डेपुटी गभर्नर शिवाकोटीको कार्यकाल फागुनमा सकिदैँ, ६० बर्षसम्म काम गर्ने भनेर जागिर खाएको हुँ  « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

डेपुटी गभर्नर शिवाकोटीको कार्यकाल फागुनमा सकिदैँ, ६० बर्षसम्म काम गर्ने भनेर जागिर खाएको हुँ 



काठमाडौं । लामो समयदेखि बैंकिङ अनुभव संगालेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको कार्यकाल आगामी फागुनमा सकिदैँ छ । वि.स. २०४४ सालमा राष्ट्र बैंकको प्रमुख सहायक पदबाट करियर सुरु गरेका सिवाकोटी २०७२ साल फागुन १९ मा डेपुटी गभर्नर बनेका थिए । २०७२ भदौमा कार्यकारी निर्देशकमा बढुवा भएका उनलाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । सिवकोटी अमेरिकाको साउदर्न न्यू हेम्पासायर युनिभर्सिटीबाट वित्तीय व्यवस्थापनमा स्नातकोत्तर हुन् ।

गत चैत ५ गते बुधबारदेखि तत्कालिन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि केहि समय नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाएका थिए । नयाँ गभर्नर नियुक्ती नहुने बेलासम्मका लागि अर्थमन्त्रालयले शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी दिएको थियो ।

तर, उनले पनि राष्ट्र बैंकको गभर्नरका लागि दावि गरेका थिए । सरकारले राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि शिवाकोटी सिनियर डेपुटी गभर्नर बनेका छन् । शिवाकोटीको ५ बर्षे कार्यकाल आगामी फागुन महिनामा सकिने भएको छ । यसै सम्वन्धि अर्थपथ डटकमले गरेको कुराकानीको अंशः

सिनियर डेपुटि गभर्नरको ५ बर्षे कार्यकाल कसरी वित्यो ?

अलिकति एक्टिभ भएर वित्यो । किनभने डेपुटी गभर्नरमा नै आएर फाइलहरु तुरिने जस्तो सिस्टम छ, राष्ट्र बैंकमा । डेपुटी गभर्नरको कार्यभार अत्यन्त लाडेड छ । अत्यधिक कामहरु डेपुटी गभर्नरमा आइपुग्नुपर्ने गर्छन । त्यसले गर्दा त्यो भ्याइनभ्याई सकस पुर्ण हुन्छ । कमिटिहरु धेरै छन् । मन्त्रालयमा, राष्ट्र बैंकमा बोर्ड मेम्बरहरुको अध्यक्षतमा हुने, डेपुटी गभर्नरको अध्यक्षतमा हुने थुप्रै कमिटिहरुको त्यो भ्याउनुपर्ने हुन्छ । एउटा डेपुटी गभर्नर अनुपस्थित हुँदा अर्को डेपुटी गभर्नरले सम्पूर्ण जिम्मेवारी बहन गर्नुपर्छ । एउटा डेपुटी गभर्नर विदेश जाँदा, विदा बस्नुपर्यो भने अर्कोले सम्हाल्नुपर्यो । मेरै कार्यकालको सन्दर्भमा भन्नुहुन्छ भने विचमा अर्को डेपुटी गभर्नरको ३ महिनासम्मको निलम्वनको अवस्था पनि रह्यो । त्यो अवस्थामा पनि मैले सम्पूर्ण कामको जिम्मेवारी लिनुपर्ने अवस्था आयो । त्यो अवस्थामा तत्कालिन गभर्नर दुइचोटी विदेश पनि जानुभयो त्यो तीन महिनाको विचमा मैले थ्री इन वानको जिम्मेवारी लिएर पनि काम गर्नुपर्यो । अत्यन्तै हेर्टिक रुपमा वित्यो । यो पाँच बर्षे कार्यकालमा राष्ट्र बैंक र सम्पूर्ण बैंकिङ सिस्टमको अंग प्रतिअंगको बारेमा जानकारी वा अनुभव गर्ने अवसर मलाइ मिल्यो ।

नयाँ गभर्नरसंग पनि करिव ८ महिना काम गर्नुभयो, पुरानो गभर्नरसंग पनि काम गर्नुभयो, लाइनिङ मिल्दा र नमिल्दा केहि फरक पाउनुभयो ?

