विद्युतीय गाडीले तातिएको नेपाली अटो बजार, आठ महिनामा ६ हजार ४३५ वटा इभि भित्रियो « Arthapath.com
६ चैत्र २०८०, मंगलवार

विद्युतीय गाडीले तातिएको नेपाली अटो बजार, आठ महिनामा ६ हजार ४३५ वटा इभि भित्रियो



काठमाडौं । आठ महिनामा साढे ६ हजार विद्युतीय सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

आठ महिनामा विभिन्न तौल क्षमतका ६ हजार ४३५ वटा विद्युतीय सवारी नेपाल भित्रएका छन् । जुन गत आवको सोही अवधिमा भने २.९२ गुणा अर्थात् १९२.७६ प्रतिशत बढी हो । गत आवको फागुन मसान्तसम्ममा ६ अर्ब १६ करोड ८२ लाख रुपैयाँ बराबरका २ हजार १९८ वटा विद्युतीय गाडी आयात भएका थिए । तर, चालु आवको आठ महिनामा भने कुल १५ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ ।

नेपालमा विद्युतीय सवारीप्रतिको क्रेज बढ्दो नै छ । अहिले नेपाली अटो बजार विद्युतीय गाडीमय नै देखिन्छ । नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिकिा र इन्डोनेसिया लगायतका मुलुकहरुबाट विद्युतीय गाडी आयात हुने गरेको छ । हाल ती मुलुकहरुबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि आयात हुँदै आएका छन् ।

अहिले नेपालमा मासिक औसत ८०४ वटा विद्युतीय गाडी भित्रने गरेको विभागको तथ्याङ्कले देखाउँछ । तर, फागुनमा भने ज्यादै न्यून आयात भएको छ । फागुनमा २७६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। गत माघमा पनि कुल २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ बराबरका १ हजार ५२ वटा इभि आयात भएको थियो ।

गत पुसमा भने यो वर्षकै उच्च आयात भएको छ । सो महिनामा कुल ३ अर्ब ६२ करोड ६२ लाख रुपैयाँ बराबरको १ हजार ४२१ वटा विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । यस्तै, गत असोजमा पनि औसतभन्दा बढी १ हजार २३७ वटा आयात भएको थियो । विभागका अनुसार मंसिरमा पनि ८९९ वटा, कात्तिकमा ६५२, भदौमा ७८८ र साउनमा ११० वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।

स्रोत: भन्सार विभाग, रकम हजारमा

हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्रान्डको विद्युतीय कारहरू निकै रुचाइएका विद्युतीय कारको ब्रान्ड हुन् ।

नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ । आम मानिसहरुको इभिप्रति बढ्दो विश्वासले नै यसको माग बढी रहेको व्यवसायीहरु बताउँछन् । सरकारले पनि विद्युतीय सवारीलाई नीति मार्फत नै प्रोत्साहन गरेकाले पनि यसको आयात बढेको बताइन्छ।

विशेषगरि इभिमा अपरेसन लागत पनि कम लाग्ने भएकाले यस तर्फ आकर्षण बढेको व्यवसायीहरू बताउँछन् । पेट्रोलियम पदार्थबाट चल्ने गाडी भन्दा कम खर्च लाग्ने, वातावरण अनुकूल र स्वास्थ्यका लागि समेत राम्रो हुने भएकाले विद्युतीय सवारी आम प्रयोगकर्ताको रोजाइमा परेको व्यवसायीहरूको भनाई छ । यस्तै, लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि बिस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको बताइन्छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट पनि चार्जिङ्ग स्टेसन निर्माणका भइरहेका छन् ।

नेपालमा सबैभन्दा धेरै चीनबाट इभि आयात हुने गरेको छ । आठ महिनाका चीनबाट ३ हजार ९६९ विद्युतीय सवारी आयात भएको छ । चीनबाट मात्रै १० अर्ब ८६ करोड ४ लाख रुपैयाँ बरारबको इभि आयात भएको छ ।

यस्तै, अर्को छिमेकी मुलुक भारतबाट पनि विद्युतीय सवारीको आयात उच्च देखिएको छ । भारतबाट ८ महिनामा ४ अर्ब ५९ करोड ७६५ लाख रुपैयाँ बराबरको २ हजार ३८० वटा इभि नेपाल भित्रिएका छन् । यता, कोरियाबाट २४ करोड ४८ लाख रुपैयाँ बराबरको ४२ वटा, जर्मनबाट ७ वटा, अमेरिकाबाट ३ वटा र इन्डोनेसियाबाट ३४ वटा इभि आयात भएका छन् ।


प्रतिक्रिया दिनुहोस्