६२.२५ प्रतिशत घट्यो नेरुडे लघुवित्तको नाफा, वितरणयोग्य नाफा पनि ऋणात्मक, इपिएस कति ? « Arthapath.com
२४ माघ २०८०, बुधबार

६२.२५ प्रतिशत घट्यो नेरुडे लघुवित्तको नाफा, वितरणयोग्य नाफा पनि ऋणात्मक, इपिएस कति ?



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ६२.२५ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि सामान्य घटेको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २४ करोड २५ लाख ३८ हजार रुपैयाँ रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा पनि कम्पनीको ब्याज आम्दानी २४ करोड ४६ लाख बढी थियो ।

सो अवधिमा कम्पनीको संचालन नाफा पनि ६१.९६ प्रतिशत घटेर ३ करोड ५४ लाख रुपैयाँ कायम भएको छ । यता, कम्पनीको वितरणयोग्य नाफा पनि ५ करोड १९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीको खराब कर्जा पनि दोब्बर बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा ४.८९ प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा भने ८.८३ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । कम्पनीको यस्तो आम्दानी २१ रुपैयाँ ९१ पैसाबाट घटेर ६ रुपैयाँ ७८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १८१ रुपैयाँ ३८ पैसा छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७३ करोड २० लाख रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा भने ५९ करोड ५६ लाख रुपैयाँ छ ।
समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन ११ प्रतिशत बढेर ९ अर्ब २४ करोड १० लाख रुपैयाँ पुगेको छ । यता, कर्जा लगानी पनि ८.४६ प्रतिशत बढेर १० अर्ब ९२ करोड ५ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्