नयाँ व्यवसाय बढाउन नेपाल लाइफलाई नेशनलले उछिन्यो, एशियन र आइएमई पनि तगडा « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

नयाँ व्यवसाय बढाउन नेपाल लाइफलाई नेशनलले उछिन्यो, एशियन र आइएमई पनि तगडा



काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) सामान्य बढेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चैत मसान्तसम्ममा कम्पनीहरुले २१ अर्ब ४६ करोड २७ लाख ८९ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । जुन, गत आवको सोही अवधिको तुलनामा भने २.१७ प्रतिशत बढी हो । गत आवको ९ महिनामा पनि कम्पनीहरुले २१ अर्ब ५२ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका थिए ।

समिक्षा अवधिमा अधिकांश कम्पनीहरुको नयाँ व्यवसायमा गिरावट आएको छ । आर्थिक शिथिलता अझै पनि कायमै रहेकाले कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार आउन सकेको छैन ।

हाल संचालनमा रहेकामध्ये ६ वटा बाहेकका अन्य कम्पनीको प्रथम बीमा शुल्क आर्जन घटेको हो । ९ महिनामामा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब १० अर्ब १६ करोड १६ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ५.१८ प्रतिशत मात्रै बढी हो । नयाँ व्यवसाय सामान्य बढेता पनि कम्पनीहरुले नविकरण मार्फत भने ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा ५.८४ प्रतिशत बढी हो ।

जीवन बीमा १ बर्षका लागि मात्रै नभएर बहुवर्षीय अवधिका लागि गरिन्छ । तर, त्यसको शुल्क भने वार्षिक रुपमा भुक्तानी गरिन्छ । त्यसअनुसार बीमा गर्ने व्यक्तिले पहिलो बर्ष तिर्नेलाई शुल्कलाई प्रथम बीमाशुल्कको रुपमा गणना गरिन्छ । त्यसपछिका वर्षहरुमा तिरिने शुल्कलाई भने नविकरणीय शुल्कमा गणना गरिन्छ ।

नयाँ व्यवसाय भित्र्याउन नेशनल लाइफ देखियो तगडा

नयाँ व्यवसाय बढाउन नेशन लाइफ इन्स्योरेनस तगडा देखिएको छ। गत वर्षको तुलनामा नेशनलले नयाँ व्यवसाय २३.२० प्रतिशत बढाएको छ । ९ महिनामा कम्पनीले ३ अर्ब २२ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तर, गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो बीमा शुल्क २ अर्ब ६२ करोड १३ लाख रुपैयाँ मात्रै रहेको थियो ।

नयाँ व्यवसायको आधारमा सबैभन्दा धेरै नेपाल लाइफको छ । समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । व्यवसाय वद्धिदरको आधारमा भने नेपाल लाइफलाई नेशनलले उछिनेको हो । गत वर्षको तुलनामा नेपाल लाइफको नयाँ व्यवसाय १८.४९ प्रतिशत बढेको छ ।

यस्तै, नयाँ व्यवसाय बढाउनेको तेस्रो सूचीमा रहेको एशियन लाइफले १ अर्ब २१ करोड २ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा भने यो १५.३६ प्रतिशत बढी हो । यता, आइएमई लाइफ पनि नयाँ व्यवसाय भित्र्याउन अगाडि नै देखिएको छ । समिक्षा अवधिको कम्पनीको प्रथम बीमा शुल्क आर्जन ७.३५ प्रतिशत बढेर १ अर्ब ३ करोड ३ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, मेट लाइफको नयाँ व्यवसाय ४.३२ प्रतिशत र सिटिजन लाइफको १.१० प्रतिशत बढेर क्रमशः ९३ करोड ९१ लाख रुपैयाँ र १ अर्ब २९ करोड १३ लाख रुपैयाँ कायम भएको छ । यी बाहेकका अन्य आठ वटा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा भने गिवरावट आएको छ ।

कम्पनीको नयाँ व्यवसाय कस्तो ?


प्रतिक्रिया दिनुहोस्