नेपालमा बन्ने सुन र चाँदीका मौलिक गहनाको अन्तर्राष्ट्रिय व्यापार घट्दै, विदेशी मुद्रा आर्जनमा कस्तो असर ? « Arthapath.com
१४ श्रावण २०८०, आईतवार

नेपालमा बन्ने सुन र चाँदीका मौलिक गहनाको अन्तर्राष्ट्रिय व्यापार घट्दै, विदेशी मुद्रा आर्जनमा कस्तो असर ?



काठमाडौं । नेपालबाट बाहिरिने सुन तथा चाँदीका गहना प्रभावित बनेको छ । पछिल्लो सयम यसको निकासीमा दोहोरो गिरावट आएको छ । नेपालमा बन्ने मौलिक सुन तथा चाँदीका गहनाको अन्तर्राष्ट्रिय व्यापारले गति लिन सकिरहेको छैन । हाल नेपालको कुल वस्तु निर्यातमध्येका सुन तथा चाँदीको गहना पनि हुन् । विदेशी मुद्रा आर्जन गर्ने स्रोत मध्येका सुन र चाँदीको गहना निर्यात घटेको छ ।

एक वर्षको अवधिमा सुनको गहना निर्यात ६४.५७ प्रतिशत र चाँदीको गहना निर्यात ४१.६८ प्रतिशतले घटेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत आवमा नेपालले १८ करोड ८७ लाख ३१ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात गरेको थियो । जुन अघिल्लो आवको तुलनामा भने ३४ करोड ४० लाख रुपैयाँले कमी हो । अघिल्लो आवमा भने ५३ करोड २७ लाख बराबरको ६१.११४ केजी गहना निर्यात भएको थियो ।

सुनका गहना निर्यात गत वर्षमा भने निकै उत्साहजनक रुपमा बढेको थियो । भन्सार विभागले एचएस कोड दिएपछि आव २०७७/७८ देखि नेपालबाट सुनका गहना विदेश निर्यात हुन थालेको थियो । बिशेषगरि अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात हुने गरेको छ ।

भन्सारले एचएस कोड दिएको वर्ष सुनको गहना निर्यात उच्च दरमा वृद्धि भएको थियो । विशेषगरि विदेशी मुलुकमा बन्न नसक्ने मौलिक सुनका गहना नेपालबाट निर्यात हुने गरेको विभागले जनाएको छ । विदेशी मुलुकमा नेपालीहरुको बसोबास बढी भएका देशहरुबाट यस्ता सुनका गहनाको माग हुने गरेको छ । नेपालबाट सयुक्त राज्य अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुमा गहना पुग्ने गरको छ । सुनको गहनाको सबैभन्दा ठुलो बजारमा भने अमेरिका हो । अमेरिकाले १५ करोड ३० लाख रुपैयाँ बराबरको सुन गहना खरिद गरेको छ । सो अवधिमा अष्ट्रेलिया तर्फ ३ करोड ५७ लाख रुपैयाँ बराबरको गहना निर्यात भएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३८ करोड ७१ लाख रुपैयाँको ३८ केजी बराबर सुनका गहना निर्यात भएको थियो । तर, पछिल्लो समय सुनका गहना निर्यात घट्दै गएको विभागको तथ्याङ्कले पुष्टि गर्छ । सुनको गहनाको निर्यात घटेसंगै विदेशी मुद्रा आम्दानी पनि घटी रहेको व्यवासायीहरु बताउँछन् ।

पछिल्लो समय काँचो सुन अभावले नै गहना निर्यात प्रभावित बनेको हो । गत आवमा सुन आयात ३७.२४ प्रतिशतले घटेको छ । एक वर्षको अवधिमा सुन आयात १३ अर्ब २६ करोड ४९ लाख रुपैयाँले घटेको छ । अघिल्लो आवमा ३५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो । तर, गत आवमा भने २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ बराबरको २ हजार ९१६.५८६ केजी सुन आयात भएको छ ।

विशेषगरि सरकारले सुन आयातमा कोटा तोकेपछि नै आयात प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । सरकारले २० केजी आयात गर्ने ठाउँमा १० केजी कोटा तोकेपछि नै आयातमा गिरावट आएको महासंघका एक अधिकारीले बताए । गहना निर्यात कुनै पनि सुविधा सरकारले नदिएकले पनि निर्यात घट्दै गएको व्यवसायीहरु बताउँछन् । सुनको आयातको कोटा घटाए पनि निर्यात गर्ने व्यवसायीलाई छुट्टै सुन आयात गर्न दिने वा बिशेष व्यवस्था गर्ने भनिएको थियो । तर, त्यसको लागि कुनै व्यवस्था नहुँदा सुनको गहनाको निर्यात प्रभावित भएको महासंघले जनाएको छ ।

४१.६८ प्रतिशतले घट्यो चाँदीको गहना

समिक्षा अवधिमा चाँदीको गहना निर्यात पनि प्रभावित बनेको छ । अघिल्लो आवमा २१ करोड ५२ लाख रुपैयाँको ९२७.३३३ केजी चाँदीका गहना निर्यात भएको थियो । तर, गत आवमा भने १५ करोड ३८ लाख रुपैयाँले घटेर ३६ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।

नेपालमा उत्पादन हुने अधिकांश चाँदीका गहनामा नेपाली परम्परा र आधुनिकताको समिश्रण हुने गरेको छ । जसले देश भित्र र अन्तर्राष्ट्रिय बजारमा पनि यस्ता गहनाप्रति मानिसको आकर्षण हुने गरेको पाइन्छ । विशेषगरि नेपालका चाँदीका गहनाको सबैभन्दा ठुलो आयातकर्ता संयुक्त राज्य अमेरिका रहेको छ ।

नेपालका चाँदीका गहना अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, डेनमार्क, सिंंगापुर, जापान, जर्मन, लगायतका दर्जन बढी मुलुकहरुमा पुग्ने गरेको छ । तर, नेपालबाट हुने चाँदीका गहनाको निर्यात भने विगतका केही वर्षहरुमा घट्दै गएको छ । पछिल्लो समयमा नेपालबाट बाहिरिने चाँदीका यस्ता गहनामा कमी देखिन थालेको हो ।

निर्यात घट्दा विदेशी मुद्रा आर्जन प्रभावित

नेपालबाट वस्तु निर्यात गर्दा विदेशी मुद्रा आर्जन हुन्छ । त्यस्ता सामग्रीहरुको निर्यात बढ्यो भने नेपालले पनि विदेशी मुद्रा आर्जन बढी नै गर्छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली सुन तथा चाँदीका गहनाको निर्यात बढ्न सक्ने प्रशस्त सम्भावना रहेको छ । जसले विदेशी मुद्रा आर्जनको पनि बलियो सम्भावना रहेको छ । चाँदीका गहना बनाउन अत्यावश्यक कच्चा पदार्थ नेपालले पूर्ण रुपमा आयात गर्दछ ।

सुनचाँदीको कारोबार सम्वन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठीनाई भएको व्यवसायीहरु बताउँछन् ।निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यवसायीक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको उनीहरुको भनाई छ ।

गहनाको निर्यात बढाउन सकेको विदेशी मुद्रा आम्दानी बढ्ने व्यवासायीहरु व्यसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायीले पनि नेपाली मौलिक गरगहना निर्यातमा जोड दिँदै आएका थिए । व्यवसायीहरुले नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै आएका थिए । त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरुको माग छ ।


प्रतिक्रिया दिनुहोस्