मौद्रिक नीतिकाे स्वागत गर्दै सिबिफिनद्वार कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता « Arthapath.com
२५ असार २०८३, बिहिबार

मौद्रिक नीतिकाे स्वागत गर्दै सिबिफिनद्वार कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई स्वागत गरेको छ। परिसंघले उक्त नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने उद्देश्यसहित सन्तुलित कार्यदिशा अवलम्बन गरेको जनाएको छ।

सिबिफिनका अनुसार यसपटकको मौद्रिक नीतिले विगतको परम्परागत ढाँचाबाट केही परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने विभिन्न नीतिगत व्यवस्था समेटेको छ।

परिसंघले रुग्ण उद्योगसँग सम्बन्धित निष्क्रिय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) तथा स्थायी तरलता सुविधा (एसएलएफ) यथावत् राख्ने निर्णयलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

यस्तै, बैंकका शाखा खोल्ने वा बन्द गर्ने प्रक्रियालाई थप लचिलो बनाउने, वित्तीय सेवाको डिजिटलाइजेसनमार्फत सञ्चालन खर्च घटाउन प्रोत्साहन गर्ने, विदेशी मुद्रा व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने तथा आवश्यकताअनुसार स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने व्यवस्था दूरदर्शी कदम भएको सिबिफिनको धारणा छ।

यद्यपि परिसंघले मौद्रिक नीति निर्माणका क्रममा आफूले दिएका केही महत्वपूर्ण सुझाव भने यसपटक सम्बोधन नभएको जनाएको छ। जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी प्रबन्ध, पूँजी कोष पर्याप्ततासम्बन्धी नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमन सुधारका विषय आगामी एकीकृत निर्देशनमार्फत सम्बोधन हुने अपेक्षा सिबिफिनले व्यक्त गरेको छ।

नेपालको वर्तमान आर्थिक अवस्था, बैंकिङ क्षेत्रमा बढ्दो पूँजीगत दबाब, निष्क्रिय कर्जा व्यवस्थापन तथा निजी क्षेत्रतर्फ कर्जा प्रवाहलाई प्रभावकारी बनाउन आफ्ना सुझाव उपयोगी हुने विश्वास परिसंघले व्यक्त गरेको छ।

सिबिफिनले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई थप सबल, प्रतिस्पर्धी र सक्षम बनाउन तथा निजी क्षेत्रको पुनरुत्थान र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद, सहकार्य र आवश्यक सुझाव प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्