के बैंक डुब्यो भने जनताले बैंकमा जम्मा गरेको पैसा पनि डुब्छ ? « Arthapath.com
१८ फाल्गुन २०८०, शुक्रबार

के बैंक डुब्यो भने जनताले बैंकमा जम्मा गरेको पैसा पनि डुब्छ ?



काठमाडौं । यसै साता नेपाल बैंकर्स संघले आयोजना गरेको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एसिया बैंकबाट केही दिनभित्रै २७ अर्ब रुपैयाँ निक्षेप फिर्ता भएको जानकारी दिए ।

खराब कर्जा कम देखाउन सयौं कर्जा फाइलहरु नै ‘परिमार्जन गरेको’ आरोप यो बैंकले खेपिरहेको छ । यसैबीच अहिले पर्याप्त पूँजीको अभावमा थप कर्जा दिनै नसक्ने अवस्था सिर्जना भएको खबरहरु सार्वजनिक हुन थालेपछि मानिसहरु निक्षेप फिर्ता लिन होमिएका थिए ।

करीब एक सातामा ठूलो मात्रामा निक्षेप बाहिरिएको यो पछिल्लो घटना हो । यसले कुनै बैंक तथा वित्तीय संस्था समस्यामा पर्यो भने त्यहाँ राखिएको निक्षेप कति जोखिममा पर्छ भन्ने प्रश्न खडा भएको छ । राष्ट्र बैंकका अधिकारीहरु सीधै रुपमा ‘निक्षेपको सुरक्षण गरिएको’ भन्दै जनताको पैसा नडुब्ने बताइरहेका छन् ।

कति सुरक्षित छ निक्षेप ?

नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा नेपालीहरुको व्यक्तिगत निक्षेप खातामा मात्रै ३७ खर्ब ९० अर्ब निक्षेप जम्मा भएको छ । यसबाहेक गैरआवासीय नेपालीले ७५ अर्ब ६५ करोड र स्वदेशी नागरिकले विदेशी मुद्रामा अर्को ९४ अर्ब ६८ करोड निक्षेप जम्मा गरेका छन् ।

यी सबै जोड्दा व्यक्तिगत निक्षेपको आकार नै ३९ खर्ब ६० अर्बजति हुन्छ । यो कुल निक्षेप ६१ खर्ब ३० अर्बको झण्डै ६५ प्रतिशत हो ।

बैंक तथा वित्तीय संस्थामा कसको निक्षेप कति छ ?

तर विद्यमान प्रावधान अनुसार व्यक्तिगत निक्षेप खातामा पनि ५ लाख रुपैयाँसम्मको निक्षेपमात्रै सुरक्षको दायरामा आउँछ । निक्षेप तथा कर्जा सुरक्षण कोषका अनुसार गत माघ मसान्तसम्म कुल १३ खर्ब ८३ अर्ब ७९ करोड रुपैयाँ निक्षेप सुरक्षण गरिएको छ । अर्थात् कुल निक्षेपको करीब साढे २२ प्रतिशतमात्रै सुरक्षण समेटिएको छ ।

यो निक्षेप कुल ४ करोड ११ लाख ५ हजार बैंक खातामा जम्मा भएको पैसा हो । गत पुससम्म सबै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको संख्या ५ करोड ३५ लाख ५० हजार नाघेको राष्ट्र बैंकले जनाएको छ । यसर्थ करीब ७७ प्रतिशत खातामा जम्मा भएको पैसाको निक्षेप सुरक्षण गरिएको देखिन्छ ।

गत माघ मसान्तसम्म भएको कर्जा सुरक्षण

यस्तो अवस्थामा सर्वसाधारणको बढी पैसा राख्ने बैंकहरु कसैगरी टाट पल्टिने अवस्था आयो भने पैसा डुब्नसक्ने संभना हुने जानकार बताउँछन् । अहिले सर्वसाधारणको बढी निक्षेप ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेण्ट मेगा, एनआईसी एसिया र कुमारी बैंकसँग छ ।

राष्ट्रिय बाणिज्य बैंकसमेत जोड्दा यी ६ बैंकले मात्रै बाणिज्य बैंकहरुमा जम्मा भएको कुल निक्षेपको ४३ प्रतिशतभन्दा धेरै हिस्सा ओगट्छन् ।

गत पुस मसान्तमा बाणिज्य बैंकहरुको निक्षेप (रू. हजारमा)

तर कतिपय बैंकर भने ठूला बैंकहरु समस्यामा परे भने हजारौं नागरिकको निक्षेपको सुरक्षा गर्ने भनिएको सरकारी संस्था ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’ नै टाट पल्टिन सक्ने बताउन थालेका छन् । यदी ती बैंकरहरुले अनुमान गरेजस्तो सुरक्षण कोष नै टाट पल्टियो भने फेरि जनताको पैसाको रक्षा हुन सक्छ त ? यो गहन प्रश्न भएर आएको एक बैंकर बताउँछन् ।

सुरक्षण कोष टाट पल्टिन सक्छ ?

