एनएमबीले एकसाथ दुई सीईओ र एक बरिष्ठ डेपुटी सीईओ नियुक्त गर्ने निर्णय किन गर्यो ?

काठमाडौं । एनएमबि बैंकले एकसाथ दुई सीएओ र एक बरिष्ठ डेपुटी सीईओ नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले यस प्रकारको नियुक्ति गरेको हो ।
बैंकका अनुसार अहिलेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीलाई अर्को ४० दिनको लागि तेस्रो कार्यकालको नियुक्ति दिइएको छ ।
आगामी ९ वैशाख २०८२ सम्मका लागि केहीले नियुक्ति सीईओको नियुक्ति पाएका छन् । त्यसपछि १० वैशाखबाट गोविन्द घिमिरेले उक्त पद सम्हाल्नेछ्न् ।
उता १० वैशाखबाटै सुदेश उपाध्याय बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)मा बढुवा हुने छन् । अबको डेढ महिनामा बढुवा हुने घिमिरे र उपाध्याय दुबै जना अहिले डेपुटी सीईओ हुन् ।
गत शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकको व्यवस्थापकीय नेतृत्व हस्तान्तरण गर्न लागेको हो । एनएमबीले आफ्नो बैंक भित्रैबाट नेतृत्व तयार पार्ने असाध्यै राम्रो अभ्यास गर्दै आएको छ । यस अघि पनि उपेन्द्र पौड्यालले लामो समय बैंकको नेतृत्व गरेर बाहिरिएपछि बैंक भित्रैबाट केसी सीईओ नियुक्त भएका थिए ।
तर केसी सीईओ बनेको डेढ महिना नबित्दै २०७४ वैशाख १० गते नयाँ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) कार्यान्वयनमा आयो । यो ऐनले २ कार्यकालभन्दा ज्यादा एकै व्यक्ति सीईओ नियुक्त हुन नसक्ने भनेको थियो ।
ऐनको यो व्यवस्थालाई कतिपय बैंकले ऐन कार्यान्वयनमा आइसके पछि पनि पुनः २ कार्यकाल काम गर्ने मौका दिएका छन् । तर एनएमबीले भने यो मितिबाट ठीक ८ वर्षमात्रै केसीलाई नेतृत्वमा राख्न चाहेको छ ।
बाँकी ४० दिनको समय दिएर बैंकभित्र नेतृत्व हस्तान्तरणलाई सहज र व्यवस्थित गर्ने कोसिस गरिएको बैंकका एक सञ्चालकले अर्थपथलाई बताए । यस्तो अभ्यासले बैंकको स्थायित्व, मौलिकताको रक्षा एवम् कर्मचारीबीच सद्भाव र समन्वय अभिबृद्धि गर्न सघाउने उनको तर्क छ ।