दश महिनामा ३ खर्बको कृषिजन्य वस्तु आयात, यी हुन् अत्याधिक आयात भएका वस्तु « Arthapath.com
२९ जेष्ठ २०८०, सोमबार

दश महिनामा ३ खर्बको कृषिजन्य वस्तु आयात, यी हुन् अत्याधिक आयात भएका वस्तु



काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात् गएको साउनदेखि वैशाख मसान्तसम्म १३ खर्ब ३५ अर्ब ३२ करोड २५ लाखको वस्तु आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षभन्दा झण्डै २ खर्ब ७० अर्ब (१६.८ प्रतिशत)ले आयात घटेको भए पनि यसले नेपालको लज्जास्पद वास्तविकतालाई भने छर्लङ्ग पारेको छ । कुल आयातमा २२ प्रतिशतभन्दा धेरै अर्थात् दुई खर्ब ९५ अर्ब ४४ करोड ४ लाखको कृषिजन्य वस्तुमात्रै आयात भएको देखिएकोछ ।

त्यसो त नेपालको सबैभन्दा ठूलो आयातको हिस्सा पेट्रोलियम पदार्थमा जान्छ । यो वर्ष महँगा गाडी र विलासी वस्तुमात्रै होइन, औद्योगिक कच्चापदार्थ र ठूला मेसिनरीहरुको आयात समेत घटेको छ । देशभित्रको आर्थिक गतिविधी अवरुद्ध भएसँगै मेसिनरी र औद्योगिक कच्चापदार्थको आयात खुम्चिएको छ ।

यसले पेट्रोलियम र कृषिजन्य पदार्थको आयात हिस्सा बढ्न गएको छ । तर औद्योगिक गतिविधी खुम्चिएको, निर्माण कार्यले गति लिन नसकेको, सार्वजनिक निर्माणमा पनि सरकारले पर्याप्त लगानी गर्न नसकेको बेलामा समेत पेट्रोलियम पदार्थको आयातका निम्ति नेपालले पोहोरभन्दा ४ अर्ब ५ करोड बढी खर्च गरेको देखिन्छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च बृद्धिले यस्तो भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार विगत १० महिनाको कुल आयातमा विभिन्न क्षेत्रका वस्तुको योगदान :

गत सालभन्दा झण्डै १८ अर्बको कमीका बाबजुत मेसिनरी र पार्टपुर्जाको हिस्सा कुल आयातमा दोस्रो स्थानमा छ । यस्ता वस्तुको आयात साढे ४ प्रतिशत छ । सवारी साधन, ढुवानीका साधन र सवारीसाधनका पार्टपुर्जाको आायत तेस्रो स्थानमा छ । गत सालभन्दा करीब ५८ अर्बले घटेको यस्ता वस्तुको आयातमा यो वर्ष नेपालले ५० अर्ब ४८ करोड हाराहारी खर्चेको छ । अर्थात् पोहोरको तुलनामा आधाभन्दा पनि कम सवारी साधन र पार्टपुर्जाको आयात भएको छ ।

कुल आयातमा चौंथो ठूलो हिस्सा भएको औषधिको आयात पनि ३८ प्रतिशत घटेको छ । ४० अर्बभन्दा धेरैको औषधि यो १० महिनामा भित्रिएको छ । गत साल भने यही बेलामा झडै ६५ अर्बको औषधि आयात भएको थियो । औषधिकै बराबर अर्थात् करीब ४० अर्ब नै नेपालले सुन किन्न खर्चेको छ । कुल आयातमा ३ प्रतिशत हिस्सा ओगटेको सुन किन्न नेपालले गतसालभन्दा थप ४ अर्ब खर्चेको छ ।

कच्चा फलाम (स्पञ्ज आइरन)को आयात पनि गतसालको तुलनामा झण्डै ७५ प्रतिशत बढेर ३४ अर्ब ८२ करोड पुगेको छ । कृषिजन्य मलखाद तथा विषादीको आयात गत सालको तुलनामा दोब्बरभन्दा पनि धेरै भएको छ । यी वस्तुको आयातमा नेपालले ३२ अर्ब हाराहारी खर्चेको छ, जुन गत साल केवल १४ अर्ब हाराहारीको मात्रै आएको थियो ।

गत सालभन्दा ३५ प्रतिशत घटे पनि भटमासको कच्चा तेलको आयात अझै ‘टप टेन’ सूचीमै छ । यो साल भटमासको तेल पनि ३२ अर्ब हाराहारीकै आयात भएको छ । यो वर्षको १० महिनामा नेपालले ३० अर्ब ८८ करोडभन्दा धेरैको धानचामल आयात गरेको छ । गत साल त यो रकम ४२ अर्बभन्दा बढी पुगेको थियो । एकातिर युक्रेन युद्धले बढाएको भाउमा केही कमी आएको र अर्कातर्फ आर्थिक सुस्तताले नेपालमा रक्सिको ब्यापार घटेपछि चामल आयात कम भएको देखिन्छ । रक्सि उद्योगहरुले चामलको बढी प्रयोग गर्ने भएका कारण यसको आयात रक्सी उत्पादनसँग गाँसिएको छ ।

यो साल २३ अर्बभन्दा धेरैको पामको कच्चा तेल, साढे १५ अर्बभन्दा धेरैको तयारी खाने तेल र झण्डै १५ अर्बको तरकारी आयात भएको छ । जस्ता र फलामे पाता, दूरसञ्चार उपकरण, कोइला, विद्युतीय साधन, कपडा, तयारी पोशाक, धागो र फलाम पनि शीर्ष २० वस्तुको सूचीमा छन् । यी २० वस्तुले मात्रै कुल आयातको ६१.५ प्रतिशत हिस्सा ओगट्छन् ।

वितेको १० महिनामा नेपालले विजुलीको आयात पनि ह्वात्तै बढाएको छ । गत साल यही अवधिमा १२ अर्ब ७६ करोड ५५ लाखको विद्युत् आयात भएकोमा यो वर्ष १६ अर्ब ४४ करोड १७ लाखको आयात भएको छ । साढे ३ अर्बभन्दा धेरैले विद्युत्को आयात बढेको छ । तर यसमा राम्रो पाटो चाहीँ गत साल जम्मा १ अर्ब १ करोड ५५ लाखको विद्युत् बेचेको नेपालले यो वर्ष ७ अर्ब ९१ करोड ८० लाखको विद्युत् बेचेको छ ।

विजुलीको ब्यापारमा गत साल ११ अर्ब ७५ करोड घाटा थियो भने यो साल ५ अर्ब ५२ करोड ३७ लाख घाटा भएको छ । तर नेपाल विद्युत् प्राधिकरणले यो वर्ष नै नेपाल खुद नाफामा जाने लक्ष्य राखेकोमा त्यो पुरा हुने छाँट देखिएको छैन । यो साल जेठ वित्नै लाग्दासम्म पनि मनसुन नभित्रिएकाले सुख्खा बढेको छ । यसले पनि प्राधिकरणको महत्वाकांक्षी लक्ष्यमा हिलो छ्यापेको छ ।


प्रतिक्रिया दिनुहोस्