नेपाली गलैँचाको अन्तर्राष्ट्रिय व्यापार: ‘सेलीव्रेटी र हाइप्रोफाइल’ व्यक्तिहरुले धेरै किन्छन्, अमेरिका नै सबैभन्दा ठुलो बजार « Arthapath.com
११ श्रावण २०८०, बिहीबार

नेपाली गलैँचाको अन्तर्राष्ट्रिय व्यापार: ‘सेलीव्रेटी र हाइप्रोफाइल’ व्यक्तिहरुले धेरै किन्छन्, अमेरिका नै सबैभन्दा ठुलो बजार



काठमाडौं । नेपालबाट बाहिरिने वस्तुको शीषस्थानमा कार्पेट (गलैँचा) पनि छ । गलैँचाले नेपालबाट निर्यात हुने वस्तुको ७ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । पछिल्लो वर्ष यसको निर्यात वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले ९ अर्ब ५८ करोड १८ लाख ८२ हजार रुपैयाँ बराबरको गलैँचा निर्यात गरेको थियो । तर, गत आवमा भने यसको निर्यात थप २०.६८ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार गत आवमा ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबरको नेपाली गलैँचा विदेशीले किनेका छन् । तथ्याङ्क अनुसार ४ लाख ९४ हजार ४४६ वर्गमिटर गलैँचा निर्यात भएको हो । नेपालका कुल वस्तु निर्यात घटीरहेको बेलामा गलैँचाको निर्यात बढेको छ । नेपाली गलैँचाको विश्व बजारमा अलग पहिचान रहेको छ ।

नेपाली गलैँचा विश्वका ६ दर्जन मुलुकमा पुग्ने गरेको छ । नेपाली गलैँचाको मुख्य बजारमा भनेको अमेरिका रहेको छ । अमेरिकाले गत आवमा ७ अर्ब २२ करोड ९० लाख रुपैयाँ बराबरको नेपाली गलैँचा किनेको छ । यस्तै, जर्मनी र बेलायत तर्फ पनि नेपाली गलैँचा माग बढ्दो नै छ । समिक्षा अवधिमा नेपालबाट जर्मनीमा ८८ करोड ७० लाख रुपैयाँ र बेलायत तर्फ ७९ करोड ४४ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ ।

पछिल्लो समय विश्व बजारमा नेपाली कार्पेटको माग बढ्दो छ । नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अनुसार बिशेषगरि उच्च प्रोफाइल भएका व्यक्तिहरुबाट नै यसको माग हुने गरेको छ । संघका एक अधिकारीले भने,–‘नेपाल गलैँचाको माग बढ्दो छ । विशेषगरि सेलीव्रेटी तथा हाइप्रोफाइल व्यक्तिहरुका लागि ब्रान्डेड र गुणस्तरीय कार्पेट (गलैचा) को माग हुने गरेको छ ।’

यद्यपि, विश्वका अन्य देशको कार्पेटसंग नेपाली गलैँचाले प्रतिस्पर्धा गर्न गाह्रो हुने व्यवसायीहरुको भनाई छ। नेपालमा उत्पादनको लागत महँगो हुने भएपछि प्रतिस्पर्धामा कठिनाई हुने गरेको हो । ‘नेपालको उत्पादन लागत महँगो हुन्छ । विश्वका अन्य देशका कार्पेटसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । यसमा सरकारले विशेष भुमिका खेल्नुपर्छ’–संघका अधिकारीले बताए ।

उनका अनुसार नेपाली गलैचाँको निर्यात बढाउन सरकारले यसमा आवश्यक पर्ने सबै कच्चा पदार्थमा भन्सार छुट दिनुपर्ने बताए । यसका साथै श्रमशक्ति व्यवस्थापनका लागि सिपमुलक तालिम आयोजना र बजार प्रवर्द्धनमा सहयोग गर्नुपर्ने उनको माग छ । उनले भने,– ‘सरकारले सहयोग गरे निर्यात तीनदेखि चार गुणासम्म बढाउन सकिन्छ । अहिले गलैँचाका लागि चाहिने उनमा मात्रै भन्सार छुट छ । तर, अन्य कच्चा पदार्थमा भने भन्सार छुट छैन । जसले गर्दा लागत बढी हुने गरेको उनीहरुको भनाई छ । सरकारले यसका लािग सिप भएका जनशक्ति उत्पादन गर्न तालिम लगायतका कार्यक्रम आयोजना गर्नुपर्ने देखिन्छ ।’

नेपालले कच्चा पदार्थ आयात गरेर पनि गलैँचा बिक्रीबाट अर्थतन्त्रमा ठूलो योगदान भईरहेको छ । हाल मुलुकभर सानाठूला गरी अनुमानित ९०० हारहारीमा गलैँचा कारखाना सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस्