व्यावसाय समाप्त गर्न नकारात्मक प्रचार गरेः ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

व्यावसाय समाप्त गर्न नकारात्मक प्रचार गरेः ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल



काठमाडौं । ग्रीनलाइनका सञ्चालक अमित अग्रवालले विभिन्न बैंक तथा अन्य गरी ८० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै अग्रवालले ८० करोड रुपैयाँ मात्रै तिर्न बाँकी रहेको बताएका हुन् । आफुले मिटरब्याजमा २४ प्रतिशत तिरेर ऋण लिएको र त्यही ऋणका कारण उठ्न नसकेको उनले बताए ।

पत्रकार सम्मेलनमा उनले आफू खतरामा रहेको बताएका छन् । आफुलाई ऋण लिनेहरुले समस्यामा पारेको हुँदा केही समय सबैको सम्पर्क विहीन बस्नु परेको बताए ।

अमित अग्रवाल एलायन्स डिष्ट्रिव्युटर्स प्रालि, ग्रिनलाईन सेन्टर प्रालि, अभि अभि स्टोर संचालन गरी विगत ३० बर्षदेखी विभिन्न व्यापार व्यावसायमा संलग्न रही आएका छन् । उनको व्यावसायिक कारोबार गर्ने शिलसिलामा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ऋण लिई कारोबार गरिआएको र बैंकको सावा ब्याज लगायतका किस्ताहरु नियमति रुपमा चुक्ता भुक्तानी गर्दै आईरहेको उनले बताए ।

व्यवसायिक कारोबारमा संलग्न विभिन्न व्यक्तिहरुले कानून विपरीत म लगायत मेरो परिवारका सदस्यहरुलाई मानसिक तनाव दिने, भौतिक आक्रमण गर्ने, अनाधिकृत तबरले मेरो सम्पत्तिहरु कब्जा गर्ने धम्की दिने साथै दुख हैरानी दिन विभिन्न अनावश्यक मुद्दामामिला गरेकाले म लयागत मेरो घरपरिवारका सदस्यहरुको जिऊ धनमा गम्भीर खतरा उत्पन्न हुने अवस्था भएकोले नेपालको संविधान एवं प्रचलित कानूनले प्रदान गरेको सम्मानपूर्वक बाच्न पाउने हक, स्वतन्त्रताको हक, व्यापार व्यावसाय गर्न पाउने हकको सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा निवेदन समेत दर्ता गरेको उनले जानकारी गराए ।

सार्वजनिक सञ्चार माध्यमहरुमा आएजस्तो आफू देश छाडेर अन्यत्र नगएको र उपचारको सिलशिलामा केही समय देशवाहिर रहेको उनले बताए । उनले भने, “मेरा प्रतिस्पर्धीहरुले मेरो व्यापार व्यावसायलाई समाप्त गर्नका लागि विभिन्न नकारात्मक प्रचारबाजी गरिआएका छन् । बैकहरुको ऋण किस्ता र अन्य साथीभाई एवं साहुहरुको सापटी रकम भुक्तानी गर्न प्रतिबद्ध रहेको छ । बैंक तथा साहुहरुलाई समेत संयमित भई कार्य गर्न दिनुहुन अनुरोध गर्दछु । केवल मलाई मेरो जिऊ ज्यानको सुरक्षा र सहज तरिकाले व्यवसाय गर्ने वातावरणको आवश्यक्ता परेको छ । मर्नु वा बाच्नु जो जे गर्नुपरेपनि म आफ्नै देश नेपालमा गर्न चाहान्छु ।”


प्रतिक्रिया दिनुहोस्