चिलिमे हाइड्रोपावरको नाफामा किन देखियो दबाब ? यस्तो छ वित्तीय अवस्था
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको ६ महिनामा कम्पनीले ३९ करोड ३८ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १.८३ प्रतिशतले मात्र कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४० करोड १२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा झिनो सुधार देखिएको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा कम्पनीको यस्तो आम्दानी १.८६ प्रतिशतले वृद्धि भई ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ कायम भएको छ ।
गत वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको थियो । नेपाल विद्युत प्राधिकरणले आवश्यकता अनुसार अधिक विद्युत उर्जा खरिद गर्ने र यस अवधिमा गत आवको पौष मसान्तसम्मको तुलनामा उच्च अतिरिक्त विद्युत उर्जा खरिद भएकोले विद्युत बिक्री आम्दानि वृद्धि हुन गएको कम्पनीले जनाएको छ ।
सो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी वृद्धि भएपनि खर्च बढेकाले नाफामा घटेको हो । चालु आवको ६ महिनामा कम्पनीको संचालन नाफामा पनि ३.७९ प्रतिशतले घटेर ४० करोड ९९ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको वित्तीय आम्दानीमा भने बढोत्तरी देखिएको छ । सो अवधिमा कम्पनीको यस्तो आम्दानी ७.८६ प्रतिशतले बढेर ९ करोड ८४ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङ्ग ३ अर्ब ४० लाख ४३ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानीमा पनि १ रुपैयाँ ३ पैसाको कमी आई १० रुपैयाँ ८५ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ ३९ पैसा रहेको छ ।