त्यस्तो लाइन मिल्ने र नमिल्ने भन्ने हुँदैन । सबै नियम र सिस्टमले चल्ने हो । हामीहरुकोमा कुनै कन्फीलिक्ट भन्ने खासै हुँदैन । भयो भने हामी शुरुमा नै छलफल गर्छौ । छलफल गर्दा बैंकको धारणा यो हो, यो ढंगले जानुपर्छ भन्ने भइसकेपछि हामी त्यहि ढंगले जान्छौ । त्यो पूर्व गभर्नर हुँदा र अहिलेको गभर्नर हुँदा पनि त्यसैगरि नै जाने गरेका थियौं । राष्ट्र बैंंकको निती र सरकारको निती कार्यान्वयन गर्नुपर्ने कुरा हो । त्यसले गर्दा यो लाइन मिल्ने नमिल्ने हुँदैन । यहाँ हामीले प्रोफेशनल काम गर्ने हो कुनै राजनीतिक पार्टीको लाइनमा काम गर्ने ठाउँ राष्ट्र बैंक होइन ।

तीन महिनापछि राष्ट्र बैंकबाट बाहिरिदै हुनुहुन्छ, बाहिरिएपछि तपाँई एउटा साहित्यकार, गीतकार, लेखक मान्छे फेरि जागिरमा नै जानुहुन्छ की अव अन्य तिर जानुहुन्छ ?

हाम्रो नेपालमा म यहि गर्छु, म यसैमा हुन्छु, भन्ने कुरा ९५ प्रतिशत मानिसको लाग्दैन । अब फर्दर रिटायरमेण्ट भएपछि के गर्नुहुन्छ भन्ने प्रश्नमा म भर्खर ५४–५५ बर्षको हुँदै छु । अब ६० बर्षसम्म त काम गर्न पाउने भनेर जागिर खाएको हो । ६० बर्षसम्म हामी उर्जावान नै हुन्छौ । मेरो केहि एक्सपोर्टिजको सन्दर्भमा यदि राज्यका कुनै निकायलाइ आवश्यकता परेछ भने, यदि राज्यले सम्झिन्छ भने म सेवा गर्न तयार नै छु । यदि त्यो अवसर आएन भने एउटा साहित्यीक, गीत रचना लगायत धेरै कुरामा म संलग्न हुन सक्छु । त्यसैले म आफ्नो फिल्ड आफै बनाउछु । मैले त्यहाँ १० टू ५ नै जागिर गर्नुपर्छ भन्ने छैन । म केहि न केहि कामहरु गरेर आफ्नो दिनचर्यालाई एक्टिभ बनाउछु ।

तपाँई बीमा समितिको अध्यक्ष बन्ने कुरा उठेको छ नि ?

मैले त्यो केहि पनि सुनेको छैन । लगानी बोर्डमा जाने भो पनि भने । कहाँ–कहाँ खालि हुन्छ त्यहाँ फलानो जान्छ भनेर केहि समय भन्छन् । मैले त्यो कुनै किसिमको सोच बनाएको पनि छैन । मैले कहि गएर निवेदन हाल्ने वाला पनि छैन । यदि सरकारले जिम्मेवारी दियो भने म पुरा गर्छु । किनभने म हिजो उच्च शिक्षा अध्ययनको क्रममा मलाइ राज्यले अमेरिका पठाएको थियो । म त्यहाँ अमेरिका पढ्दा पढ्दै मेरो बच्चा पनि त्यहि जन्मेको थियो । मेरो सबै परिवार त्यहाँ हुदा हुदै पनि मैले त्यहा बस्न चाहिन । किनभने मलाइ अमेरिकामा बस्ने प्रयाप्त अवसरहरु हुदा हुँदै पनि बस्न चाहिन । म विदेशिएर पलायन भएर कमाउने भन्दा पनि राज्यमा बसेर नै केहि काम गर्न सकियोस भन्ने मेरो सोच हो । म आगामी दिनमा पनि त्यसरी पलायन हुँदैन । राज्यमा बसेर नै केहि काम गर्ने हो । कुनै न कुनै काम गरेर यहि बस्छु ।


प्रतिक्रिया दिनुहोस्