लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलाई भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवा प्रदर्शन पुरस्कार « Arthapath.com
२८ जेष्ठ २०८३, बिहिबार

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलाई भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवा प्रदर्शन पुरस्कार



काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि. लाई हुण्डाई मोटर कम्पनीले प्रतिष्ठित ‘भारत, मध्यपूर्व तथा अफ्रिका सेवा प्रदर्शन पुरस्कार’ प्रदान गरेको छ। कम्पनीले बिक्रीपछिको उत्कृष्ट सेवा र उच्च ग्राहक सन्तुष्टिका आधारमा उक्त अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो।

कम्पनीका अनुसार यो पुरस्कारले सवारीसाधन बिक्री मात्र नभई ग्राहकको दीर्घकालीन अनुभव र विश्वासलाई प्राथमिकता दिने हुण्डाईको अवधारणालाई थप पुष्टि गरेको छ।

नेपालमा अधिकांश अटोमोबाइल कम्पनीहरू बिक्री र प्रदर्शनी कक्षमा केन्द्रित भइरहेका बेला लक्ष्मी हुण्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिका रूपमा विकास गर्दै आएको जनाएको छ। ग्राहकलाई सवारी प्रयोग अवधिभर सहज, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले सेवा केन्द्र विस्तार, जनशक्ति क्षमता अभिवृद्धि तथा आधुनिक पूर्वाधार निर्माणमा निरन्तर लगानी गर्दै आएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कम्पनीले यस्तो प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु देशकै लागि गौरवको विषय भएको कम्पनीको भनाइ छ। कम्पनीले बिक्रीपछिको सेवालाई छोटो अवधिको व्यापार नभई दीर्घकालीन प्रतिबद्धताका रूपमा लिँदै आएको उल्लेख गरेको छ।

कम्पनीले यो सफलता सम्पूर्ण कर्मचारीहरूको निरन्तर मेहनत, लगनशीलता तथा ग्राहकलाई पहिलो प्राथमिकतामा राख्ने संस्कृतिको परिणाम भएको जनाएको छ। साथै कम्पनीले आफ्ना ग्राहकप्रति विश्वास र साथका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

यो सम्मानले नेपाली अटोमोबाइल बजारमा सेवा गुणस्तर र ग्राहक सन्तुष्टिको नयाँ मापदण्ड स्थापित गर्न थप प्रेरणा मिलेको कम्पनीको विश्वास छ


प्रतिक्रिया दिनुहोस्