अशोकलाई असारसम्मको अल्टिमेटम, के हिमालयन बैंकमा सीईओ फेरिँदै छ ? « Arthapath.com
३ असार २०८३, बुधबार

अशोकलाई असारसम्मको अल्टिमेटम, के हिमालयन बैंकमा सीईओ फेरिँदै छ ?



काठमाडौँ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरालाई त्यहाँको सञ्चालक समितिले चालू आर्थिक वर्षको अन्त्यसम्ममा लाभांश वितरण गर्नसक्ने परिस्थिति सिर्जना नभएमा राजिनामा दिन ‘अल्टिमेटम’ दिएको खुलेको छ ।

एक जना सञ्चालकले अर्थपथलाई बताए अनुसार सीईओमाथि चर्को दबाब सिर्जना गरिएको हो । ‘असार सम्म हेरौँ, त्यसपछि पनि हालत सुध्रिएन भने हामी कसैलाई पनि छाड्दैनौँ भनेर भनिसकिएको छ’, ती सञ्चालकले भने, ‘सीईओमात्रै होइन, टप म्यानेजमेन्ट (व्यवस्थापनका शीर्ष तहमा रहेका कर्मचारी) प्रति पनि बोर्ड निर्मम हुने छ ।’

एनआईसी एसिया बैंकले आक्रामक रफ्तार समातेपछि त्यसैबाट प्रेरित भएर राणाले पनि हिमालयनलाई आक्रामक विस्तारकै रणनीतिमा लगेका थिए । तर अहिले एनआईसी एसियासँगै हिमालयन बैंक पनि अप्ठेरो वित्तीय हालतसँग जुधिरहेको छ ।

वास्तवमा अहिले हिमालयन बैंक सबैभन्दा खराब प्रदर्शन गर्ने वाणिज्य बैंकमध्येमा देखिएको ती सञ्चालकले बताएका छन् । त्यसैले व्यवस्थापन टोलीमाथि सञ्चालकहरुले नाफा र लाभांशको चर्को दबाब सिर्जना गरेको उनले बताए ।

केही ठूला निर्माण व्यवसायसम्बद्ध कर्जाहरु विग्रिएको र चार वर्षअघि आक्रामक रफ्तार समात्दा थपिएको कर्जामा गम्भीर समस्या देखिएको बैंकका अधिकारीहरु बताउँछन् । त्यसमाथि सिभिल बैंकलाई गाभेपछि त्यहाँ समस्यायुक्त कर्जाको मात्रा झनै बढेको बैंकका अधिकारीहरुको भनाइ छ ।

तर लामो समय लगानीकर्ताले यी बाध्यताहरु हेरेर बस्न नसक्ने सञ्चालकहरु बताउँछन् । उनीहरुले वर्तमान आर्थिक हालतबाट सिंगो बैंकिङ क्षेत्र प्रभावित भए पनि प्रतिस्पर्धी बैंकहरुले लाभांश क्षमता पूर्ण रुपमा नगुमाएको दलील सञ्चालकहरुले दिएका छन् ।

यता हिमालयन भने ठूलो मात्रामा धितो सकारेर त्यसलाई क्रमश: विक्री गर्ने कोसिस गरिरहेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वैशाखसम्मको आँकडा हेर्दा यो साल जम्मा २६ करोड १९ लाख हाराहारीमात्रै खराब कर्जाको असूली भएको देखिन्छ । तर बैंकले ‘इन्डस्ट्री’कै सबैभन्दा धेरै ६ अर्ब ५ करोड ७५ लाख बराबरको गैरबैंकिङ सम्पत्ति थुपारेर बसेको छ ।

दोस्रो स्थानमा रहेको ग्लोबल आईएमईको ५ अर्ब ९० करोडभन्दा हिमालयनको गैरबैंकिङ सम्पत्ति १६ करोड ज्यादा छ । जबकी यी दुई बैंकको कारोबारको आकारमा ठूलो अन्तर देखिन्छ ।

जबकी, हिमालयनको कुल कर्जाको आकार २ खर्ब ६० अर्ब हाराहारी छ भने ग्लोबलको ४ खर्ब ७७ अर्बभन्दा ज्यादा छ । साथै, हिमालयनको निष्कृय कर्जा लगातार बढोत्तरी भइरहेको छ । गत चैत मसान्तमा प्रकाशित बैंकको तेस्रो त्रैमासिक प्रतिवेदनले निष्कृय कर्जाको दर ७.९८ प्रतिशत पुगेको उल्लेख गरेको छ ।

गएको आर्थिक वर्ष (असार मसान्त)मा उसको कुल निष्कृय कर्जा ७.२८ प्रतिशत पुगेको थियो । त्यतिबेला वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड ऋणात्मक भएको थियो । खराब कर्जामा भएको बढोत्तरीले यो बैंकको वित्तीय स्वास्थ्य तत्काल सुध्रिन कठीन हुने देखिएको छ ।

