बढ्दो विद्युतीय सवारी साधन र चुलो प्रयोगको प्रभाव: घट्दै पेट्रोल, डिजेल र ग्याँसको आयात « Arthapath.com
१० श्रावण २०८०, बुधबार

बढ्दो विद्युतीय सवारी साधन र चुलो प्रयोगको प्रभाव: घट्दै पेट्रोल, डिजेल र ग्याँसको आयात



काठमाडौं । गत आर्थिक बर्ष २०७९/८० मा इन्धन प्रदार्थको आयात घटेको छ । नेपालमा सबैभन्दा बढी आयात हुने बस्तुमा पर्ने डिजेल, पेट्रोल र एलपिजी ग्यास को आयात घटेको हो । गत आवमा पनि बढी आयात हुनेमा यी ती वस्तु शिर्ष स्थानमा छन् ।

भन्सार बिभागले हालै सार्वजनिक गरेको गत आवको बैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार परिमाण र मुल्य दुवैको आधारमा उक्त ३ बस्तुको आयात घटेको छ ।

समिक्षा बर्षमा परिमाणका आधारमा डिजेलको आयात २० प्रतिशतले घटेको छ । अघिल्लो आव २०७८/७९ मा १७ लाख ५४ हजार ९३३ किलो लिटर डिजेल आयात भएको थियो । तर, गत आवमा १४ लाख ८ हजार ४९४ किलो लिटर डिजेल आयात भएको छ । मुल्यको आधारमा भने यसको आयात ९ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७८/७९ मा १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख रुपैयाँको डिजेल आयात भएको थियो । तर, गत आवमा १ खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँको डिजेल आयात भएको छ ।

यस्तै, समिक्षा बर्षमा पेट्रोलको आयात परिमाणका आधारमा ८ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७८/७९ मा ७ लाख ३८ हजार ५३६ किलो लिटर डिजेल आयात भएको थियो । तर, गत आवमा ६ लाख ८० हजार ८०७ किलो लिटर पेट्रोल आयात भएको छ । मुल्यको आधारमा यसको आयात ६ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७८/७९ मा ७१ अर्ब ३८ करोढ ८२ लाख रुपैयाँको पेट्रोल आयात भएको थियो । तर, गत आवमा ६६ अर्ब ८४ करोड ४८ लाख रुपैयाँको पेट्रोल आयात भएको छ ।

समिक्षा बर्षमा खाना पकाउने ग्यासको आयात परिमाणका आधारमा ४ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७८/७९ मा ५३ करोड ५८ लाख ६५ हजार केजी एलपीजी ग्याँस आयात भएको थियो । गत आवमा ५१ करोड ४३ लाख ४० हजार केजी एलपीजी ग्यास आयात भएको छ । मुल्यका आधारमा यसको आयात ११ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७८/७९ मा ६५ अर्ब ५५ करोड ९ लाख रुपैयाँका यस्तो ग्यास आयात भएको थियो । गत आवमा भने ५८ अर्ब १५ करोड ४१ लाख रुपैयाँको एलपीजी ग्याँस आयात भएको छ ।

अघिल्लो आव र गत आवमा उक्त इन्धनहरुको मुल्य फरक फरक थियो । अघिल्लो आवको तुलनामा गत इन्धनको मुल्य बढेको नै छ । त्यो अवस्थामा परिमाणको आधारमा समेत आयात घट्नुलाई महत्वसाथ हेरिएको छ ।

विशेषगरि पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधान, विद्युतीय चुलोको प्रयोग बढ्न थालेको छ । त्यसको प्रभावले गर्दा इन्धनको माग घट्न गई आयात पनि घटेको नेपाल आयाल निगमका अधिकारीहरु बताउछन् ।


प्रतिक्रिया दिनुहोस्