५६ महिनामा अर्घाखाँची सिमेन्टको व्यापार ३३ अर्ब, हाल विहारको २५ वटा सहरमा निर्यात « Arthapath.com
२० बैशाख २०८१, बिहीबार

५६ महिनामा अर्घाखाँची सिमेन्टको व्यापार ३३ अर्ब, हाल विहारको २५ वटा सहरमा निर्यात



काठमाडौं । अर्घाखाँची सिमेन्टले ५६ महिनामा झन्डै ३३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२० देखि चालु आर्थिक वर्षको ८ महिनासम्मा आइपुग्दा सो बराबरको व्यापार गरेको हो ।

समिक्षा अवधिमा कम्पनीले ३२ अर्ब ८१ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । पछिल्लो ४ वर्षको आँकडाअनुसार सबैभन्दा धेरै कारोबार सन् २०२१ मा ८ अर्ब ७० करोड बढीको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मामा पनि कुल ७ अर्ब ३७ करोड ९० लाख, सन् २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले गत वर्ष सन् २०२३ मा पनि ५ अर्ब ७७ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको थियो ।

आर्थिक शिथलताका कारण हाल उद्योग तथा निर्माण क्षेत्र सुस्त नै छ । त्यसकै प्रभावले वार्षिक व्यापारको आँकडा भने केही गिरावट आएको छ । आन्तरिक माग नहुँदा नै व्यापारमा कमी देखिएको कम्पनीले जनाएको छ । गत वर्ष व्यापारमा कमी देखिएता पनि आगामी दिनमा भने कारोबार बढ्न थालेको कम्पनीले जनाएको छ ।

कम्पनीले क्लिंकर र ग्रान्डिङ सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले ८ महिनामा झन्डै साढे तीन अर्बको व्यापार गरेको छ । सन् २०२४ को ८ महिनामै कम्पनीले ३ अर्ब ३६ करोड ७ लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको हो ।

कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट अर्घाखाँची ब्राण्डमा बिक्री वितरण गर्दै आएको छ । हाल कम्पनी वार्षिक १० लाख मेट्रिक टन क्लिंकर र ८ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न सक्ने क्षमतामा सञ्चालन भइरहेको छ । सन् १९९८ मा डाइनेष्टि इन्डष्ट्रिज नेपालको नाममा स्थापना भएको थियो । तर, सन् २०११ मा अर्घाखाँची सिमेन्ट प्रालिमा परिणत भएको हो ।

कम्पनीमा तीन ठुला व्यवसायिक घरानाका ८ जना सदस्यको स्वामित्व छ । जसमध्ये सबैभन्दा धेरे सिद्धार्थ ग्रुपको ३५ प्रतिशत छ । त्यसपछि मुरारका ग्रुपको ३० प्रतिशत स्वामित्व छ । कम्पनीमा केडिया ग्रुपको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेशनलको १७.५ प्रतिशत स्वामित्व छ।

हाल कम्पनीले भारतमा पनि सिमेन्ट निर्यात गर्दै आएको छ । विशेषगरि सरकारले सिमेन्ट निर्यातमा प्रोत्साहन गर्न ८ प्रतिशत नगद अनुदानको नीति ल्याएको छ । त्यसपछि नै अर्घाखाँची सिमेन्टले पनि भारततर्फ निर्यात गर्दै आएको छ । पछिल्लो कम्पनीले भारतीय बजारमा सिमेन्ट निर्यात बढाउन व्यापक रुपमा जोड दिएको छ । हाल विहारको २५ वटा शहरहरुमा निर्यात गर्दै आएको कम्पनीले जनाएको छ । अन्य शहरहरुमा पनि व्यापार विस्तारका लागि ब्राण्डिङग गर्ने, विज्ञापन गर्ने लगायतका काम भईरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्ब ६३ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ७८ करोड ३० लाख र अल्पकालीन कर्जाका लागि १ अर्ब ८४ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको हो ।


प्रतिक्रिया दिनुहोस्