९ श्रावण २०८३, शनिबार

फ्रान्सबाट आयो बुद्ध एयरको नयाँ जहाज एटिआर–७२–६००, खराब मौसम र कम भिजिबिलिटीमा पनि निर्धक्क उड्ने



नेपाली आकाशमा सुरक्षित र आधुनिक सेवा विस्तार गर्दै आएको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरका विमानहरूको सूचीमा अर्को नयाँ सदस्य थपिएको छ।

फ्रान्सको टुलुसस्थित एटिआर कारखानाबाट लामो उडान भर्दै ९एन-एओएस कलसाइन रहेको अत्याधुनिक एटिआर–७२–६०० सिरिजको जहाज शनिबार नेपाल भित्रिएकाे हाे ।

आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा गरेलगत्तै कम्पनीले यो जहाजलाई आगामी महिनादेखि नियमित व्यावसायिक सेवामा पठाउने तयारी गरिरहेको छ।

प्रविधिको दृष्टिकोणले अत्यन्तै उन्नत मानिने यो सिरिजमा अत्याधुनिक डिजिटल ‘ग्लास ककपिट’, परिमार्जित नेभिगेसन प्रणाली तथा आधुनिक डिजिटल फ्लाइट म्यानेजमेन्ट जस्ता विशेषता समावेश छन्।

इन्धनको खपत उल्लेखनीय रूपमा घटाउने र पूर्ववर्ती मोडलहरूको तुलनामा आवाज पनि निकै कम निकाल्ने भएकाले यसलाई वातावरणमैत्री विमानका रूपमा हेरिएको छ।

नेपालको भौगोलिक जटिलता र बदलिँदो मौसमलाई ध्यानमा राख्दै यस जहाजमा ‘आरएनपी–एआर’ एप्रोच प्रविधि जडान गरिएको छ। यस प्रणालीको मद्दतले काठमाडौँ र भैरहवा विमानस्थलमा भिजिबिलिटी घटेर करिब ९०० मिटरसम्म झर्दा पनि जहाजलाई सहज र सुरक्षित तरिकाले अवतरण गराउन सकिनेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत यो प्रणाली कार्यान्वयनमा ल्याउन नागरिक उड्डयन प्राधिकरणले अध्ययन अघि बढाइरहेको छ।

नयाँ प्रविधिको प्रयोगसँगै प्रतिकुल मौसमका कारण हुने उडान ढिलाइ तथा रद्द हुने समस्यामा ठूलो कमी आउने बुद्ध एयरको विश्वास छ। यसले यात्रुहरूलाई समयमै गन्तव्यमा पुर्‍याउनुका साथै उडान सुरक्षा र सेवाको विश्वसनीयतालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्