यस निष्कासनको मुख्य प्रबन्धक (अण्डरराइटर) को रूपमा काम गरिरहेको छ भने आगामी महिनादेखि नास्डाक बजारमा यसको सेयर कारोबार सुरु हुने बताइएको छ।
इतिहासकै पहिलो ‘ट्रिलियनियर’ !
प्रस्तावित आईपीओले स्पेसएक्सका संस्थापक तथा विश्वकै धनी व्यक्ति इलोन मस्कलाई इतिहासकै पहिलो ट्रिलियन डलर (निलपति) को मालिक बनाउने प्रक्षेपण गरिएको छ। हाल स्पेसएक्समा मस्कको ४२ प्रतिशत सेयर स्वामित्व छ, जसको मूल्य मात्रै ७३५ अर्ब डलर पुग्नेछ। यसलाई उनको टेस्ला, एक्सएआई र अन्य व्यवसायमा रहेको सम्पत्तीसँग जोड्दा मस्कको कुल सम्पत्ति १ ट्रिलियन डलर पार हुने देखिएको हो।
विवरण पत्रअनुसार कम्पनीको विशेष द्वैध-वर्ग (डुअल-क्लास) सेयर संरचनाका कारण कम स्वामित्व भए पनि मस्कसँग ८० प्रतिशतभन्दा बढी मतदानको अधिकार सुरक्षित रहनेछ। यसले उनलाई कम्पनीको मुख्य कार्यकारी अधिकृत (सीईओ) पदबाट हटाउन नसकिने शक्ति प्रदान गर्छ ।
जसका कारण उनले अल्पकालीन लगानीकर्ताहरूको दबाबविना नै दीर्घकालीन र उच्च जोखिमका योजनाहरू अघि बढाउन सक्नेछन्। यस्तो संरचनाको विगतमा टेस्ला र एक्स (ट्विटर) मा आलोचना समेत भएको थियो।
मङ्गल ग्रह, चन्द्रमा र अन्तरिक्ष एआईमा लगानी
स्पेसएक्सले आईपीओमार्फत संकलन हुने रकम पृथ्वी बाहिर मानव जीवन विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा खर्च गर्ने जनाएको छ। कम्पनीले आफ्नो विशाल रकेट ‘स्टारसिप’ मार्फत सन् २०३० सम्ममा मङ्गल ग्रहमा पहिलो मानवविहीन उडान गर्ने लक्ष्य राखेको छ।
पृथ्वीबाट १४ करोड माइल टाढा रहेको मङ्गल ग्रहमा १० लाख मानिस अट्ने आत्मनिर्भर सहर बसाउने मस्कको दीर्घकालीन योजना छ।
यसका साथै कम्पनीले पृथ्वीबाट तीन दिनको दूरीमा रहेको चन्द्रमामा आवास, कारखाना र इन्धन डिपोहरू बनाउने योजना बनाएको छ।
त्यस्तै, शून्य गुरुत्वाकर्षण भएका क्षुद्रग्रहहरूबाट सन् २०४० को दशकसम्ममा प्लाटिनम, निकल, सुन र पानी उत्खनन गर्ने र भूउपग्रहको सञ्जालमार्फत अन्तरिक्षमै एआई सुपरकम्प्युटरहरू स्थापना गर्ने सोच पनि अघि सारेको छ। अन्तरिक्षको शीतलता र असीमित सूर्यको प्रकाशका कारण एआई डेटा सेन्टरहरू सञ्चालन गर्न पृथ्वीभन्दा अन्तरिक्ष सस्तो र प्रभावकारी हुने कम्पनीको दाबी छ।
अर्बौंको नोक्सानी र भावी जोखिमको चेतावनी
ऐतिहासिक मूल्याङ्कन र ठूला योजनाहरूका बीच स्पेसएक्सले आफ्ना लगानीकर्ताहरूका लागि गम्भीर वित्तीय तथा सञ्चालन जोखिमको चेतावनी पनि दिएको छ। स्टारसिप रकेट, भूउपग्रह विस्तार र एआई प्रविधिमा भारी लगानी गरिरहेका कारण कम्पनी अझै पनि ठूलो घाटामा छ।
सन् २०२५ मा मात्रै कम्पनीले ४.९४ अर्ब डलर खुद नोक्सानी बेहोरेको वित्तीय विवरणमा उल्लेख छ। बुधबार बुझाइएको आवेदनमा कम्पनीले आफूहरू विगतदेखि नै खुद नोक्सानीमा रहेको र भविष्यमा कहिले नाफा कमाउन सकिन्छ भन्ने निश्चित नभएको स्पष्ट पारेको छ।
यसका साथै अन्तरिक्ष अभियानका क्रममा सौर्य र ब्रह्माण्डीय विकिरण, सुक्ष्म अन्तरिक्ष फोहोरका टुक्राहरूको ठक्कर, तथा मानवीय चोटपटक वा मृत्यु जस्ता गम्भीर र विशिष्ट जोखिमहरू रहेको चेतावनी पनि स्पेसएक्सले दिएको छ।
यो सेयर निष्कासनले कम्पनीका प्रारम्भिक लगानीकर्ता र उच्च अधिकारीहरूलाई ठूलो आर्थिक लाभ दिनेछ। फाइनान्सियल टाइम्सका अनुसार स्पेसएक्सकी अध्यक्ष ग्विन सटवेल र मुख्य वित्तीय अधिकारी ब्रेट जनसेनको सेयर मूल्य १ अर्ब डलर नाघ्नेछ भने पुराना लगानीकर्ता एन्टोनियो ग्रेसियासको हिस्सा ७० अर्ब डलर पुग्नेछ।
विश्लेषकहरूले भने कम्पनीको यो महत्त्वाकांक्षी योजना र विशाल मूल्याङ्कन कत्तिको व्यावहारिक छ भन्ने कुरा सेयर बजारमा कारोबार सुरु भएपछि मात्र प्रष्ट हुने बताएका छन्।














