बैंकहरुको ‘लोन लस प्रोभिजन’ रकम बढ्दै: मर्जरमा गएका बैंकहरुको सबैभन्दा धेरै, कसले कति छुट्याए ? « Arthapath.com
६ बैशाख २०८०, बुधबार

बैंकहरुको ‘लोन लस प्रोभिजन’ रकम बढ्दै: मर्जरमा गएका बैंकहरुको सबैभन्दा धेरै, कसले कति छुट्याए ?



काठमाडौं । वाणिज्य बैंकहरुले सम्भावित जोखिम व्यवस्था अर्थात लोन लस प्रोभिजनका लागि छुट्याएको रकम सवा खर्ब नाघेको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मा बैकहरुले १ खर्ब २४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएका छन् । जुन गत आवको समिक्षा अवधिको तुलनामा भने ३२.०९ प्रतिशतले बढी हो । गत आवको फागुन मसान्तसम्ममा बैंकहरुले सो बापतको ९४ अर्ब २८ करोड २० लाख रुपैयाँ छुट्याएका थिए ।

बैंकहरुमा खराब कर्जा बढ्दो छ । आर्थिक मन्दीका कारण बैंकहरुले प्रवाह गरेका ऋण लगानी पनि उठ्न सकिरहेको अवस्था छैन । यस्ता कारणले पनि सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम बढेको बताइएको छ । यस बातप छुट्याउने रकम अधिकांश मर्जरमा गएका बैंकहरुको देखिएको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले सम्भावित जोखिम व्यवस्थाका लागि सबैभन्दा धेरै रकम व्यवस्था गरेको छ । साविकको मेगा बैंकसंग मर्ज भएको बैंकको सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याउने रकम १३ अर्ब २ करोड ६ लाख रुपैयाँ छ । चालु आवको आठ महिनामा बैंकले ३ अर्ब ४९ करोड १२ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकले ११ अर्ब ३ करोड ४१ लाख रुपैयाँ छुट्याएको छ । बैंकले केही महिना अघि नै साविकको बैंक अफ काठमाण्डैलाई प्राप्ति गरि एकीकृत कारोबार थालनी गरेको हो । अधिकांश सूचकमा अब्बल मानिने ग्लोबल आइएमई फागुन मसान्तसम्ममा भने ४ अर्ब ३७ करोड २३ लाख बढी खुद नाफा कमाएको छ । जुन सबैभन्दा धेरै कमाउने बैंकहरुमध्ये दोस्रो धेरै हो ।

यस्तै, चालु आवको आठ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले सो अवधिमा सम्भावित जोखिम व्यवस्थाका लागि ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँ छुट्याएको छ । बैंकले साविकको नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको हो ।

चालु आवको आठ महिनामा साविकको एनसीसी बैंकसंग मर्जरमा गएको कुमारी बैंकले सम्भावित जोखिम व्यवस्थाका लागि ९ अर्ब २८ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ । फागुन महिनासम्ममा बैंकले २ अर्ब ३ करोड १५ लाख बढी खुद नाफा कमाएको छ ।

त्यसैगरि सिभिल बैंकलाई प्राप्ति गरेको हिमालयन बैंकले ७ अर्ब ९९ करोड, सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको प्रभु बैंकले ७ अर्ब ५९ करोड ४४ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएका छन् ।

यता, सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकले क्रमशः ७ अर्ब ८७ करोड ४४ लाख, ७ अर्ब २० करोड ७ लाख, ५ अर्ब ४७ करोड १७ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएका छन् । चालु आवको आठ महिनामा यी बैंकहरुले क्रमशः ३ अर्ब ३६ करोड ८७ लाख, ४१ करोड १२ लाख र २ अर्ब ११ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

चालु आवको आठ महिनामा एनएमबी बैंकले ५ अर्ब ३२ करोड ५३ लाख, सिद्धार्थ बैंकले ५ अर्ब २८ करोड ९१ लाख र प्राइम बैंकले ५ अर्ब १ करोड ९६ लाख रुपैयाँ सम्भावित जोखिम व्यस्थाका लागि छुट्याएका छन् । सो अवधिमा यी बैंकहरुले क्रमशः २ अर्ब ६० करोड ९ लाख, १ अर्ब ५५ करोड ४७ लाख र २ अर्ब ३९ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यस्तै, चालु आवको आठ महिनामा सबैभन्दा धेरै नाफा कमाउनेको तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ६० करोड ४३ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएको छ । सो अवधिमा बैंकको खुद नाफा आर्जन भने ४ अर्ब ५ करोड ८० लाख बढी छ ।

त्यसैगरि सिटिजन्स बैंकले ४ अर्ब १७ करोड ६१ लाख, सनराइज बैंकले ३ अर्ब ९४ करोड ३० लाख, लक्ष्मी बैंकले ३ अर्ब ३८ करोड ७८ लाख, सानिमा बैंकले २ अर्ब ८६ करोड ७१ लाख, माछापुच्छ्रे बैंकले २ अर्ब ८५ करोड ९९ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लािग छुट्याएका छन् । यता, नेपाल एसबीआई बैंकले २ अर्ब ७६ करोड ९३ लाख, एभरेस्ट बैंकले २ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ५ करोड २० लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएका छन् ।

चालु आवका फागुन मसान्तसम्ममा सिटिजन बैंकले १ अर्ब २५ करोड ९३ लाख, सनराइजले १ अर्ब ८ करोड ८४ लाख, लक्ष्मीले १ अर्ब करोड ४६ लाख, सानिमा १ अर्ब ७८ करोड ७६ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ४२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । सो अवधिमा नेपाल एसबिआईले १ अर्ब ६४ करोड , एभरेष्टले २ अर्ब २३ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्