भेनेजुएलामा दुई शक्तिशाली भूकम्पः देशभर आपतकाल घोषणा, १ लाखभन्दा बढीको मृत्यु हुन सक्ने अनुमान « Arthapath.com
१२ असार २०८३, शुक्रबार

भेनेजुएलामा दुई शक्तिशाली भूकम्पः देशभर आपतकाल घोषणा, १ लाखभन्दा बढीको मृत्यु हुन सक्ने अनुमान



काठमाडौँ । दक्षिण अमेरिकी देश भेनेजुएलामा दुई शक्तिशाली भूकम्पका झट्काहरू महसुस भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको रेकर्ड गरिएको थियो भने त्यसको केही सेकेन्डभित्रै ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको हो।

भूकम्प स्थानीय समयअनुसार साँझ ६:०४ बजे गएको बताइएको छ। त्यसबेला भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै रहेको अनुमान गरिएको छ।

भूकम्पको केन्द्रविन्दु राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको मोरोन क्षेत्र नजिक रहेको जनाइएको छ। तीव्र कम्पनका कारण काराकासका धेरै बहुमञ्जिले भवनहरू भत्किएका छन् भने सडकहरूमा भगदड मच्चिएको छ। उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

काराकासका धेरै आवासीय तथा व्यावसायिक भवनहरूमा गम्भीर क्षति पुगेको छ। केही क्षेत्रमा मानिसहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक विश्लेषणअनुसार भूकम्पबाट १० हजारदेखि १ लाख जनासम्मको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत रहेको छ भने १ लाखभन्दा बढीको मृत्यु हुन सक्ने सम्भावना ३० प्रतिशत रहेको छ। यद्यपि यो प्रारम्भिक कम्प्युटर मोडेलमा आधारित अनुमान मात्र हो र वास्तविक मृतक तथा घाइतेको संख्या उद्धार तथा खोजी कार्यपछि मात्र यकिन हुनेछ।

कार्यवाहक राष्ट्रपति देल्सी रोड्रिगेजले देशभर आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेकी छन्। उनले भूकम्पमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गरे पनि मृतकको यकिन संख्या सार्वजनिक गरेकी छैनन्।

भूकम्पका कारण भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेको भन्दै उडान सेवा बन्द गरिएको छ। राजधानीको मेट्रो सेवा तथा केही सार्वजनिक यातायातका साधनहरू पनि अस्थायी रूपमा रोकिएका छन्।

भूकम्पको कम्पन भेनेजुएलाभर महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगोटासम्म पनि यसको प्रभाव पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भूकम्पपछि २० भन्दा बढी पराकम्प (आफ्टरशक) महसुस गरिएको छ। नागरिकहरूलाई खुला स्थानमा बस्न तथा क्षतिग्रस्त भवनहरूमा नफर्किन चेतावनी दिइएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकहरूलाई उच्च सतर्कतामा राखिएको छ।

प्रभावित क्षेत्रमा क्षतिको विस्तृत मूल्याङ्कन जारी रहेको छ भने उद्धार तथा राहत कार्य रातभर सञ्चालन भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्