‘घरजग्गा’ कारोबारको ‘हटस्पट’ बन्दै कलंकी, काठमाडौंको कुन क्षेत्रमा कति किनबेच ? « Arthapath.com
७ चैत्र २०८१, बिहीबार

‘घरजग्गा’ कारोबारको ‘हटस्पट’ बन्दै कलंकी, काठमाडौंको कुन क्षेत्रमा कति किनबेच ?



काठमाडौं । काठमाडौंमा घरजग्गा किनबेचको आँकडा बढ्न थालेको छ । पछिल्लो ९ महिनामा १५ हजार बढी घरजग्गा खरिदबिक्री भएका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म आइपुग्दा १५ हजार ६१२ वटा घरजग्गा किनबेच भएका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ४.४१ प्रतिशत बढी हो । गत आवको पहिलो ९ महिनामा पनि १४ हजार ९५२ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

समग्रमा देशभरको घरजग्गा कारोबार नै दबाबमा छ । केही वर्षदेखि शिथिल रहेको यस क्षेत्र अझै लयमा फर्कन सकिरहेको छैन् । ग्रामिणमुखी क्षेत्रमा भने केही सुधार देखिएको छ । विशेषगरि तराईका जिल्लाहरुमा घरजग्गा कारोबार बढी रहेको छ । महँगो मूल्यमा कारोबार हुने काठमाडौंमा पनि पछिल्लो केही सुधार आएको विभागको आँकडाले देखाउँछ ।

हाल काठमाडौंमा ६ वटा मालपोत कार्यालय मार्फत घरजग्गा खरिदबिक्री हुँदै आएको छ । हाल भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, चावहिल, कलंकी, मनमैजु, साँखु र टोखा मार्फत घरजग्गा किनबेच हुँदै आएको छ ।

काठमाडौंमा मासिक औसत १ हजार ७३४ वटा घरजग्गा किनबेच हुँदै आएका छन् । गत फागुनमा मात्रै २ हजार ११९ वटा घरजग्गा किनबेच भएको थियो । विभागका अनुसार गत माघमा २ हजार १०१, पुसमा २ हजार ११०, मंसिरमा १ हजार ९०९, कात्तिकमा १ हजार ४८७, असोजमा १ हजार ६६०, भदौमा २ हजार ५६ र साउनमा २ हजार १७० वटा घरजग्गा खरिदबिक्री भएका थिए ।

काठमाडौंमा सबैभन्दा धेरै घरजग्गा कारोबार कलंकी क्षेत्रमा हुने गरेको छ । पछिल्लो ९ महिनामा मालपोत कार्यालय कलंकी मार्फत ४ हजार ६२५ वटा घरजग्गा किनबेच भएका छन् । गत वर्षको सो अवधिमा पनि सोही हाराहारीमा खरिदबिक्री भएको थियो । विभागका अनुसार गत फागुनमा मात्रै कलंकी क्षेत्रमा ६२१ वटा घरजग्गा किनबेच भएका छन् ।

यस्तै, माघमा ५९७, पुसमा ५९४, मंसिरमा ५६२, कात्तिकमा ४१४, असोजमा ४९७, भदौमा ६८६ र साउनमा ६५४ वटा घरजग्गा लिखत पारित भएका छन् । हाल काठमाडौंमा भइरहेको कारोबारको अनुपातका आधारमा कलंकी क्षेत्र हटस्पट बन्दै गएको पुष्टि हुन्छ । अन्य क्षेत्रको तुलनामा कलंकी आसपासमा धेरै घरजग्गा खरिदबिक्री हुँदै आएको छ ।

कलंकीपछि चावहिल क्षेत्रमा धेरै कारोबार हुँदै आएको छ । ९ महिनाको अवधमिा चावहिल क्षेत्रमा ३ हजार ४०० वटा घरजग्गा खरिदबिक्री भएको छ । यो गत वर्षको तुलनामा भने ७.७६ प्रतिशत धेरै हो । चावहिलमा मासिक औसत ३७७ बढी घरजग्गा खरिदबिक्री हुँदै आएको आँकडा छ।

यस्तै, गत वर्षको तुलनामा साँखु क्षेत्रमा हुने कारोबार भने दोब्बर बढेको छ । गत वर्षका फागुन मसान्तसम्म सो क्षेत्रमा १ हजार ३८४ वटा मात्रै घरजग्गा किनबेच भएका थिए । तर, चालु आवको सोही अवधिमा भने ११२.६४ प्रतिशत बढेर २ हजार ९४३ वटा पुगेको छ ।

काठमाडौंमा तुलनात्मक रुपमा साँखु क्षेत्रमा अलि कम मूल्यमा घरजग्गा खरिदबिक्री हुने गरेको छ । घर तथा जग्गाको सहज उपलब्धताले पनि सो क्षेत्रमा कारोबार आक्रामक रुपमा वृद्धि भएको विभागले जनाएको छ ।

विशेषगर काठमाडौं दरबारमार्ग, डिल्लीबजार, नक्साल, न्यूरोड, नयाँ बानेश्वर, थापाथली, बबरमहल, रातोपुल, लैनचौर, पुतलीसडक लगायत क्षेत्र महँगो मूल्यमा कारोबार हुने गरेका छन् । यसबाहेकमा बालाजु बाइपास, बनस्थली, ढुंगेधारा, महाराजगञ्ज लगायतका क्षेत्रमा पनि महँगो मूल्यमा घरजग्गा खरिदबिक्री हुँदै आएको छ । हाल यी क्षेत्रमा जग्गाको समितताले पनि धेरै महँगो मूल्यमा कम कारोबार हुने गरेको छ ।

विभागका अनुसार काठमाडौंको मनमैजू आसपासमा पनि ९ महिनामा २ हजार २३ वटा घरजग्गाको लिखत पारित भएको छ । पछिल्लो सो क्षेत्रमा पनि घरजग्गा खरिदबिक्री गर्नेको संख्या निकै नै बढ्दो छ । यद्यपि, गत वर्षको तुलनामा भने केही गिरावट आएको छ ।

विभागका अनुसार काठमाडौंको सबैभन्दा महँगो डिल्ली बजार क्षेत्रमा हुने कारोबार पनि दबाबमा छ । समिक्षा अवधिमा यस क्षेत्रमा १ हजार ४३१ वटा मात्रै घरजग्गा किनबेच भएका छन् । यता, टोखा क्षेत्रमा पनि १ हजार १९० वटा घरजग्गा खरिदबिक्री भएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्