हिमालयनमा भएको हबिबको शेयर दुई महिनाभित्र ‘ट्रान्सफर’ हुने, यस्तो छ तयारी « Arthapath.com
२७ चैत्र २०८०, मंगलवार

हिमालयनमा भएको हबिबको शेयर दुई महिनाभित्र ‘ट्रान्सफर’ हुने, यस्तो छ तयारी



काठमाडौं । लामो समयदेखि हिमालयन बैंकमा रहेको आफ्नो स्वामित्व बेच्न तम्सिएको पाकिस्तानी बैंक हबिबले अब भने सेयर बेच्न सक्ने भएको छ । उक्त सेयर स्वामित्व हस्तान्तरणको प्रक्रिया सुरु भएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले जनाएका छन् ।

‘पहिले पनि स्वामित्व हस्तान्तरणको प्रयास भएको थियो, तर त्यसबेला प्रक्रिया मिलेको थिएन’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘अहिले प्रक्रिया मिलाएर अघि बढाइएको छ ।’ यसअघि गएको साउन १९ मा उक्त सेयर खरीदविक्री गर्ने सम्झौता भएको थियो ।

त्यस बेला हबिब बैंक र नेपालको हिमालयन रिइन्स्योरेन्सबीच यस्तो सम्झौता हुँदा राष्ट्र बैंकलाई औपचारिक प्रक्रियामा समेटिएको थिएन । ‘विजनेश डिल’को रुपमा भएको उक्त सम्झौताको विवरण हिमालयन बैंककै तर्फबाट केन्द्रिय बैंकलाई ‘जानकारी गराइएको’ थियो ।

त्यसरी ‘बाहिर बाहिरै सम्झौता’ गरेर राष्ट्र बैंकलाई ‘जानकारी’मात्रै गराएपछि केन्द्रिय बैंकले उक्त प्रक्रियामा असहमति जनाएको थियो । त्यसरी अघि सारिएको प्रक्रियालाई राष्ट्र बैंकले अस्वीकार गरेपछि नयाँ ढंगले प्रक्रिया अघि बढाइएको हो ।

पहिले के भएको थियो ?

गएको १४ मंसिरमा हिमालयन बैंकका सीईओ अशोक राणाले राष्ट्र बैंकलाई पत्र लेखेर उक्त सेयर खरीद प्रक्रिया अघि बढाउन कानुन अनुसारको स्वीकृति मागेका थिए । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुको नियमन गर्न बनाएको एकीकृत निर्देशनले यस प्रकारको विदेशी स्वामित्वको संस्थापक सेयर हस्तान्तरण गर्ने बारे विशेष व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अनुसार हक हस्तान्तरणको स्वीकृति दिन बैंकका सीईओ राणाले आग्रह गरे पनि राष्ट्र बैंकले भने नयाँ प्रक्रियामार्फत् अघि बढ्न भनेको थियो । त्यस बेलाको प्रक्रिया अनुसार स्वामित्व परिवर्तन गर्न नमिल्ने भनेर त्यसबेला राष्ट्र बैंकले स्वीकृति दिएन । बरु उल्टै उक्त सेयर खरीदविक्रीबारे आफू अनविज्ञ रहेको भनेर गभर्नर महाप्रसाद अधिकारीले संसदको अर्थ समितिलाई जानकारी गराएका थिए ।

अहिले के हुँदै छ ?

केन्द्रिय बैंकको निर्देशन पछि अहिले पुनः नयाँ प्रक्रियामा बैंकमार्फत् नै स्वामित्व हस्तान्तरणका फाइल उठाइएको छ । ‘राष्ट्र बैंकले थप कागजात र प्रमाण जुटाएर बैंकले नै प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ’, हिमालयन बैंकका सीईओ अशोक राणाले भने, ‘हामी अहिले त्यही काममा जुटेका छौं ।’

राष्ट्र बैंकले सबै संस्थापकले आफूहरु हबिबको सेयर किन्न अनिच्छुक रहेको र हिमालयन रिइन्स्योरेन्सले किन्दा आफूलाई कुनै आपत्ति नहुने विवरणमा हस्ताक्षर गर्न भनेको छ । यसबाहेक राष्ट्र बैंकले ‘अन्तिम हिताधिकारी’ अर्थात् सेयरधनी कम्पनीको वास्तविक मालिक को हो भन्ने छुट्टिने खालका प्रमाण पनि माग गरेको छ ।

संस्थापक परिवर्तन हुँदा सेयरधनीहरुको व्यक्तिगत पहिचान खुल्ने प्रमाणहरु पनि माग गरेको छ । यस्ता कयौं कागजातहरु जुटाउनु पर्ने र हिमालयन बैंकबाटै सेयर किनबेचको प्रक्रिया अघि बढाइनु पर्ने भएकाले सोचेभन्दा बढी समय लागेको राणाले बताए ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार अवको करीब २ महिनामा हिमालयनको सेयर किनबेच हुनसक्ने संभावना छ । ‘प्रक्रिया ठीक ढंगले अघि बढेको छ, अब चाँडै टुंगिन्छ भन्नेमा हामी विस्वस्त छौं’, ती अधिकारीले भने ।

के फरक पर्छ ?

अहिले आन्तरिक बजारभन्दा अन्तरराष्ट्रिय कारोबारलाई बढी ध्यान दिइरहेको हिमालयन रिइस्योरेन्स कम्पनीले बैंकको सेयर प्राप्त गरेमा हिमालयन बैंकमा सबैभन्दा ठूलो एकल सेयरधनी बन्ने छ । अहिले हबिबसँग कम्पनीको १२.९३ प्रतिशत स्वामित्व छ । यो अरु कुनै पनि व्यक्ति वा संस्थाको भन्दा बढी स्वामित्व हो ।

हबिबले हिमालयनमा भएको २ करोड ८० लाख १२ हजार ४४६ कित्ता सेयर प्रतिकित्ता १३० रुपैयाँको भाउमा बेच्ने सम्झौता गरेको छ । उक्त कम्पनीको सेयर गत आइतबार दोस्रो बजारमा १८४ रुपैयाँमा कारोबार भएको छ । तर संस्थापक सेयर भने योभन्दा सस्तो मूल्यमा कारोबार भएको देखिन्छ ।

अन्तिम पल्ट २०७० असोज ९ मा प्रतिकित्ता १२३ रुपैयाँ २० पैसामा कारोबार भएको देखिएको संस्थापक सेयर अहिले १३० मा किनबेच हुन लागेको हो ।

आइपीओको प्रिमियम नै काफी !

यसरी हेर्दा हबिबको स्वामित्वमा रहेको सेयर किन्न हिमालयन रिइन्स्योेरेन्सले ३ अर्ब ६४ करोड १६ लाख १७ हजार ९८० रुपैयाँ खर्च गर्नु पर्ने छ । जबकी कम्पनीले प्राथमिक सेयर निष्काशन गर्दा नै ठूलो मात्रामा नाफा आर्जन गरेको थियो ।

हिमालयन रिले गत मंसिरमा मात्रै प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम मूल्यमा ३ करोड कित्ता सेयर निष्काशन गरेको थियो । यस हिसाबले ३ अर्ब १८ करोड रुपैयाँ त प्रिमियम आइपीओबाटै उठ्ने रहेछ । बाँकी करीब ४५ करोडमात्रै अन्य स्रोतबाट पूर्ति गर्नु पर्ने अवस्था छ ।

यसको अर्को रमाइलो पक्ष चाहीँ पूँजीगत लाभकर हो । नेपाल सरकारले विदेशी लगानीकर्ताका लागि पूँजीगत लाभकरको दर २५ प्रतिशत तोकेको छ । यसरी ३ अर्ब ६४ करोडभन्दा बढीको स्वामित्व हस्तान्तरण गर्दा हबिबले नेपाल सरकारलाई लाभ कर तिर्नुपर्छ ।

अहिलेकै समझदारी अनुसार सेयर हस्तान्तरण गर्ने हो भने प्राथमिक चुक्ता मूल्य १०० रुपैयाँ घटाएर बाँकी ३० रुपैयाँ प्रतिकित्तामा लाभ कर लाग्छ । अर्थात् हबिबलाई नाफा भएको ठानिएको ३० रुपैयाँमध्ये एक चौथाई अर्थात् १२.५० रुपैयाँ सरकारलाई पूँजीगत लाभ कर तिर्नुपर्ने हुन्छ । यो ‘डिल’ पुरा भए सरकारले पाउने पूँजीगत लाभकर मात्रै २१ करोडभन्दा बढी हुने छ ।

हिमालयन बैंकमा अहिले पनि केवल १५ जना व्यक्ति तथा संस्थाले ६२.९२ प्रतिशत संस्थापक स्वामित्व धारण गरेका छन् । यसबाहेक उनीहरुले नै थप १.०३ प्रतिशत ‘पब्लिक सेयर’ उठाएका छन् । यसरी कुल चुक्ता पूँजीको ६३.९५ प्रतिशत स्वामित्व तिनै १५ जनासँग छ ।

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार गैरसंस्थापक सेयरधनीमध्ये एक जनाले ०.६१ प्रतिशत स्वामित्व किनेको देखिन्छ । अम्बिका शाह नामका ती लगानीकर्ताको समेत हिस्सेदारी जोड्ने हो भने ०.५ प्रतिशतभन्दा बढी स्वामित्व भएका १६ जना व्यक्ति तथा संस्थाले बैंकको ६४.५६ प्रतिशत सेयर लिएका छन् ।

हिमालयन बैंकले सहायक कम्नीहरुमा पनि ठूलै लगानी गरेको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई छाड्ने हो भने सर्वसाधारण नागरिकलाई सबैभन्दा कम अनुपातमा सेयर जारी गरेको कम्पनी नै हिमालयन बैंक हो । यसअघि तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर तोडेर सिभिल बैंकलाई प्राप्ती गरेको यो संस्थाको हालत सुध्रिसकेको छैन ।

तर उसले बैंक तथा वित्तीय संस्थासम्बन्धि कानुन अनुसार कुल ३० प्रतिशत स्वामित्व सर्वसाधारणलाई बेच्न वा सेयरको वर्ग (स्वामित्व) परिवर्तन गर्न आवस्यक छ । यस्तो संस्थाको सबैभन्दा ठूलो शेयरधनी बनेर हिमालयन रिइस्योरेन्स आएपछि उसले कसरी कम्पनीलाई अघि बढाउने प्रयास गर्ला भनेर पनि धेरैले यस ‘डिल’लाई सजगतापूर्वक हेरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्