आईपिओ अघि प्रभु हेलिकप्टरको लोभलाग्दो कमब्याक: ऋण घटाउँदै नाफा र नेटवर्थमा मार्यो ऐतिहासिक फड्को
काठमाडौं । प्राथमिक सेयर (आईपिओ) निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टर लिमिटेडले पछिल्लो चार वर्षमा आफ्नो वित्तीय अवस्थामा लोभलाग्दो सुधार गरेको छ।
सन् २०२१ मा ठूलो खुद नोक्सानी (घाटा) बेहोरेको कम्पनीले पछिल्ला वर्षहरूमा व्यापारमा ठूलो फड्को मार्दै बलियो पुनरागमन गरेको हो। व्यवसायमा आएको यो सकारात्मक परिवर्तनसँगै कम्पनीसँग उपलब्ध हुने नगद प्रवाह, यसको पूँजीको बनोट र ऋण तिर्न सक्ने क्षमतामा समेत निकै राम्रो सुधार देखिएको छ।
यस कम्पनीको मुख्य आम्दानी हेलिकप्टर चार्टर सेवाबाट हुने गर्दछ। जसमा मुख्य गरी पर्यटकीय स्थलहरूको हवाई अवलोकन (हेलि-साइटसिइङ), आकस्मिक स्वास्थ्य उद्धार, हिमालमा फसेकाहरूको उद्धार, आकाशबाट गरिने सर्वेक्षण र अन्य व्यावसायिक चार्टर उडानहरू पर्दछन्।
यता पछिल्ला वर्षहरूमा कम्पनीकाे व्यापारिक यात्रा भने निकै उतारचढावपूर्ण देखिएकाे छ। आर्थिक वर्ष २०२१ मा १२ करोड ५० लाख रुपैयाँ मात्र रहेको कम्पनीको व्यापार निरन्तर बढ्दै आर्थिक वर्ष २०२३ मा ४१ करोड ७० लाख रुपैयाँ पुगेको थियो।
सुरुवाती दुई वर्षमा राम्रो व्यापार गरेको कम्पनीले आर्थिक वर्ष २०२४ मा भने ठूलो धक्का बेहोर्नुपर्यो। आफ्ना दुईमध्ये एउटा हेलिकप्टर लामो समय उडान भर्न नसक्ने गरी थन्किएपछि (ग्राउन्ड भएपछि) कम्पनीको उडान सेवा प्रभावित भयो। यसले गर्दा कम्पनीको सञ्चालन आम्दानी करिब ३८ प्रतिशतले घटेर २६ करोड रुपैयाँमा खुम्चियो।
तर, पछि उक्त हेलिकप्टर बिक्री गरेर नयाँ रणनीतिका साथ अघि बढेपछि कम्पनी पुनः पुरानै लयमा फर्किएको छ। फलस्वरूप, आर्थिक वर्ष २०२५ मा सञ्चालन आम्दानी करिब १० प्रतिशतले बढेर २८ करोड ५० लाख रुपैयाँ पुगेको छ।
व्यापारमा उतारचढाव देखिए पनि कम्पनीले आफ्नो खुद नाफा भने लगातार बढाउँदै लगेको छ। आर्थिक वर्ष २०२१ मा हेलिकप्टरको मूल्यमा आएको ह्रास र बैंकको ब्याज लगायतका वित्तीय खर्च उच्च हुँदा कम्पनीले २१ करोड ७० लाख रुपैयाँ घाटा बेहोरेको थियो। त्यसपछिका वर्षहरूमा कम्पनीले बिस्तारै सुधार गर्दै लग्यो।
आर्थिक वर्ष २०२३ मा २२ लाख ४० हजार र आर्थिक वर्ष २०२४ मा १६ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आर्थिक वर्ष २०२५ मा भने नाफालाई ह्वात्तै बढाएर १० करोड रुपैयाँ पुर्याएको छ।
नाफासँगै कम्पनीको दैनिक सञ्चालनबाट नगद जम्मा गर्न सक्ने क्षमता पनि बलियो बनेको छ। आर्थिक वर्ष २०२१ मा झन्डै १० करोड रुपैयाँ ऋणात्मक (घाटामा) रहेको कम्पनीको खुद नगद आर्जन क्षमता आर्थिक वर्ष २०२५ मा आइपुग्दा १० करोड ३० लाख रुपैयाँ धनात्मक (नाफामा) पुगेको छ। यसले कम्पनी आफ्नो आन्तरिक आम्दानीबाटै बलियो बन्दै गएको संकेत गर्छ।
