आधा दर्जन बैंक मर्जरमा, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र ग्लोबल आइएमई बिओके बैंकमा कुन ठूलो ? « Arthapath.com
८ असार २०७९, बुधबार

आधा दर्जन बैंक मर्जरमा, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र ग्लोबल आइएमई बिओके बैंकमा कुन ठूलो ?



काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । हालसम्म विभिन्न ६ बैंक मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्तक्षर गरिसकेका छन् । हालसम्म नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंक, नेपाल इन्भेस्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके) बीच मर्जरमा जानका लागि समझदारीपत्र (एमओयू) गरेका हुन् ।

यसअघि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता भएपनि अन्तिम समयमा आएर डिमर्ज भएका थिए । तर नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो पार्टनर खोजेर एमओयू गरिसकेको छ भने हिमालयन बैंकले अहिलेसम्म पनि पार्टनर खोज्न सकेको छैन् ।

तर मर्जरमा सम्झौता गरेका यी ३ बैंक सफल भए भने आगामी दिनमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । चुक्ता पूँजीका आधारमा ग्लोबल आइएमई बिओके बैंक अगाडि छ भने नाफा आर्जनमा नबिल बैंक अगाडि देखिन्छ । यस्तै, चालु आर्थिक बर्षको तेस्रो त्रैमासको आधारमा यी तीन बैंक मर्जरपश्चात् कुन कस्तो अवस्थामा रहनेछन् भने यहाँ देखाउन खोजिएको छ ।

नबिल र एनबी बैंक
सम्भवतः नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकले चालु आर्थिक बर्ष भित्र नै प्राप्ति गरि एकीकृत कारोबार गर्ने तयारीमा छ । तर अन्तिम समयमा आएर विभिन्न खटपट देखिन थालेको छन् । तैपनि त्यसलाई समाधान गर्दै एकीकृत कारोबार हुनेमा बैंकले विश्वास लिएको छ ।

सम्भवतः जुलाई ४ तारिख अर्थात अषाढ २० गतेभित्र एकीकृत कारोबार गर्ने तार्गेट रहेको छ । नबिल बैंकको एक सय कित्ता बराबर एनबि बैंकका शेयरधनीहरुले ४३ कित्ता शेयर पाउने सहमति भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंक गाभ्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

एनबी बैंकलाई प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ, जेगडा कोष २८ अर्ब ५२ करोड ५१ लाख ५६ हजार रुपैयाँ, लोन (कर्जा) ३ खर्ब ९ अर्ब ६ करोड ९ लाख ७९ हजार रुपैयाँ, डिपोजिट (निक्षेप) ३ खर्ब १६ अर्ब २५ करोड १४ लाख ६५ हजार रुपैयाँ, खुद ब्याज आम्दानी ८ अर्ब ५२ करोड ९३ लाख ६९ हजार रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब १७ करोड ६७ लाख २८ हजार रुपैयाँ। खुद नाफा ४ अर्ब ४६ करोड ३१ लाख ८१ हजार रुपैयाँ र वितरणयोग्य नाफा २ अर्ब ५३ करोड ८१ लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।

त्यस्तै, प्रतिशेयर आम्दानी २६.०६ रुपैयाँ, २३९ वटा शाखा, २८५ वटा एटिएम र कर्मचारी संख्या २ हजार २३९ जना कर्मचारी संख्या पुग्नेछ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू
विभिन्न बैंक तथा वित्तीय संस्थालाई गाभ्दै आएको ग्लोबल आइएमई बैंकले पछिल्लो पटक जनता बैंकसँग मर्जर गरेको थियो । विभिन्न सूचकका आधारमा ग्लोबल आइएमई बैंक एक नम्बरमा छ । वाणिज्य बैंकहरुमा एक नम्बर बन्न बैंकले बैंक अफ काठमाण्डूसँग मर्जर गर्ने सम्झौता गरेको छ । काठमाडौं । दुवै बैंकबीच असार २ गते बिहीबार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ । तर ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ ।

मर्जरपश्चात् बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड ९७ लाख ६७ हजार रुपैयाँ, जेगडा कोष १५ अर्ब ५३ करोड ७७ लाख ८३ हजार रुपैयाँ, लोन (कर्जा) ३ खर्ब ८० अर्ब रुपैयाँ, डिपोजिट (निक्षेप) ३ खर्ब ८४ अर्ब रुपैयाँ, खुद ब्याज आम्दानी १० अर्ब २३ करोड रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब २३ करोड रुपैयाँ, खुद नाफा ४ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ र वितरणयोग्य नाफा २ अर्ब ३२ करोड १६ लाख रुपैयाँ भन्दा बढी पुग्नेछ ।

त्यसैगरी बैकको शाखा कार्यालय ३८५ वटा, एटिएम ३६७ एटिएम, शाखारहित बैंकिङ्ग सेवा २७५ वटा, विस्तारित शाखा कार्यालय ६१ वटा, विदेश स्थित सम्पर्क कार्यालय ३ वटा र ३७ लाख भन्दा बढि ग्राहकहरु पुग्नेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक
यता हिमालयन बैंकसँग जोडि टुटेको नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर सम्झौता गरेको छ । हिमालयनसँग मर्ज भएर ठूलो बैंक बन्ने आशमा बसेको बैंक डिमर्जरका कारण सम्भावना कम रहेको छ ।नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता शेयर पाउने छ ।

मर्जरपश्चात् बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ, जेगडा कोष, २२ अर्ब ३५ करोड २२ लाख ६ हजार रुपैयाँ, लोन (कर्जा) ३ खर्ब २३ अर्ब ९२ करोड १३ लाख ४० हजार रुपैयाँ, डिपोजिट (निक्षेप) ३ खर्ब २७ अर्ब ६२ करोड ३ लाख ६७ हजार रुपैयाँ, खुद ब्याज आम्दानी ७ अर्ब ८६ करोड ५० लाख ९८ हजार रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब ६२ करोड ५१ लाख ६२ हजार रुपैयाँ, खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख ९६ हजार रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ४० लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी १८.२५ रुपैयाँ, शाखा संख्या ३१६ वटा, एटिएम २७१ वटा र कर्मचारी संख्या ३ हजार २१८ जना पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस्