महिनैपिच्छे सस्तिँदै बैंक ब्याजदर, कर्जाको ब्याजदर २.३१ प्रतिशत बिन्दुले घट्यो

काठमाडौं । बैंकहरुको कर्जाको ब्याजदर निरन्तर सस्तिँदै गएको छ । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याजदर २.३१ प्रतिशत बिन्दुले घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको बैशाखमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर औसत १२.६५ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही महिनामा भने यस्तो ब्याजदर १०.३४ प्रतिशत कायम भएको छ ।
बैंकहरुको कर्जाको ब्याजदर महिनैपिच्छे घटेको छ । गत चैत महिनामा पनि कर्जाको औसत ब्याजदर १०.५५ प्रतिशत रहेको थियो । चालु आवको सुरुवातदेखि नै कर्जाको ब्याजदर निरन्तर घट्दै आएको छ । गत साउनमा यस्तो ब्याजदर १२.२४ प्रतिशत रहेको थियो ।
यस्तै, भदौमा १२.२३ प्रतिशत, असोजमा १२.११ प्रतिशत, कात्तिकमा ११.९६, मंसिरमा ११.८५ प्रतिशत रहेको थियो । यस्तै, गत पुसमा ११.३९ प्रतिशत, माघमा ११.०८ प्रतिशत र फागुनमा ११.७८ प्रतिशत रहेको थियो ।
विशेषगरि बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ । जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ । बैशाख महिनामा बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.३५ प्रतिशत कायम भएको छ । एक वर्षको अवधिमा निक्षेपको ब्याजदर औसत १.७३ प्रतिशत बिन्दुले घटेको हो । गत वर्षको बैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.०८ प्रतिशत रहेको थियो । निक्षेपको ब्याजदर पनि महिनैपिच्छे घटेको छ । गत चैत महिनामा निक्षेपको ६.५३ प्रतिशत रहेको थियो ।
यस्तै, गत फागुनमा ६.७४ प्रतिशत, माघमा ७.०१ प्रतिशत, पुसमा ७.३२, मंसिरमा ७.६२ प्रतिशत, कात्तिकमा ७.७६ प्रतिशत, असोजमा ७.९० प्रतिशत, भदौमा ८.०६ प्रतिशत र साउनमा ८ प्रतिशत रहेको थियो ।
यसरी महिनैपिच्छे निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घटेको हो । यता, लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) पनि घट्दै गएको छ । एक वर्षको अवधिमा आधार दर पनि १.९३ प्रतिशत बिन्दुले घटेको छ । गत वर्षको बैशाखमा बैंकहरुको आधार दर १०.२७ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही महिनामा आइपुग्दा भने ८.३४ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार विकास बैंकको कर्जाको ब्याजदर ११.८९ प्रतिशत, वित्त कम्पनीको १३.११ प्रतिशत रहेको छ । बैशाखमा विकास बैंकको निक्षेपको औसत ब्याजदर ७.३१ प्रतिशत र वित्त कम्पनीको ८.५५ प्रतिशत कायम भएको छ। यस्तै, आधार दर भने क्रमशः १०.१५ प्रतिशत र ११.६१ प्रतिशत कायम भएको छ ।