कम्पनीले आफ्नो थाप्लोमा रहेको ऋणको भार कम गर्दै ऋण तिर्ने क्षमतामा पनि ऐतिहासिक सुधार गरेको छ। कम्पनीको आफ्नै लगानी (इक्विटी) को तुलनामा ऋण कति छ भन्ने देखाउने सूचक (ओभरअल गियरिङ) आर्थिक वर्ष २०२१ मा १८ गुणाभन्दा बढी (अत्यधिक ऋण) रहेकोमा आर्थिक वर्ष २०२५ मा घटेर १.२४ गुणा मात्र सीमित भएको छ।
थप लगानी भित्रिएसँगै कम्पनीको नेटवर्थ ४ करोड ३० लाख रुपैयाँबाट बढेर ६२ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल बाह्य ऋण र सम्पत्तिको अनुपात पनि १९ गुणाबाट घटेर १.३१ गुणामा झरेको छ, जसले कम्पनीको वित्तीय जोखिम निकै कम भएको संकेत गर्छ।
बैंकको ब्याज र किस्ता तिर्न सक्ने कम्पनीको क्षमता पनि पहिलेको तुलनामा निकै मजबुत बनेको छ। आफ्नो कमाइबाट ब्याज तिर्न सक्ने क्षमता आर्थिक वर्ष २०२१ मा ऋणात्मक रहेकोमा आर्थिक वर्ष २०२५ मा बढेर ३ गुणा बढी पुगेको छ।

कम्पनीको यही सुदृढ वित्तीय अवस्थालाई मूल्यांकन गर्दै रेटिङ एजेन्सी ‘इन्फोमेरिक्स नेपाल’ ले प्रभु हेलिकप्टरलाई ‘आईआरएन बीबी– (इश्युअर)’ रेटिङ दिएको छ, जसले कम्पनीमा ऋण भुक्तानीको जोखिम मध्यम रहेको बुझाउँछ। कम्पनीले बैंकबाट लिएको दीर्घकालीन कर्जाका लागि ‘आईआरएन बीबी–’ र छोटो अवधिको कर्जाका लागि ‘आईआरएन ए–४’ रेटिङ पाएको छ। हाल कम्पनीले कुल ३६ करोड ९८ लाख ५० हजार रुपैयाँ बराबरको बैंक ऋण उपयोग गरिरहेको छ।
बजारमा करिब १० वर्षको लामो अनुभव, दक्ष तथा अनुभवी सञ्चालक टोली, सुधारिएको वित्तीय अवस्था र व्यवस्थित ऋण प्रणाली यस कम्पनीका सबल पक्ष हुन्। तर, अर्कोतर्फ कम्पनीको आम्दानी पूर्ण रूपमा पर्यटन उद्योगमा निर्भर रहनु, हवाई इन्धनको मूल्यमा हुने उतारचढाव र अमेरिकी डलरमा लिइएको ऋणका कारण विदेशी विनिमय दर (डलरको भाउ तलमाथि हुँदा हुने जोखिम) भने अझै पनि कायम देखिन्छ।
यसका साथै, कम्पनीको आम्दानी नेपालको एउटै क्षेत्रमा मात्र बढी केन्द्रित छ। आर्थिक वर्ष २०२५ को तथ्यांक अनुसार कम्पनीको कुल आम्दानीको ५८ प्रतिशत हिस्सा सगरमाथा क्षेत्र (खुम्बु क्षेत्र) बाट मात्र उठेको छ।
यसबाहेक मनास्लु क्षेत्रबाट १० प्रतिशत, सिमिकोटबाट ८ प्रतिशत, कञ्चनजंघाबाट ५ प्रतिशत र उद्धार सेवाबाट ५ प्रतिशत र बाँकी अन्य क्षेत्रबाट आम्दानी भएको छ। खुम्बु क्षेत्रमा अत्यधिक निर्भर रहनुपर्ने भएकाले त्यस क्षेत्रमा आउने हिमपहिरो, खराब मौसम वा अन्य प्राकृतिक विपत्तिका कारण उडानहरू रोकिएमा कम्पनीको आम्दानीमा सिधै धक्का लाग्ने जोखिम रहन्छ।
साथै, नेपालको पर्यटन व्यवसाय ऋतु (सिजन) मा आधारित हुने भएकाले हेलिकप्टरको मुख्य आम्दानी पनि पर्यटकीय सिजन (शरद र वसन्त ऋतु) मा मात्र बढी केन्द्रित हुने गरेको छ।













