आनन्द काफ्ले सीडीयो बन्न हिँडेपछि नेपाल बैंकमा सीईओ छान्ने प्रक्रिया नै अवरुद्ध « Arthapath.com
२६ मंसिर २०८०, मंगलवार

आनन्द काफ्ले सीडीयो बन्न हिँडेपछि नेपाल बैंकमा सीईओ छान्ने प्रक्रिया नै अवरुद्ध



काठमाडौं । देशकै पहिलो बैंकको शाख बोकेको नेपाल बैंकमा यसपालि पनि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्ने प्रक्रिया अनिश्चित कालका लागि लम्बिने भएको छ । सरकारी स्वामित्वको यो बैंक मध्ये असोजदेखि नै सीईओ विहिन छ ।

गत असोज पहिलो साता नै नयाँ सीईओ छान्न भनेर तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै बैंकमा सञ्चालक रहेका आनन्द काफ्लेको संयोजकत्वमा समिति गठन भयो । परशुराम कुँवर क्षेत्री र कृष्णराज लामिछानेलाई विज्ञ सदस्य नियुक्त गरिएको थियो ।

समितिले मंसिर महिनाभित्रै छनोट प्रक्रिया टुंग्याउने गरी काम गरिरहेको भए पनि बीचमा आएर संयोजककै सरुवा भइदियो । १० मंसिरमा ७१ जना सहसचिवको सरुवा हुँदा आनन्द काफ्ले गृह मन्त्रालय पुगे । उनी अहिले मौका मिलेको बेलामा केही जिल्लाको सीडीयो बनेर चलाउने रहर बोकेर गृह मन्त्रालयमा पुगे । तर त्यसको असर नेपाल बैंकमा अघि बढेको प्रक्रिया बीचमै रोकिएको छ ।

उनको सरुवा भएपछि बैंकको सञ्चालक समितिले पनि अन्य कोही सञ्चालकको संयोजकत्वमा छनोट समितिलाई पूर्णता दिनु पर्ने थियो । तर चन्द्रबहादुर अधिकारी अध्यक्ष रहेको सञ्चालक समितिले नयाँ संयोजक पठाउन सकेको छैन । सोही कारण अव नयाँ सीईओ नियुक्त गर्ने प्रक्रिया कतिसमय लम्बिन्छ भन्ने यकिन नभएको बैंकको उच्च व्यवस्थापनले जनाएको छ ।

बैंकमा नयाँ सीईओका लागि १९ जनाले आवेदन दिएका छन् । उनीहरुको वित्तीय एवम् व्यावसायिक प्रस्तावको मूल्यांकन गरेर सीईओ नियुक्त गर्नुपर्ने थियो । तर संयोजक नै नभएका कारण छनोट समितिको बैठक नै बस्न नसकेको बैंक स्रोतले जनाएको छ ।

यता बैंकमा भने गत असोज १५ देखि नै कार्यबाहक सीईओका रुपमा समता पन्त (भट्ट) ले संक्रमणकालिन नेतृत्व गरिरहेकी छिन् । उनी पनि स्वाभाविक रुपमा नयाँ सीईओको दाबेदार हुन् । तर प्रक्रिया टुंगिन ढिलाई हुँदा बैंकको उच्च व्यवस्थापनलाई गतिशील भएर काम गर्न समस्या भइरहेको बैंकका अधिकारीहरु बताउँछन् ।

नेपाल बैंकमा सीईओ नियुक्तिलाई लिएर यसरी ढिलाई भएको यो पहिलो पल्ट भने होइन । यस अघि पनि सीईओ देवेन्द्रप्रताप शाहको कार्यकाल सकिएपछि ६ महिनासम्म पद रिक्त हालतमा थियो । त्यसबेला सीईओका लागि १४ जनाले आवेदन दिएका थिए ।

तर सञ्चालक समितिले कार्यबाहक सीईओ रहँदै आएका कृष्णबहादुर अधिकारीले ४ वर्षे कार्यकालका लागि नयाँ सीईओ नियुक्त गरेको थियो । उनको कार्यकाल गएको १४ असोजमा सकिएपछि नयाँ सीईओको छनोट प्रक्रिया सुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस्