वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने प्रस्तावप्रति इप्पानमा विवाद: नेतृत्व र पदाधिकारी आमनेसामने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभा एवं आठौं अधिवेशन यही जेठ २९ गते हुँदैछ। तर, साधारणसभा नजिकिँदै गर्दा संस्थाको नेतृत्व र पदाधिकारीबीच विधान कार्यान्वयनको विषयलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ।
इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थाका अध्यक्ष गणेश कार्कीले साधारणसभाको सर्वोच्च अधिकार र निर्णयलाई कुल्चिएको आरोप लगाउँदै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
दुलालले वक्तव्य जारी गर्दै इप्पानको २३औं साधारणसभाले संस्थालाई ‘महासंघ’ मा रूपान्तरण गर्ने गरी सर्वसम्मतिले पारित गरेको निर्णयलाई वर्तमान कार्यसमितिले बहुमतको दम्भमा कार्यान्वयन नगरेको आरोप लगाएका छन्।
उनका अनुसार अनुसार, २३औं साधारणसभाको निर्णय नं ६ ले ६ महिनाभित्र इप्पानलाई महासंघमा परिणत गर्ने र त्यसको १ वर्षभित्र अधिवेशन गर्ने जिम्मेवारी अध्यक्ष गणेश कार्कीलाई दिएको थियो।
साधारणसभाले दिएको उक्त वैधानिक र नैतिक जिम्मेवारी पूरा नगरी कार्यसमितिको बैठकबाट निर्णय उल्टाएर अधिवेशन बोलाउनु गैरकानुनी भएको दुलालको दाबी छ। उनले साधारणसभाको अधिकार खोस्ने गरी कार्यसमितिबाट भएका निर्णयहरू कानुनी रूपमा अवैध हुने जिकिर गरेका छन्।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने प्रस्तावप्रति आपत्ति
जेठ २५ गते बसेको कार्यसमितिको २०३औं बैठकले इप्पान विधान २०७८ लाई संशोधन गरी आगामी साधारणसभाबाट ुवरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेु व्यवस्था अन्त्य गर्ने निर्णय गरेको छ। उक्त संशोधनमार्फत एक कार्यकाल कार्यसमितिमा रहेका योग्य व्यक्तिले अध्यक्षमा उम्मेदवारी दिन पाउने र अन्य पद खुल्ला गरिने प्रस्ताव लगिँदै छ।
उपमहासचिव दुलालले २१औं साधारणसभादेखि नै विधान संशोधनको माग उठेको र २३औं साधारणसभाले महासंघको मस्यौदा अनुमोदन गरिसकेको अवस्थामा, त्यसलाई सम्बोधन नगरी कार्यसमितिको निर्वाचन गराउनु अवैधानिक हुने बताएका छन्। उनले साधारणसभाको मस्यौदा र प्रतिवेदन सुरक्षित हुँदाहुँदै त्यसलाई कार्यान्वयन नगरेर पुनः विधान संशोधनको प्रस्ताव लैजानुले संस्थागत सुशासनको धज्जी उडाएको टिप्पणी गरेका छन्।
यसअघि जेठ २५ गते नै इप्पानका अध्यक्ष गणेश कार्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थाविरुद्ध अफवाह फैलाएको भन्दै उनको कार्यको घोर भर्त्सना गरेका थिए। अध्यक्ष कार्कीले उपमहासचिव दुलालले सार्वजनिक रूपमा ुविधान गायब भएकोु र विधान विपरीत साधारणसभा गर्न लागिएको भनी अनर्गल र कपोलकल्पित प्रचार गरेको आरोप लगाएका थिए।
अध्यक्ष कार्कीका अनुसार, विधान संशोधन तथा पुनर्लेखन समितिका संयोजक भानुभक्त पोखरेलको प्रतिवेदन र १५ जनाको औपचारिक सुझावसहितको मस्यौदा इप्पान सचिवालयमा पूर्ण रूपमा सुरक्षित छ। यस्तो अवस्थामा संस्थाकै उपमहासचिवबाट नकारात्मक सन्देश जाने गरी प्रचार गरिएकाले संस्थाले त्यसको जोडदार खण्डन गर्ने कार्कीले उल्लेख गरेका थिए।












