सेयर बजार अस्थिर बन्दा घट्यो बैंकहरुको ‘नेट ट्रेडिङ्ग इनकम’: २२ बैंकको आम्दानी ३ अर्ब, कुनको कति ? « Arthapath.com
१७ माघ २०७९, मंगलवार

सेयर बजार अस्थिर बन्दा घट्यो बैंकहरुको ‘नेट ट्रेडिङ्ग इनकम’: २२ बैंकको आम्दानी ३ अर्ब, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी (नेट ट्रेडिङ्ग इनकम) सुस्ताएको छ । वाणिज्य बैंकहरुले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

चालु आवको ६ महिनामा बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी २ अर्ब ९९ करोड ५४ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । गत असोज महिनाको तुलनामा भने ६.४३ प्रतिशतले मात्रै हो । गत असोज महिनामा २ अर्ब ८१ करोड ४४ लाख ६४ हजार रुपैयाँ आम्दानी भएको तथ्याङ्कमा उल्लेख छ ।

बैंकहरुको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा भने सेयर कारोबारबाट हुने आम्दानी ३९.०४ प्रतिशतले गिरावट आएको छ । बैंकहरुले गत वर्षको पुस मसान्तसम्ममा ४ अर्ब ९१ करोड ३५ लाख ३२ हजार रुपैयाँ बराबरको आम्दानी गरेका थिए । तर, यस वर्षको सोही अवधिमा भने २ अर्ब ९९ करोड ५४ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा सेयर बजारमा आएको ठुलो उत्तार चढावले पनि बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानीमा कमी देखिएको हो । बजार अस्थिर बन्दा बैंकहरुको यस्तो आम्दानीमा कमी आएको जानकारीहरु बताउछन् । नियमनकारी निकायम नेपाल राष्ट्र बैंकले बैंकलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैंकहरुले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ ।

पछिल्लो तीन महिनाको तथ्याङ्क अनुसार झिनो वृद्धि भएको देखिएता पनि गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने बैंकहरुको यो आम्दानी घटेको हो । गत वर्षको दोस्रो त्रैमासको तुलनामा अधिकांश बैंकहरुको नेट ट्रेडिङ्ग इनकममा कमी देखिएको छ ।

चालु आवको ६ महिनामा सबैभन्दा आम्दानी स्टाण्डर्ड चार्टर्ड बैंकको देखिएको छ । सो अवधिमा बैंकले सेयर कारोबाट २६ करोड ४१ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने बैंकको यो आम्दानी २३.२९ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा बैंकले ३४ करोड ४३ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको थियो । तर, गत असोज महिनाको तुलनामा भने बैंकको यो आम्दानी ५७.०९ प्रतिशतले वृद्धि भएको हो । चालु आवको असोज महिनामा बैंकले सेयर कारोबारबाट १६ करोड ८१ लाख ६८ हजार रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले भने चालु आवको ६ महिनामा सेयर कारोबाट २६ करोड २२ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने बैंकको यो आम्दानी ३३.२५ प्रतिशतले कमी हो । गत वर्षको सो अवधिमा बैंकको यस्तो आम्दानी ३९ करोड २८ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

सो अवधिमा नबिल बैंकको सेयर कारोबारबाट हुने आम्दानी २५ करोड ६५ लाख ८७ हजार रुपैयाँ र हिमालयन बैंकको २१ करोड २८ लाख २९ हजार रुपैयाँ आम्दानी गरेका छन् । यी बैंकहरुको यस्तो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा क्रमशः २३.२४ प्रतिशत र ३३.७८ प्रतिशतले कमी हो ।

चालु आवको ६ महिनामा सबैभन्दा थोरै आम्दानी नेपाल बैंकको देखिएको छ । सो अवधिमा बैंकले सेयर कारोबारबाट २ करोड ७४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको हो । तर, गत असोज महिनाको तुलनामा भने बैंकले यस्तो आम्दानीमा सुधार गरेको देखिएको छ । असोज महिनामा बैंकको यो आम्दानी २ करोड ८३ लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

चालु आवको ६ महिनामा राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ«े र नेपाल एसबिआई बैंकको सेयर कारोबारबाट हुने आम्दानी वृद्धि भएको छ । चालु आवको ६ महिना राष्ट्रिय वाणिज्य बैंकको सेयर कारोबारबाट हुने आम्दानी उल्लेख मात्रामा बढेको छ । गत वर्षको पुस मसान्तसम्म ३ करोड ५२ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको बैंकको यो आम्दानी यस वर्षको सो अवधिमा भने ४६३.७६ प्रतिशतले बढी हो । चालु आवको पुस मसान्तसम्ममा बैंकले सेयर कारोबारबाट १९ करोड ८७ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, सो अवधिमा माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकको नेट ट्रेडिङ्ग इनकम पनि वृद्धि भएको छ । सो अवधिमा माछापुच्छ्रे बैंकको १९.९७ प्रतिशतले वृद्धि भई १७ करोड २९ लाख ६५ हजार रुपैयाँ र नेपाल एसबिआईको ४१.७७ प्रतिशतले बढेर १६ करोड ४२ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

चालु आवको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर कारोबारबाट हुने आम्दानी १९ करोड ७२ लाख रुपैयाँ, सानिमा बैंकको १८ करोड २१ लाख, कुमारको १४ करोड १९ लाख ८२ हजार, सिद्धार्थको १२ करोड ३९ लाख ४१ हजार, एनएमबि बैंकको ११ करोड ८३ लाख ८४ हजार, र प्रभुको १० करोड ५२ लाख रुपैयाँ रहेको छ । यी बैंकहरुको यस्तो आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने कमी हो ।

त्यसैगरि लक्ष्मी बैंकको नेट ट्रेडिङ्ग इनकम ९ करोड ७५ लाख ७८ हजार, प्राइमको ८ करोड ८७ लाख ९७ हजार, सिटिजनको ८ करोड ४० लाख, सनराइजको ७ करोड ५७ लाख, एभरेष्टको ७ करोड ४० लाख, एनआईसी एशियाको ७ करोड ३४ लाख, कृषि विकासको ४ करोड २२ लाख र सिभिल बैंकको ३ करोड १४ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्