साढे ७ प्रतिशतमा आइपुग्यो बैङ्कहरूको आधार दर, सस्तो ब्याजमा कर्जा लिन कुन बैंक रोज्ने ? « Arthapath.com
१६ चैत्र २०८०, शुक्रबार

साढे ७ प्रतिशतमा आइपुग्यो बैङ्कहरूको आधार दर, सस्तो ब्याजमा कर्जा लिन कुन बैंक रोज्ने ?



काठमाडौं । बैङ्कहरूको आधार दर (बेस रेट) महिनैपिच्छे घट्न थालेको छ । बैङ्कहरूको आधार दर साढे ७ प्रतिशत बिन्दुको लाइनमा झरेको छ ।  

पछिल्लो समय बैङ्कहरूको ब्याजदर नै घट्दो ट्रेन्डमा छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर घटेको हो । आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । 

हाल बैङ्कहरूको औसत आधार एकल अङ्कमै झरेको छ । गत फागुनमा ९.३४१ प्रतिशत रहेको थियो । तर, चैतमा भने थप घटेर ९.०५१ प्रतिशत कायम भएको छ।  एक महिनामा बैङ्कहरूको आधार दर ३.१० प्रतिशत घटेको हो । बैङ्कहरूको आधार दरको तल्लो बिन्दु ७.५२ प्रतिशत छ  भने अधिकतम १०.०५ प्रतिशत मात्रै छ । 

हाल स्ट्यान्डर्ड बैङ्कको आधार दर सबैभन्दा कम ७.५२ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैङ्कको आधार दर पनि ७.६२ प्रतिशत कायम भएको छ । गत फागुनमा पनि यी दुई बैङ्कको आधार दर क्रमशः ७.५६ प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो । 

चैत महिनामा दुई बैङ्क कुमारी र प्राइम कमर्सियल बैङ्कको आधार दर मात्रै १० प्रतिशत बिन्दुमा भन्दा माथि छ । यी बाहेकका अन्य सबै बैङ्कहरूको भने एकल अर्थात् १० प्रतिशत भन्दा तल छ । यद्यपि, गत फागुनको तुलनामा भने घटेको नै हो ।

समग्रमा बैङ्कहरूको आधार दर १० प्रतिशत कम नै छ । बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।बैङ्कहरूको आधार दर अनुसार फरक–फरक हुनसक्छ । तर, अहिले बैङ्कहरूले सहज रूपमा एकल अङ्कको ब्याजदरमै ऋण लगानी गर्ने अवस्थामा देखिएका हुन् । बैङ्कबाट ऋण लिन चाहानेहरुले पनि आधार दर हेरेरै कर्जाका लागि बैङ्क छनोट गर्छन् । 

हाल एभरेष्ट बैङ्कको आधार दर ८.३९ प्रतिशत, नेपाल बैङ्कको ८.५७ प्रतिशत, नबिलको ८.६१, नेपाल इन्भेष्टमेन्ट मेगाको ८.८१, सानिमाको ८.९८, सिद्धार्थको ८.९८, प्रभुको ९.०६, ग्लोबल आइएमईको ९.०९, नेपाल एसबिआईको ९.११,  एनआईसी एशियाको ९.१३ प्रतिशत छ । यस्तै, माछापुच्छ्रेको ९.२६ प्रतिशत, कृषि विकास बैङ्कको ९.३६ प्रतिशत, एनएमबिको ९.४१, सिटिजन्सको ९.५८, लक्ष्मी सनराइजको ९.६४ प्रतिशत छ । 

कुनको आधार दर कति ?


प्रतिक्रिया दिनुहोस्