कति तोकिँदै छ आन्तरिक रेमिट्यान्स कारोबारको सीमा ? « Arthapath.com
२४ मंसिर २०८०, आईतवार

कति तोकिँदै छ आन्तरिक रेमिट्यान्स कारोबारको सीमा ?



काठमाडौं । सरकारले झन्डै एक वर्षपछि आन्तरिक रेमिट्यान्स कारोबार खुलाउने तयारी गरेको छ । नेपाल राष्ट्र बैङ्कले गत माघदेखि आन्तरिक रेमिट्यान्समा रोक लगाएको थियो । तर, त्यसलाई पुनः खुलाउने तयारीमा राष्ट्र बैङ्क अघि बढेको हो । 

राष्ट्र बैङ्कले गत शुक्रवार चालु आवका मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत आन्तरिक रेमिट्यान्स खुलाउने घोषणा गरिसकेको छ । अब आवश्यक तयारी पुरा गरेर आन्तरिक रेमिट्यान्स खुलाउने राष्ट्र बैङ्कको तयारी छ । 

आन्तरिक रेमिट्यान्स बन्द भएपछि वित्तीय कारोबार गर्न निकै कठिन भएको प्रतिक्रिया राष्ट्र बैङ्कमा आएका छन् । स्वयम बैङ्क तथा वित्तीय संस्थाहरूले पनि आन्तरिक रेमिट्यान्स कारोबार खुलाउन आग्रह गर्दै आएका छन् । त्यसपछि यस विषयमा राष्ट्र बैङ्कले अध्ययन अघि बढाएको, त्यसपछि राष्ट्र बैङ्क आन्तरिक रेमिट्यान्स कारोबार खुलाउने निर्णयमा पुगेको हो । यद्यपि, यसबारे गरिएको अध्ययन अझै सकिएको छैन । 

गत शुक्रवार मौद्रिक नीति समीक्षाको पत्रकार सम्मेलनमा पनि गभर्नर महाप्रसाद अधिकारीले सरोकारवालाबाट आएका सुझाव र अध्ययनको आधारमा आन्तरिक रेमिट्यान्स कारोबार खुलाउने निर्णयमा गरेको बताएका थिए । हाल यसबारे अध्ययन भइरहेको र अध्ययन सकिएपछि आन्तरिक रेमिट्यान्स कारोबार खुलाउने उनको भनाइ थियो । 

मुख्यतः रेमिट्यान्स श्रम स्वीकृतिको आधारमा गरिने अन्तरदेशीय कारोबारको माध्यम हो । रोजगारका। लागि विदेशमा बसेका व्यक्तिहरूले आफ्नो मुलुकमा रहेका परिवार वा समृद्धिमा आर्थिक सहायता पठाउने प्रक्रिया वा सेवा हो । तर, नेपालमा सबै ठाउँमा बैङ्क तथा वित्तीय संस्था नपुगेको भन्दै यस्तो कारोबार खुला गरिएको थियो । तर, पछिल्लो समय सबै ठाउँमा बैङ्क तथा संस्था पुगेपछि र वित्तीय पहुँच पनि बढेका कारण यो सेवा बन्द गरिएको थियो । तर, यो सेवा बन्द गर्दा अझै पनि विभिन्न समस्याहरू देखा परेका छन् । विशेषगरि ग्रामीण भेगका बासिन्दा, प्रौढ व्यक्तिहरूमा वित्तीय कारोबार गर्न समस्या भइरहेको छ । त्यसपछि यसको कारोबार खुलाउन राष्ट्र बैङ्क अघि बढेको हो । 

अब १० हजार रुपैयाँको सीमामा आन्तरिक रेमिट्यान्स कारोबार खुलाउने तयारी राष्ट्र बैङ्कका एक अधिकारीले बताए । त्यसका राष्ट्र बैङ्कको विदेशी मुद्रा व्यवस्थापन विभागले सर्कुलर जारी गर्ने तयारीमा रहेको उनको भनाई छ । उनले भने,‘आन्तरिक रेमिट्यान्स कारोबार करिब १०/१२ हजारकै आसपासको सीमा कायम हुने देखिन्छ । यसका लागि अब १/२ दिनमै सर्कुलर जारी हुन्छ ।’

पहिला आन्तरिक रेमिट्यान्स कारोबारको सीमा १ लाख रुपैयाँ थियो । तर, २०७८ फागुनमा यसको सीमा २५ हजारमा झारिएको थियो । २०७९ माघमा भने यसको कारोबार बन्द गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्