गत पुस मसान्तसम्म निक्षेप तथा कर्जा सुरक्षण कोषको कुल सम्पत्ती २६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ पुगेको छ । तर उसले यही सम्पत्तीको बलमा १३ खर्ब ८४ अर्ब निक्षेप र २ खर्ब ८८ अर्ब ५७ करोडभन्दा बढी कर्जा सुरक्षण गरिसकेको छ ।

यसको मतलव कोषले आफ्नो कुल सम्पत्तीको करीब ६४ गुणा दायित्वको भारी बोकिसकेको छ । यो दायित्व क्रमशः बढ्दै जाने अवस्था छ । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे भन्छन्, ‘हामीसँग सुरक्षणको अनुपातमा पर्याप्त सम्पत्ती नभएको सत्य हो, हामी सम्पत्ती बढाउने प्रयास गरिरहेका छौं ।’

वित्तीय संस्थाहरुको निक्षेप सुरक्षणको अवस्था

घिमिरेले कम्तिमा निक्षेप सुरक्षण रकमको ५ प्रतिशबराबर सम्पत्ती हुनुपर्ने अन्तरराष्ट्रिय सामान्य अभ्यास भए पनि यहाँ त्यस्तो नभएको बताए । उक्त कोषसँग सुरक्षण गरिएको निक्षेपको १.९ प्रतिशत र कर्जासमेत गणना गर्दा १.५ प्रतिशतमात्रै सम्पत्ती छ ।

त्यसमा पनि सुरक्षण गरिएको कर्जामध्ये २ खर्ब १७ अर्बभन्दा बढी रकम लघुवित्त तथा विपन्न वर्ग कर्जा छ । अहिले लघुवित्तमा समस्या बढ्दै जाँदा कोषमा दाबीहर पर्न थलेका छन् । आँकडाहरुका अनुसार यदी लघुवित्तमा मात्रै कुल १२ प्रतिशतभन्दा बढी कर्जा उठेन र त्यो दाबी सुरक्षण कोषले तिर्नु पर्यो भने कोष टाट पल्टिन सक्ने हालतमा छ ।

तर सीईओ घिमिरे त्यस्तो अवस्था सिर्जना हुने ‘कुनै सम्भावना नरहेको’ बताउँछन् ।

‘नेपालको तरलता व्यवस्थापन शैली र धितोमा आधारिक कर्जा प्रणालीले बैंक तथा वित्तीय संस्थाहरु डुबेर ठूलो वित्तीय भार कोषले उठाउनु पर्ने अवस्था नै आउँदैन’ उनले भने, ‘यदी कुनै दिन त्यस्तो परिस्थिति बनिहालेछ भने पनि हामीले राष्ट्र बैंकसँग सुरक्षणको दायित्व भुक्तानी गर्न पैसा उपलब्ध गराउने सम्झौता पहिले नै गरेका छौं ।’

निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे ।

उक्त सम्झौताले भविष्यमा जस्तोसुकै अवस्थामा पनि केन्द्रिय बैंक र सरकारले कोषलाई पैसा उपलब्ध गराउने भएकाले कोष ‘टाट पल्टिने’ संभावना नरहेको घिमिरेले बताए । उनले कुनै एक वा बढी संख्यामा बैंक डुबिहाल्यो भने सुरक्षण बराबरको निक्षेप रकम तुरुन्त दिनसक्ने अवस्थामा आफूहरु भएको दाबी गरे ।

‘हामी त अझै निक्षेपकर्ताको पैसा फिर्ता गर्नमा सुरक्षणभन्दा बढी रकम दिनु पर्यो भने पनि तयार छौं’ उनले भने, ‘सुरुमा पैसा दिइहाल्ने, पछि हिसाब मिलान गर्ने पद्धतिमा काम हुन्छ ।’

९० प्रतिशत स्वामित्व अर्थमन्त्रालय र १० प्रतिशत स्वामित्व राष्ट्र बैंकसँग भएको यो कोषले असीमित दायित्व भुक्तानी गर्ने प्रत्याभूति केन्द्रिय बैंकसँग लिएको तर्कका आधारमा भनिरहेको छ, ‘कुनै बैंक डुबेछ भने पनि जम्मा गरेको पैसा डुब्दैन, ढुक्क हुनुस् ।’


प्रतिक्रिया दिनुहोस्