७ श्रावण २०८३, बिहिबार

मान्छेको संख्या नबढे पनि बाघ चाहीँ बढ्दै छ नेपालमा, पाँचौँ बाघ गणना सुरु



काठमाडौँ । देशकै सबैभन्दा ठूलो निकुञ्ज अर्थात् चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ । पुस १ र २ गते सञ्चालित दुई दिने बाघ गणनाका तालिम पाएपछि अब विहीबराबाट १५० जना गणकहरू जङ्गल पसेर काममा खटिएका छन् ।

गणनाको पहिलो दिन त्रिवेणी, अमलटारी, कसराहुँदै बरणडाभार क्षेत्रमा गणनाको काम हुने भएको छ । पहिलो चरणमा यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर बाघको गणना गरिने भएको छ ।

यस्तो एउटा ग्रिडमा एक जोडी अर्थात् दुई वटा स्वचालित क्यामेरा राखिने छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको हो । उक्त ब्लकलाई तीन भागमा विभाजन गरी तीन चरणमा गणना हुने छ ।

यसका लागि गणक टोलीले एक स्थानमा दुई हप्तासम्म क्यामेरा राखिने छ । ती क्यामेराले बाघका तस्वीरहरु खिच्ने छ । चितवन–पर्सा ब्लक (क्षेत्र) मा कुल ९५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको छ ।

यसबाहेक बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघको गणना गरिँदै छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई दोस्रो खण्ड तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डीलाई तेस्रो खण्डका रुपमा क्षेत्र निर्धारण गर्न बाघको गणना गर्न लागिएको हो । तर ती राष्ट्रिय निकुञ्जभन्दा बाहिर पनि पाटे बाघ नपाइने भने होइन ।

केही दिनअघि नुवाकोटको सदरमुकाम विदुरमा वनदेवी मन्दिर छेउमा रातो पाटेबाघ घुमिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो त समुद्री सतहबाट साढे ७ सय मिटर हाराहारी हो । तर डडेलधूरामा २५०० मिटर र इलाममा ३००० मिटरको उचाइमा पनि पाटे बाघ पाइएका उदाहरण छन् । नेपालमा पाइने पाटे बाघलाई बंगाली बाघको संज्ञा दिने गरिएको छ ।

यस्तो बाघको वासस्थान सन् २०५० सम्म अर्थात् अबको २५ वर्षमा कम्तिमा पनि ८० प्रतिशतले बढ्ने अनुमान गरिएको एउटा अध्ययन प्रतिवेदन हालसालै प्रकाशित भएको थियो । त्यसैले चितवन, पर्सा र शुक्लाफाँटामा भएको बाघको घना आवादी अब देशैभर बाक्लिने जोखिम बढेको छ । यसले नेपालमा बाघको संख्या लगातार बढोत्तरी हुने ठानिएको छ ।

पछिल्लो एक दशकमा पहाडी क्षेत्रका मानिसहरुले या त तराइ र प्रमुख शहरी इलाकामा बसाईँ सर्ने, नभए पनि खेतिपाती खासै नगर्ने परिपाटी विकसित भएको छ । जलविद्युत् आयोजना र सडक आयोजनाहरुले परम्परागत कुला नहरहरुलाई क्षति पुर्याएको त छँदै थियो, त्यसमाथि पनि मानिसहरु पहाडमा खेति गरेर जिविका चलाउन नसक्ने भन्दै वैदेशिक रोजगारीतर्फ मोडिएका छन् ।

यसले जमीन बाँझीएर जङ्गलमा परिणत हुने सिलसिला बढेसँगै बागको संख्यामा पनि बढोत्तरी आएको छ । कुनै बेला जंगल फणानी नै सबैभन्दा ठूलो समस्याको रुपमा रहेको नेपालमा अहिले खेतियोग्य जमीन नै जंगलको रुपमा परिणत हुन थालेपछि पहाडी क्षेत्रमा बाघको उपस्थिति बाक्लिएको हो । तर अहिलेको सरकारी गणनाले त्यस्ता क्षेत्रमा बढेको बागको संख्यालाई पत्ता लगाउन सक्दैन ।

यस पल्ट सरकारले तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । यसको नतिजा आगामी चैतमा आउने बताइएको छ । नेपालमा हरेक १० वर्षमा जनगणना गरेजस्तै हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । यो पाँचौं राष्ट्रिय बाघ गणना हो ।

गणनामा डेढ सय जना गणकले २३०० स्वाचालित क्यामेराको प्रयोग गरेर बाघको हिसाब किताब निकाल्ने छन् । बाघ गणनाका लागि २ करोड ५० लाख खर्च अनुमान गरिएको छ । यो पैसा दातृ निकायहरुबाट जुटाइने छ ।

बाघ गणनाका लागि गणकहरुले बाघको बाक्लो ओहोरदोहोर हुने क्षेत्रमा क्यामेराहरु जडान गर्छन् । ती क्यामेराले वरपर हिँड्ने बाघको तस्वीर लिन्छन् । तिनै तस्वीर हेरेर बाघको सङ्ख्या पत्ता लगाउने गरिन्छ । बाघको शरीरमा हुने रङ्गका पाटाहरु पनि मान्छेका औँठा छापजस्तै हुन्छन् । ती पाटाहरु एकअर्कासँग मिल्दैनन् । त्यसैले बाघको गणना गर्न सजिलो पर्छ ।

पछिल्लो पल्ट सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । उक्त गणनामा चितवनमा सर्वाधिक १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ फेला परेको थियो ।


प्रतिक्रिया दिनुहोस्