कयौं वस्तुको मूल्य सस्तिँदा आयातको आँकडामा भारी कमी, नेपाललाई यसरी भयो फाइदा « Arthapath.com
६ चैत्र २०८०, मंगलवार

कयौं वस्तुको मूल्य सस्तिँदा आयातको आँकडामा भारी कमी, नेपाललाई यसरी भयो फाइदा



काठमाडौं । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको अन्तराष्ट्रिय ब्यापार झण्डै ३ प्रतिशत खुम्चिएको छ । गत सालको तुलनामा यो आर्थिक वर्षको फागुन मसान्तसम्म अर्थात् ८ महिनामा वैदेशिक ब्यापारको आकार २.७८ प्रतिशत घटेको हो ।

यसमा पनि निर्यातको हिस्सा अझै कम भएको छ । पोहोर साल कुल ब्यापारमा निर्यातको अनुपात ९.०१ प्रतिशत रहेकोमा यो साल ८.९ प्रतिशतमा झरेको छ । यसले अर्थतन्त्र पोहोरभन्दा बढी परनिर्भर भएको देखाउँछ ।

अन्तरराष्ट्रिय ब्यापारमा र त्यसमाथि पनि आयातमा देखिएको कमीलाई पछिल्लो समय मुलुकको समष्टिगत मागमा आएको न्यूनतासँग दाँजेर हेर्ने गरिएको छ । देशबाट ठूलो मात्रामा युवा पलायन बढिरहेको र यसले आयात कम भएको आँकलन गरिँदै आएको छ ।

हालैमात्र अध्यागमन विभागले संसदीय समितिमा करीव ४ लाख मान्छेले हरेक साल देश छाडिरहेको तथ्य सार्वजनिक गरेको थियो । अध्ययन, डिपेन्डेन्ट, स्थायी बसोबास वा तेल भिसाको नाममा लामो समय बस्नका लागि यति धेरै मानिसहरु विदेसिइरहेको विभागको तथ्यांक छ ।

यसरी हरेक साल देश छाड्ने युवाको संख्या बढ्दै जानु, जन्मदर असाध्यै कम हुनुजस्ता कारणले चाहेरै पनि आन्तरिक माग बढाउन कठीन भइरहेको छ । तर यसबीचमा कतिपय वस्तुको आयात मूल्यमा मात्रै घटेको हो वा परिमाणमा पनि घटेको हो भन्ने खालका तर्कहरु पनि हुन थालेका छन् ।

यसै विषयलाई चिरफार गर्न अर्थथपले एक शीघ्र विश्लेषण पस्किएको छ ।

नेपालले यो आर्थिक वर्षको फागुन मसान्तसम्म संसारका १५८ देशसँग दुईपक्षीय ब्यापार गरेको छ । यसमध्ये १५१ देशबाट आयात र १२२ देशलाई निर्यात गरेको आँकडा भन्सार विभागले सार्वजनिक गरेको छ । तर वस्तुगत हिसाबमा ५ हजार ७० किसिमका (भिन्नभिन्न हार्मोनाइज्ड कोड भएका) वस्तु आयात भएका छन् ।

यी वस्तुको आयात घट्यो (मूल्य रू. हजारमा)

तर ती ५ हजार ७० मध्ये केवल ६० वस्तुको आयातमा मात्रै नेपालले अधिक पैसा खर्च गरेको छ । यी ६० वस्तुले नेपालको कुल आयात मूल्यको ५४.१ प्रतिशत र कुल भन्सार राजस्वको ४९.६ प्रतिशत हिस्सा ओगट्छन् । तिनै वस्तुहरुको विवरणलाई केलाउने हो भने वितेको ८ महिनामा केवल २१ वस्तुको आयातमात्रै वास्तविक रुपमा घटेको देखिएको छ ।

बाँकी ३९ वस्तुको आयात परिमाणका आधारमा बढेको छ । यसमा अर्को चाखलाग्दो विषय चाहीँ ‘टप ६०’मध्ये आयात घटेका वस्तुहरुको निम्ति जम्मा २२ प्रतिशत र आयात बढेका वस्तुहरुका लागि ७७ प्रतिशत मूल्य चुकाउनु परेको छ ।

भन्सार विभागको विवरण अनुसार सुन, हवाइ इन्धन, भटमास तथा पामका कच्चा तेल, धान, मकै, स्टील, स्याउ, आलु, हल्का पेय पदार्थ, बासमती चामल, सेरामिक्स, कम क्षमताका मोटरसाइकल, ठूला सवारीसाधनका टायर, मुसुरोको दाल, भटमास, जुटजस्ता सामानको आयात घटेको छ ।

