लघुवित्त कम्पनीहरुले फसाए ३० अर्ब « Arthapath.com
३ फाल्गुन २०७९, बुधबार

लघुवित्त कम्पनीहरुले फसाए ३० अर्ब



रामहरि गजुरेल

काठमाण्डौं । लघुवित्तको ऋणले मानिसहरुको उठिवास बनाएको भन्दै यतिबेला विरोधको चर्को स्वर घन्किरहेको छ । लघुवित्तहरूले गाउँगाउँमा सोझा किसानहरुलाई ऋणमा फसाएको र मोटो ब्याज असुल गरेको नाममा लघुवित्त संस्थाविरुद्धको संघर्षका लागि भन्दै संगठित बन्ने अभियान नै चलिरहेको छ ।

एकातर्फ लघुवित्तको ऋणले थलिएको चिन्ता छ तर, अर्कोतिर वित्त कम्पनीहरूले ३० अर्ब रुपैयाँ माथिको कर्जा खराब कर्जामा फसाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय कम्पनीहरूबाट ऋण लिएर नतिर्ने ऋणीहरूको संख्यामा तीव्र वृद्धि आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको दर (एनपीएल) २.६० प्रतिशत पुगेको हो ।

यसअघि असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको दर २.२९ प्रतिशत मात्र रहेको थियो । उसो त अघिल्लो आर्थिक वर्ष यसै अवधिमा १.८३ प्रतिशत हाराहारी मात्र रहेको खराब कर्जाको दर ८–१० महिनामा नै झण्डै दोब्बरले बढ्नुले वित्तीय क्षेत्रमा चिन्ता थपेको छ ।

केन्द्रीय बैंकका अनुसार अझ बढी खराब कर्जाको दर ग र घ वर्गका वित्त कम्पनीहरुमा झागिँदो छ । आर्थिक वर्षको छ महिनाको रिपोर्ट हेर्दा फाइनान्स तथा लघुवित्त कम्पनीहरुबाट ऋण लिने ऋणीहरूले ऋण नतिरिदिँदा यी कम्पनीको एनपीएल दर ५.७९ प्रतिशतमाथि पुगेको छ ।

अघिल्लो वर्षसम्म यस्ता कम्पनीको एनपीएल दर ४ प्रतिशत हाराहारी मात्र रहेको थियो । पुस मसान्तसम्म करिब साढे ५ खर्ब रुपैयाँ बराबरको कर्जा लागि गरेका वित्त कम्पनीहरूले ३० अर्ब रुपैयाँ माथिको कर्जा खराब कर्जामा फसाएका छन् ।

आन्दोलन ऋण नतिर्ने बहानाबाजी
लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नामक संगठन नै बनाएर ऋणीहरूले आन्दोलन गरिरहेका छन् । लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति, नेपालका अध्यक्ष मनिराज ज्ञवालीले लघुवित्तविरुद्धको आन्दोलनलाई थप सशक्त बनाइ देशैंभरि पु¥याउने उद्घोष गरेका छन् ।

यता लघुवित्तहरूले नियम संगत रुपमा नियामक राष्ट्र बैंकले तोकेको नियम नीतिमा रहेर कर्जा लगानी गरेको र ऋणीहरुलाई कुनै अप्ठ्यारो नपार्दा पनि ऋण नतिर्ने बरु आन्दोलनबाट टार्ने नीउ गरेको बताइरहेको छ । अर्थपथसँग कुरा गर्दै नेपाल लघुवित्त वित्तीय संस्था संघका अध्यक्ष प्रकाशराज शर्माले आन्दोलनका नाममा केही गलत मनसाय बोकेकाहरुले ऋण नतिर्ने प्रपञ्च रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्