यो वर्षको अन्तिम मर्जर: लक्ष्मी र सनराइज बैंकको आजदेखि एकीकृत कारोबार, कस्तो बन्यो बैंक ? « Arthapath.com
२९ असार २०८०, शुक्रबार

यो वर्षको अन्तिम मर्जर: लक्ष्मी र सनराइज बैंकको आजदेखि एकीकृत कारोबार, कस्तो बन्यो बैंक ?



काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ । यी दुवै बैंक एकआपसमा गाभिएर आजदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

योसंगै वाणिज्य बैंक तर्फ चालु आर्थिक वर्षको अन्तिम मर्जर पनि हो । लक्ष्मी र सनराइज बैंक मर्जभएसंगै नेपालमा हाल वाणिज्य बैंकहरुको संख्या २० वटा भएको छ ।

लक्ष्मी र सनराइज बैंक समान हैसियत अर्थात १:१ स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जरमा जानका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । यता, नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि असार २२ गते मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जपछि लक्ष्मी बैंकको तर्फबाट ४ जना र सनराइजको तर्फबाट ३ जना रहनेछन् । लक्ष्मी बैंकको तर्फबाट रमण नेपाल (बैंकका हालका अध्यक्ष), डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत संचालक बन्ने भएका हुन् । यता, बच्छराज तातेड र मालचन्द दुगड संचालक रहनेछन् । यद्यपि, मर्जपछिको पहिलो साधारण सभासम्मका लागि उनीहरु संचालक रहनेछन ।

मर्जपश्चात् बन्ने नयाँ बैंकमा हालका लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयबहादुर शाह हुनेछन् । तर, सनराइज बैंकका सीईओ सुमन शर्मा भने बाहिरिने भएका छन् । स्वेच्छिक अवकास सुविधामा शर्मा बाहिरिने भएका हुन् ।

यी दुवै बैंक एक आपसमा गाभिएपछि अर्थात लक्ष्मी सनराइजको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ हुनेछ । हाल लक्ष्मीको बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइजको १० अर्ब ११ करोड रुपैयाँ बढी थियो । जगेडा कोषको आकार भने १४ अर्ब ११ करोड नाघ्नेछ । यस्तै, मर्जपछि बन्ने बैंकको निक्षेप पौने ३ खर्ब र कर्जा लगानी साढे २ खर्ब बढी हुनेछ ।

लक्ष्मी सनराइजको शाखा २८४ वटा पुग्नेछ भने बैंक कर्मचारीहरुको संख्या ३ हजार १७० पुग्नेछन् । यी दुवै बैंक एक आपसमा मर्जरमा जान गत पुस २५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्