अमेरिकी फेडेरल रिजर्भले ब्याजदर घटाउने चर्चाले चुलिएको सुनको मूल्य कहाँ पुगेर थामिएला ? « Arthapath.com
१५ चैत्र २०८०, बिहीबार

अमेरिकी फेडेरल रिजर्भले ब्याजदर घटाउने चर्चाले चुलिएको सुनको मूल्य कहाँ पुगेर थामिएला ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गरेको छ । प्रायः दैनिक महँगो बन्दै गएको छ । बिहीबार मात्रै प्रतितोला १ हजार १०० रुपैयाँले बढेर १ लाख २७ हजार ९०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

यसअघि गत चैत ८ गते कीर्तिमानी उचाइ कायम गरेको थियो । त्यस बेला १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको थियो । तर, त्यो रेकर्ड तोडेर सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ।  

विशेषगरि अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगिएकाले नेपाली बजारमा पनि असर गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार आएको बढोत्तरीले नै नेपाली बजारमा पनि सुन महँगिएको महासङ्घ अधिकारी बताउँछन् ।

 विश्व बजारमा नै सुनको माग बढ्दो छ, माग बढेसँगै मूल्य आकासिएको ती अधिकारीले बताए । मूल्यले दैनिक जसो रेकर्ड बनाए पनि कारोबार भने सुस्त रहेको महासँगले जनाएको छ । अहिले अफसिजन भएकाले पनि सुनको खपत भने बढ्न नसकेको हो । 

हाल दैनिक १५ केजी हाराहारीमा मात्रै किनबेच भएको महासङ्घले जनाएको छ । चैत महिनामा विवाह लगायतका अन्य गतिविधि कम हुने भएकाले पनि खपत बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । मूल्य बढेको समयमा कारोबार भने नबढ्ने एक व्यवसायीले बताए । उनी भन्छन्,‘अहिले दैनिक जसो सुन महँगिएको छ, नयाँ कीर्तिमानी उचाइ बनाइरहेको छ । यस्तो अवस्थामा कारोबार बढ्न सक्दैन । कारोबार बढ्न मूल्य घट्नुपर्छ ।’ 

आर्थिक शिथिलता कायमै रहेकोले बजार माग पनि न्यून रहेको उनको भनाई छ । ‘विवाहको लगान तथा अन्य चाडपर्वको सिजनमा बढी माग हुने गर्छन् । तर, यसपालि भने लगातार सुन महँगिएपछि  माग पनि कम छन् । सिजनमै कारोबार घट्दो छ’, ती व्यवसायीले भने ।  

केही समययता अमेरिकी केन्द्रीय बैङ्क फेडेरल रिजर्भले ब्याजदर घटाउने चर्चा छ । ब्याजदर घटाउने चर्चासँगै डलरको भाउ केही प्रभावित भएको छ । त्यसको प्रभाव सुनको मूल्यमा परेको बताइन्छ । अन्तर्राष्ट्रियस्तरका ठुला बैङ्कहरूको घट्दो ब्याजदरका लगानीकर्ताहरू सुन तर्फ आकर्षित भएको महासङ्घ अधिकारीहरू बताउँछन् । त्यसका कारण पनि अझै कति महँगिन सक्छ भन्ने यकिन गर्न नसकिने महासङ्घले जनाएको छ।  तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले भने सुन थप महँगिने उल्लेख गर्दै आएका छन् । 

महासङ्घ अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय ठुला बैङ्कहरूको ब्याजदर पनि घट्दो ट्रेन्डमा नै देखिन्छ ।  तर, सुनका लगानी भने बढ्दो छ । लगानीकर्ताहरूले सुनतर्फ नै आकर्षित छन् । मूल्य घट्ने भन्दा थप बढ्न सक्ने देखिन्छ।’

विश्व बजारमा सुनको भाउ २ हजार डलर भन्दा माथि नै छ । सन् २०२४ मा सुनको भाउ करिब ३ हजार डलर हाराहारीमा पुग्ने अनुमान समेत विज्ञहरूले गरेका छन् । तत्काल सुनको भाउ घट्ने सङ्केत नभएको महासङ्घले जनाएको छ । ‘सुनको मूल्यमा केही घटबढ हुनसक्छ, घट्न भन्दा बढ्ने नै देखिन्छ । मूल्य वृद्धि कहाँ पुगेर थामिने हो, त्यो निश्चय छैन’, महासङ्घ अधिकारीले भने । 


प्रतिक्रिया दिनुहोस्