‘सहकारी र लघुवित्तमा पहिले विध्वंश हुनुपर्छ, त्यसपछि बन्छ नयाँ नेपाल’ नरबहादुर थापाको खरो टिप्पणी « Arthapath.com
१ मंसिर २०८०, शुक्रबार

‘सहकारी र लघुवित्तमा पहिले विध्वंश हुनुपर्छ, त्यसपछि बन्छ नयाँ नेपाल’ नरबहादुर थापाको खरो टिप्पणी



डेढ–दुई वर्षदेखि नेपालको घरेलु अर्थतन्त्रमा केही समस्या देखिएका छन् । मूलतः यसको भुक्तानी चक्रमा अवरोध सिर्जना भएको छ । व्यावसायिक जगतको तल्लो तप्का अर्थात् खुद्रा पसलहरुबाटै भुक्तानीमा अवरोध उत्पन्न भएको छ । त्यसको असर माथिमाथि सर्दै सिंगो वित्तीय प्रणाली र अर्थतन्त्रमै परेको छ ।

यस किसिमको समस्या आउनुमा केही ठोस कारणहरु छन् । तर अर्थतन्त्रको गतिशीलतामा अवरोध ल्याउने मूलभूत पक्षहरुमध्ये शीर्षस्थ क्षेत्र सहकारी र लघुवित्त हुन् । अहिले देखिएको समस्याको जरो पनि लघुवित्तबाटै समस्या उत्पन्न भयो र त्यो मिटरब्याज एवम् सहकारीहुँदै झाँगिन पुग्यो ।

हामीले देशभरका गरिबहरुसम्म औपचारिक वित्तीय पहूँच पुर्याउने र उनीहरुलाई आत्मसम्मान सहितको उद्यमशीलतामा अग्रसर गराउने भनेर लघुवित्तको प्रबर्द्धन गर्न थालेका थियौं । अहिले त्यही लघुवित्त क्षेत्रमा समस्या पर्यो । जहाँ ६० लाख मानिसहरु आबद्ध छन् । सहरकारी संस्थाहरुको संयन्त्र त्योभन्दा पनि ठूलो छ । त्यहाँ ७४ लाख मानिसहरु आबद्ध छन् ।

यस किसिमको समस्या उत्पन्न हुनुमा धेरै कारणहरु छैनन । त्यसै हुनाले विगतलाई कोट्याएर धेरै घोत्लिनु पर्ने आवस्यकता पनि छैन । त्यस्ता संस्थगाहरुले न्यूनतम विवेकशील नियमनको परिपालना नगरेर गलत काम गर्दाको परिणाम नै आजको वित्तीय सुस्सता उत्पन्न भएको हो ।

नरबहादुर थापा
पूर्व कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

समाधानको उल्टो बाटो

राष्ट्रिय जनसंख्याको विशाल हिस्सा ओगट्ने यी दुई वित्तीय क्षेत्रमा देखिएको समस्याको निराकरण कसरी गर्ने भन्नेमा राज्यले ध्यान दिएको देखिँदैन । यस मुद्दालाई राज्यले, जनताले, नागरिक समाजले कसरी हेरिरहेको छ त ? अहिले उनीहरुको दृष्टिमा यी समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरुले आम बचतकर्ताको पैसा लिए । त्यो पैसा मूलतः जग्गा र त्यसको खण्डिकरण (घडेरी)मा लगानी गरे ।

जग्गाको मूल्य बढ्दै जाँदा नगद प्रवाह त्यो अनुरुप बढ्न सकेन र एक विन्दुमा पुगेर जग्गाको कारोबार रोकिएपछि सारा पैसा फस्यो भन्ने आम धारणा बनेको छ । ४–५ खर्ब रुपैयाँ पैसा यसरी फसेको अवस्थामा अव त्यसलाई उत्थान गर्ने हो भने तिनै कुकर्म गर्ने मानिसहरुलाई जोगाउनु पर्छ भनेर गलत भाष्य निर्माण गरिँदै छ ।

विगतमा गलत काम गरेर सिंगो वित्तीय प्रणाली र अर्थतन्त्रलाई धरासायी बनाउने व्यक्तिहरुकै वित्तीय विवरणमा सुधार ल्यायो भने सहकारी संस्थाहरु बच्छन् भनेर तर्क गरिँदै छ । त्यसरी अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सकिन्छ भन्ने भाष्य निर्माण गरिँदै छ, जुन विल्कुल गलत हो ।