उसले आफ्नो नाममा ल्याएर राखेको गैर बैंकिङ सम्पत्ती बेच्ने र निष्कृय कर्जालाई उठाउनतिर ध्यान दिएन भने सञ्चालकहरुले भनेजस्तो ‘लाभांश बाँड्ने स्थिति’ हासिल हुन मुस्किल छ ।

सीईओको बुझाइ

हुन त, सीईओ राणा आफैँ पनि त्यो बैंकको व्यवस्थापनकीय नेतृत्व अब ज्यादा लामो समय आफ्नो हातमा राखिरहन चाहँदैनन् । उनी २०६५ सालको वैशाखदेखि नै बैंकको सीईओ छन् । अन्तिम पल्ट २०८० चैत २७ गतेको सञ्चालक समितिले उनलाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको थियो, जुन २०८१ वैशाख ९ देखि लागू भयो ।

यस आधारमा उनी २०८५ वैशाख ८ मा अनिवार्य रुपमा बैंकबाट अवकाश पाउनेवाला छन्, किनकी, वर्तमान बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले अब उनलाई कार्यकाल थप्न दिँदैन ।

यद्यपि, अर्थपथसँग केही समयअघिको भेटमा उनी स्वयंले पनि यो कार्यकाल पुरा गर्न आफू अनिच्छुक रहेको बताएका थिए । ‘ज्यादै लामो समय भयो । इन्डस्ट्रिमा नयाँ मान्छेहरु आइसके । अब मैले रेस्ट लिनुपर्छ भन्ने सोचेको छु’, उनले भनेका थिए ।

उनको इच्छा पनि बैंकले पछिल्ला केही वर्षमा भोगेको खराब हालतबाट सहज अवरण गराएर बाहिर निस्कने नै भएको अर्थपथसँग बताएका थिए । ‘पछिल्ला केही वर्षमा देशको समग्र आर्थिक स्थितिले हामीलाई पनि अप्ठेरो परिस्थितिमा पुर्याएको छ । त्यसैले यो समस्याबाट बाहिर आउने बाटो स्पष्ट भएपछि म अवकाश लिन्छु’ उनले भनेका थिए ।

हुन पनि अहिले ८ प्रतिशतको नजिक निष्कृय कर्जा पुर्याएको र लगातार ३ वर्षदेखि लाभांश दिन नसकेको यो बैंकको इतिहास सधैँ यस्तै भने थिएन । अशोकले नै कमाण्ड सम्हालेका वर्षहरुमा बैंकले आकर्षक लाभांश दिँदै आएको थियो ।

पछिल्लो पल्ट आर्थिक वर्ष २०७८/७९ को नाफाबाट उनले ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश दिएका थिए । वर्ष २०७५/७६ को नाफाबाछट पनि यो कम्पनीले १० प्रतिशत बोनस शेयरसहित कुल २२ प्रतिशत लाभांश दिएको थियो ।

अझ अगाडी गएर हेर्ने हो भने भूकम्प गएको साल २०७२ मा त उसले ३५ प्रतिशत बोनस शेयर दिएको थियो । उक्त पूँजीकरण समायोजन गरिसकेपछि पनि ७:१ अनुपातमा हकप्रद शेयर पनि बेचेको थियो । यसरी लगानीकर्ताहरुका लागि यो एउटा ‘ब्लू–चिप’ कम्पनी बनिरहेको थियो ।

तर हालैका वर्षहरु आव. २०७९/८०, २०८०/८१ र २०८१/८२ मा भने बैंकले लाभांश बाँड्ने गरी नाफा आर्जन गर्नै सकेन । त्यसपछि बैंकका मालिकहरु अब उनलाई हटाउनु पर्छ भन्ने बुझाइमा पुगेका छन् ।

पछिल्ला वर्षमा नबिल बैंकले ‘होम–ग्रोन’ कर्मचारीलाई नै बैंकको नेतृत्व सुम्पिने आफ्नो दशकौँको प्रबृत्तिलाई त्याग्दै बजारबाट ‘फ्रेस ब्रेन’ भित्र्यायो । यसबाट उसले अपेक्षित लाभ हासिल गरेको बुझाई हिमालयनका सञ्चालकहरुमा देखिएको छ ।

त्यसैले अब उनीहरु पनि बाहिरी बजारबाट मान्छे खोजेर ‘टीम सहित’ नयाँ सीईओ भित्र्याउने रणनीतिमा देखिएका छन् । अहिले हिमालयनमा दुई जना डेपुटी सीईओको पद रिक्त हुँदासमेत त्यहाँ कसैलाई नियुक्त नगरी राख्नुको पछाडी नयाँ आउने सीईओले आफ्नो टीम आफैँ बनाओस् भन्ने मान्यता भएको ती सञ्चालकले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्