स्टार्टअप वर्ल्ड कप नेपालका लागि द ब्रिटिस कलेज र क्यान महासंघबीच साझेदारी
काठमाडौं । द ब्रिटिस कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६ आयोजना गर्न रणनीतिक साझेदारी भएको छ। सम्झौताअनुसार क्यान महासंघले प्रतियोगिताको रणनीतिक आयोजक साझेदारको भूमिका निर्वाह गर्नेछ।
सम्झौतापत्रमा असार २२ गते द कन्डेल ग्रुप तथा द ब्रिटिस कलेजका समूह प्रमुख कार्यकारी अधिकृत राजेन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रालिका संस्थापक प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका हुन्।
साझेदारीमार्फत नेपालमा नवीन सोच भएका स्टार्टअपको पहिचान, प्रवर्द्धन र विश्वस्तरीय अवसरसँग जोड्ने उद्देश्य राखिएको दुवै संस्थाले जनाएका छन्।
सम्झौताअनुसार द ब्रिटिस कलेज र क्यान महासंघले संयुक्त रूपमा प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गर्ने, देशभर पहुँच विस्तार गर्ने, अनुभवी मार्गदर्शक तथा लगानीकर्तालाई सहभागी गराउने र राष्ट्रिय फाइनल प्रतियोगिता आयोजना गर्नेछन्। यसमार्फत नेपालका सम्भावनायुक्त स्टार्टअप छनोट गरी अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्य राखिएको छ।
द कन्डेल ग्रुप तथा द ब्रिटिस कलेजका समूह प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले नवप्रवर्तन र उद्यमशीलता नेपालको आर्थिक विकासका प्रमुख आधार भएको उल्लेख गर्दै यस साझेदारीले नेपाली स्टार्टअपलाई मार्गदर्शन, लगानी तथा अन्तर्राष्ट्रिय अवसर प्राप्त गर्न सशक्त मञ्च उपलब्ध गराउने बताए। उनले स्टार्टअप वर्ल्ड कप नेपालमार्फत नेपाली उद्यमीको क्षमता विश्वसामु प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।
क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालमा प्रविधि र नवप्रवर्तनको विकासमा महासंघ निरन्तर सक्रिय रहेको उल्लेख गर्दै द ब्रिटिस कलेजसँगको सहकार्यले स्टार्टअप समुदायबीच सहकार्य बढाउने, देशभर नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा उद्यमीलाई उद्योग, लगानीकर्ता र अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने अवसर सिर्जना गर्ने बताए।
विश्वव्यापी रूपमा पेगासस टेक भेन्चर्सले आयोजना गर्ने स्टार्टअप वर्ल्ड कप विश्वका सबैभन्दा ठूला स्टार्टअप प्रस्तुति प्रतियोगितामध्ये एक हो। यो प्रतियोगिता ६० भन्दा बढी देशमा १०० भन्दा बढी क्षेत्रीय चरणमार्फत सञ्चालन हुँदै आएको छ।
नेपाल च्याप्टरको विजेताले अमेरिकाको सिलिकन भ्यालीमा हुने विश्व फाइनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ। त्यहाँ प्रतियोगिताका सर्तअनुसार १० लाख अमेरिकी डलरसम्मको लगानी प्राप्त गर्ने सम्भावनाका लागि प्रतिस्पर्धा गर्न सकिनेछ।
दुवै संस्थाले यो साझेदारी नेपालमा नवप्रवर्तन, उद्यमशीलता र विश्वव्यापी सहकार्यलाई थप मजबुत बनाउने महत्वपूर्ण कदम भएको बताएका छन्।