यी वस्तुको आयात घटे पनि मूल्य बढेका कारण स्याउ, बास्मती चामल, टायर, डायलिसिस मेसिन र बिजुलीको मिटरजस्ता वस्तु आयातमा पोहोर सालभन्दा बढी पैसा तिर्नु परेको छ ।

तर नेपालको कुल आयातमा सबैभन्दा ठूलो हिस्सा हुने पेट्रोलियम पदार्थदेखि कयौं वस्तुको आयात बढेकै छ । डिजेल, पेट्रोलका साथै खाना पकाउने ग्यास, र कोइलाजस्ता इन्धन सामग्रीको आयात बढेको छ । कच्चा फलाम, फराकिलो आकारका स्टील पाता, कवाडी फलाम, अलकत्रा, बिजुलीका तार र प्लाष्टिकका सामान बनाउने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको आयात बढेको छ ।

यी वस्तुको आयात बढ्यो (मूल्य रू. हजारमा)

शुद्ध जिङ्क, आल्मुनियम र तामाका तार, बिजुलीका तारजस्ता औद्योगिक एवम् व्यावसायिक प्रयोगका सामग्रीको आयात पनि बढेको देखिन्छ । कागजदेखि लाइटरसम्म र श्रृङ्गारका सामग्रीको आयात पनि बढेकै छ ।

स्मार्ट फोन, ल्यापटप र नोटबूकजस्ता विद्युतीय उपकरणका साथै औषधि, भटमासको पिनाको आयात पनि बढेको छ । रसायनिक मलका साथै फलफूल तथा तरकारीलाई हलक्कै बढाउन प्रयोग हुने डाइमोनियम फोस्फेटको आयात पनि ह्वात्तै बढेको छ । अन्नमा गहूँ र तेलमा सूर्यमुखि तथा तोरीको आयात बढेको छ । चनाको आयात पनि बढेको छ ।

विद्युतीय सवारीसाधनको आयात त असाधारण रुपमा बढेको छ । अघिल्लो साल ३ वटा हवाइजहाज आयात भएकोमा यो साल ४ ओटा आयात भएका छन् । हवाइजहाज र गाडीका पार्टपूर्जाको आयात पनि बढेकै छ । इञ्जिन आयल (मोबिल)को आयात पनि उस्तै गरी बढेको छ ।

भलै आयात बढे पनि कतिपय वस्तुको मूल्य सस्तिँदा पोहोरभन्दा कम मूल्यमै सामान प्राप्त गर्न सकिएको देखिन्छ । यो साल डिजेल, खाना पकाउने ग्यास, कच्चा फलाम, युरिया (रसायनिक मल), डाइमोनियम फोस्फेट, तोरी, साना विद्युतीय सवारीसाधन, प्लास्टिक दाना, खोप, जिङ्क र गाडीका पार्टपूर्जामा गतसालको तुलनामा कम पैसा विदेशिएको देखिएको छ ।

यसले बढी खपत हुने कयौं वस्तुको आयात नघटेको, बरु अन्तराष्ट्रिय बजारमा आएको मूल्यको कमीले हाम्रो आयातको लागत कम भएको देखाएको छ । उदाहरणका लागि गत वर्ष औसत १२१ रुपैयाँ लिटर परेको डिजेलको मूल्य यो साल १०५ रुपैयाँमा आएको छ । त्यस्तै पोहोर साल प्रतिकिलो ११४ रुपैयाँ हाराहारी परेको खाना पकाउने ग्यासको मूल्य यो सला १०३ रुपैयाँ परेको छ ।

त्यस्तै पोहोर साल ५७ रुपैयाँ ६० पैसा परेको कच्चा फलामको मूल्य यो साल ४७ रुपैयाँ ९० पैसामा आएको छ । त्यस्तै गत वर्ष प्रतिकिलो करीब ९९ रुपैयाँ परेको युरिया मलको मूल्य यो साल ६० रुपैयाँभन्दा पनि सस्तोमा आएको छ । तोरीकै कुरा गर्दा गत वर्ष किलोकै ११३ रुपैयाँ हाराहारी परेकोमा यो साल ७८ रुपैयाँ किलोमै उपलब्ध भएको छ ।


प्रतिक्रिया दिनुहोस्