यस किसिमको ‘चोरलाई चौतारो’ दिने नीतिले हामीलाई कुनै असल गन्तव्यमा पुर्याउँदैन । जग्गाको मूल्य बढाएर स्रोतको दुरुपयोग गर्नेहरुलाई नै संरक्षण दिने नीतिले अर्थतन्त्रलाई गतिशील बनाउँदैन । यसले त झन् ठूलो भड्खालोमा पार्छ ।

गलत कामलाई संरक्षण गरेर नीति बनाउँदै जाने हो भने अर्थतन्त्रलाई दिगो र गतिशील बनाउन सकिँदैन । अहिले केही सीमित व्यक्तिहरु, जसलाई हामी सञ्चालक भन्छौं, उनीहरुले वित्तीय स्रोतको दुरुपयोग गरे । उनीहरुले गलत काम गरे । त्यही कारण अहिले हाम्रो प्रणालीमै समस्या भएको छ । यदी यो तथ्यमा हामी सहमत छौं भने त्यस प्रकारको समस्यालाई चिर्ने उपाय भनेकै दोस्रो नियामकको स्थापना हो ।

यसका लागि हामीले बलियो नियामक संयन्त्र बनाउनु पर्छ । त्यस नियामकले अवदेखि सहकारी वा लघुवित्तका मुख्य प्रबर्द्धक र सञ्चालक एवम् प्रशासकीय प्रमुखलाई त्यस किसिमले वित्तीय स्रोतको दुरुपयोग गर्न नसक्ने गरी कानुनी व्यवस्था अघि सार्नु पर्छ । ती कानुनी प्रबन्धहरुको प्रभावकारी परिपालना गराउने जिम्मेवारी पनि सोही नियामकले लिनुपर्छ ।

सहकारीमा सबै बचतकर्तालाई समान रुपले हेरिन्छ । सबै सेयर सदस्यहरुको भोटको मूल्य समान हुन्छ । यही मान्यतालाई परिपालना गर्ने र गराउने गरी ‘उच्चस्तरीय नियामक संयन्त्र खडा गर्छौं’ भनेर सरकार त्यसतर्फ अघि बढ्नु आवस्यक छ । नियमन र स्वनियमनको पालना गराउन संस्थाहरुलाई प्रतिबद्ध पार्ने र आम नागरिक एवम् बचतकर्तालाई पनि त्यस कुरामा विस्वस्त पार्नु आवस्यक छ ।

‘सबै सहकारी संस्था स्वनियमनमा बस्नुपर्छ । यदी बसेनन् भने दण्डित हुनु पर्छ’ भन्ने कुनै दर्बिलो निकाय अत्यावस्यक देखिएको छ । अहिले सहकारी अभियान्ताहरु ‘हामी स्वनियममा बस्ने हो’ भन्छन् । तर स्वनियममा कोही पनि बसिरहेका छैनन । गलत काम भइरहेको छ । यसरी गलत काम गर्नेहरु यो मुलुकमा दण्डित हुनु पर्दैन ?

पहिले विध्वंश, त्यसपछि नवनिर्माण

गलत काम गर्नेहरुको विध्वंश पहिले हुनुपर्छ । विध्वंश नभई कहिल्यै पनि नवनिर्माण हुँदैन । हामीले घर बनाउन पनि खेत खनेर घँडेरी बनाउनु पर्छ । त्यसैले सहकारीहरुमा जो जसले खराब काम गरे, उनीहरु शुरुमा विध्वंश हुनु पर्छ । लघुवित्तमा जस–जसले नराम्रो काम गरे, उनीहरुको पत्ता–साफ हुनुपर्छ ।

त्यसपछि नयाँ पुस्ताले नेतृत्व पाउने ढोका खुल्छ । नयाँ उद्यमीले कर्जा पाउँन थाल्छन् । नयाँ उद्यम र नयाँ उद्यमी जन्मिन्छन् । अर्थतन्त्रमा नयाँ धारबाट गतिशीलताको शुरुवात हुन्छ ।


प्रतिक्रिया दिनुहोस्