मौद्रिक नीति आइतबार जारी गर्ने राष्ट्र बैंकको तयारी, अर्थमन्त्रीले दिए ‘ग्रीन सिग्नल’ « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

मौद्रिक नीति आइतबार जारी गर्ने राष्ट्र बैंकको तयारी, अर्थमन्त्रीले दिए ‘ग्रीन सिग्नल’



काठमाडौं । नयाँ आर्थिक वर्षको मौद्रिक नीति जारी गर्न राष्ट्र बैंकले ढिलाइ गरिरहँदा आलोचना बढेपछि आगामी आइतबार मौद्रिक नीति जारी गर्ने तयारी राष्ट्र बैंकले थालेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत बुधबार नै संसदको अर्थ समितिलाई आइतबारसम्म मौद्रिक नीति जारी गर्ने जानकारी गराएका थिए ।

असार मसान्तमा सरकार फेरिएपछि केन्द्रिय बैंक अन्योलमा परेको थियो । नयाँ सरकारले बजेटमा संशेधन गर्ने तयारी थालेपछि राष्ट्र बैंक पनि मौद्रिक नीति तयार पारेर ‘पर्खिरहेको’ छ । नयाँ सरकारले ल्याउने बजेटको आकार र कार्यदिशा हेरेर मौद्रिक नीति जारी गर्ने गभर्नर अधिकारीले संसदीय समितिलाई जानकारी गराएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई केही सुझावसहित बजेट अनुमोदन हुने समयसम्म पर्खन भनेका थिए । तर बजेट अनुमोदन हुन र प्रतिस्थापन विधेयक ल्याउन समय लाग्ने भएपछि मौद्रिक नीति रोकिराख्नु अस्वभाविक हुने भन्दै शर्माले मौद्रिक नीति जारी गर्न राष्ट्र बैंकलाई सहमति दिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्