अलैँची उत्पादन र निर्यात बढ्यो: भारत र भुटानको उत्पादन घटेपछि नेपालले बेच्यो ८ अर्ब बढीको अलैँची « Arthapath.com
१२ श्रावण २०८०, शुक्रबार

अलैँची उत्पादन र निर्यात बढ्यो: भारत र भुटानको उत्पादन घटेपछि नेपालले बेच्यो ८ अर्ब बढीको अलैँची



काठमाडौं । नेपालबाट बाहिरिने कुल वस्तु निर्यात घटीरहेको बेला अलैँचीको निकासी भने उच्च वृद्धि भएको छ । नेपाल उत्पादित कृषिजन्य वस्तुको निकासीमा अलैँचीको हिस्सा सबैभन्दा ठुलो छ । पछिल्लो समय यसको उत्पादन वृद्धि भएसंगै निर्यातमा पनि बढोत्तरी देखिएको हो ।

भन्सार विभागका अनुसार गत आवमा ८ अर्ब २७ करोड ६८ लाख ५० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ७१.९५ प्रतिशत अर्थात ३ अर्ब ४६ करोड ३३ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने नेपालले ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बरारबको अलैँची निर्यात गरेको थियो । विभागका अनुसार गत आव भर ९ हजार ९९१ मेट्रिक टन अलैँची नेपालले निर्यात गरेको छ ।

विशेषगरि यो वर्ष अलैँची उत्पादन बढेरकाले नै निर्यात पनि वृद्धि भएको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । उनका अनुसार नेपालको अलैँची उत्पादन यो वर्ष ५० प्रतिशतले वृद्धि भएको छ । ‘मुख्य त यो वर्ष अलैँची उत्पादन नै बढेको छ । नेपालमा नेपालको अलैँची उत्पादन भने झण्डै ५० प्रतिशतले बढेको छ । उत्पादन बढेसंगै अलैचीको निर्यात बढेको हो’–अध्यक्ष भट्टराईले अर्थपथसंग भने ।

नेपाल, भारत र भुटान विश्वका अत्यधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन्। यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ । यो वर्ष भारत र भुटानको अलैची उत्पादन घटेको छ । यी दुई मुलुकमा उत्पादन घटेपछि नै नेपालको अलैँची निकासी बढेको अध्यक्ष भट्टराईको भनाई छ ।

भट्टराईका अनुसार अघिल्लो आवमा स्टक रहेको अलैँची पनि यस वर्ष बिक्री भएको छ । ‘गत आर्थिक बर्षको जेठ र असारमा अलैँचीको मुल्य घट्यो । त्यसबेला व्यवासायीहरुले अलैची बिक्री गरेनन् । तर, चालु आवको सुरुवाती समयमा अलैँचीको मुल्य सामान्य अवस्थामा आयो । त्यसपछि गत आवको स्टक अलैची पनि बिक्री भएपछि निर्यात बढ्यो’–अध्यक्ष भट्टराईले भने ।

नेपाली अलैँचीको सबैभन्दा ठुलो बजार भनेको छिमेकी मुलुक भारत हो । भारतमै ९९ प्रतिशत नेपाली अलैँची पुग्ने गरेको छ । समिक्षा अवधिमा पनि पनि ८ अर्ब २५करोड ५९ लाख रुपैयाँ बढीको नेपाली अलैँची भारतले किनेको छ। भारत बाहेक पाकिस्तान, जर्मनी, इटली र अमेरिकासम्म नेपाली अचैँची पुग्ने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग उच्च छ । सबै योग्य जमिनमा अलैँची खेत विस्तार गर्न सकेमा यसको निर्यात अझै बढाउन सकिने महासंघ अध्यक्ष भट्टराई बताउँछन् । उनले भने,–‘अहिले नेपालमा १८ हजार हेक्टर जमिनमा अलैँची खेती भएको छ । तर, ३५ हजारदेखि ४० हजार हेक्टर जमिनमा अलैँची खेती गर्न सकिन्छ । अलैँचीका लागि योग्य सबै जमिनमा खेती विस्तार गर्न सके यसको निर्यात अझै बढ्ने थियो ।’

कृषि उत्पादनलाई प्रविधिमैत्री ढंगले संचालन गर्न सकियो भने अलैँची निर्यात तीन गुणासम्म बढ्ने उनको भनाई छ । उनले भने,–‘माटो परीक्षण गरि खेती विस्तार गर्ने, वास्तविक किसानलाई सहुलियत रुपमा कर्जा, उचित प्राविधिक ज्ञान र क्षमता अभिवृद्धि लगायतको गतिविधि तत्काल सरकारी तवरबाट हुनुपर्ने देखिन्छ, यसबाट उत्पादन पनि बढ्छ र निर्यात पनि तीन गुणासम्म बढ्ने थियो ।’

नेपालको पहाडी जिल्लाहरुमा अलैँचीको व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । अलैँची उत्पादनको ९० भन्दा बढी विदेश तर्फ निर्यात हुने गरेको छ । सरकारले अलैंची खेती गर्न सकिने सम्भावना भएका जिल्लाहरूमा अध्ययन अनुसन्धान गरि व्यापक विस्तार गर्न आवश्यक देखिएको छ ।

विदेशमा निकासी गरेर विदेशी मुद्रा कमाउन सकेता पनि खासै अलैंची किसानहरू बढी लाभान्वित हुन सकिरहेको अवस्था भने छैन् । अलैंची व्यापारमा बिचौलियाहरूको मनोमानी हुनुले पनि वास्तविक कृषकहरु लाभान्वित हुनबाट बञ्चित हुने गरेका छन् ।

विशेषगरि अलैँची भदौ/असोजमा टिप्ने गरिन्छ । सो समयमा भने यसको मूल्य निकै कम हुन्छ । सो अवधिमा भने व्यापारीहरू प्रत्यक्ष किसानसँग अलैंची किनेर जम्मा गर्दछन् । अलैँचीको मूल्य पुस र माघ महिनादेखि वृद्धि हुन थाल्छ । कहिलेकाँही सुरुको मूल्य भन्दा तीन गुण बढी भाउ पुग्ने गरेको छ ।

अलैंची किसानहरूले सिधै निर्यातकर्तासँग आफ्नो उत्पादन अधिकतम मूल्य भएको समयमा बेच्न सकेमा किसानहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने थिए । जसले अलैंचीको उत्पादन बढाउनमा समेत प्रोत्साहन थप हुने थियो ।


प्रतिक्रिया दिनुहोस्