चीनसँग भिड्न संसारका महाधनि मुलुहरू के योजना बनाउँदै छन् ? « Arthapath.com
३० जेष्ठ २०७८, आईतवार

चीनसँग भिड्न संसारका महाधनि मुलुहरू के योजना बनाउँदै छन् ?



काठमाडौं । इस्वीको १५ औं शताब्दीमा ब्यापारको नाममा सुरु भएको राजनीतिक अतिक्रमणले संसारलाई करीब ५०० वर्ष उपनिवेशको श्रृङ्खलामा धेकेलेको थियो । अब चीनले व्यापारलाई आफ्नो ‘ऋण-पास’सँग जोडेपछि नयाँ किसिमको उपनिवेशबाद जन्मन थालेको छ । यसबाट हामीजस्ता गरीब मुलुकलाई त के बाल भो र ? चल्तिका शक्तिराष्ट्रहरू भने आत्तिन थालेका छन् ।

हाल ब्रिटेनमा चलिरहेको संसारका महाधनि ७ राष्ट्रको शिखर सम्मेलनमा चीनलाई रोक्न नयाँ योजना बुन्ने काम भइरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । त्यस्तो याेजना के हुन्छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन । तर अमेरिकी राष्ट्रपति जो बाइडनले ‘बिल्ड ब्याक बेटर वल्ड (बी३डब्ल्यू)’ अर्थात् ‘सुन्दर संसारको पुनःनिर्माण’ योजनाका लागि आफू तत्पर रहेको बताएका छन् । उनले कुनै बलियो विकल्पमार्फत् मात्रै चीनलाई रोक्न सकिने भनेका छन् ।

बैठकमा चीनको बढ्दो शक्तिलाई रोक्न न्यून र मध्येम आय भएका मुलुकलाई सहायता गर्नुपर्ने तर्क उठेको छ । चीनले ‘बेल्ट एण्ड रोड परियोजना (बीआरआई)’ मार्फत् संसारका गरीब मुलुकमा उच्चस्तरीय रेलमार्ग, सडक र बन्दरगाह निर्माण तथा सुधारका लागि ठूलो आर्थिक सहायता दिइरहेको छ । यही कुरालाई पश्चिमा मुलुकले ऋण थोपरेर शासन सत्तामाथि हस्तक्षेप गर्ने प्रयास गरिरहेको भन्दै चीनको विरोध गर्ने गरेका छन् ।

अन्तरराष्ट्रिय वित्तीय लगानीको माध्यमबाट अघि बढेको चीनलाई रोक्न जी७ राष्ट्रहरूले नयाँ अन्तरराष्ट्रिय साझेदारीको सुरुवात गर्ने बताएका छन् । यद्यपि, कमजोर मुलुकलाई उनीहरूले कसरी र कति वित्तीय सहायता उपलब्ध गराउने छन् भन्ने स्पस्ट भएको छैन । जर्मन चान्सलर एञ्जेला मार्केलले यो योजना वित्तीय सहायता प्रदान गर्ने तहसम्म पुगिनसकेको बताएकी छन् ।

पछिल्ला केही वर्षयता जी७को बैठकहरू चीनको बढ्दो उन्नतीलाई कसरी रोक्ने भन्नेमा नै बढी केन्द्रित रहँदै आएका छन् । संसारका महाधनि मुलुकहरू अमेरिका, जापान, जर्मनी, ब्रिटेन, फ्रान्स, क्यानडा र इटली सम्मिलित यो समूहमा यस वर्ष पनि चीनले नै बढी प्राथमिकता पाएको छ ।

शनिबारको बैठकमा अधिकांक अमेरिकी प्रतिनिधीले चीनको बढ्दो प्रभुत्वलाई रोक्ने विषयमै बढी समय खर्चेका थिए । गरिब देशलाई अर्बैं डलर लगानी गरिरहेको चीनलाई रोक्न पश्चिमी देशले प्रतिबाद गर्ने योजना बनाउनु पर्नेमा उनीहरूले जोड दिएका छन् । त्यसको खाकाबारे आइतबार साँझ बैठक सकिँदासम्म केही स्पस्टता आउनसक्ने आशा गरिएको छ ।

हाल विश्व बैंक र यस अन्तरगतका विभिन्न निकाय बनाएर अन्तरराष्ट्रिय सहायता गर्दै आएका पश्चिमा मुलुकले गरीब देशको भौतिक विकासमा ध्यान नदिएको भन्ने आलोचना पनि हुँदै आएका छन् । पश्चिम मुलुकले खडा गरेका बहुपक्षीय दातृ निकायहरू गरीब देशमा समाजलाई भड्काउने र विभिन्न बहानामा शोषण गर्ने काममा केन्द्रित भएको भन्दै चीनले आफ्नो आलोचनाको प्रतिबाद गर्दै आएकाे छ ।

बैठकमा अमेरिकी अधिकारीहरूले पश्चिम चिनियाँ प्रान्त शिन्चिआङमा अल्पसंख्यक मुसलमानहरूको श्रमशोषण गरेर चीनले सस्तो लागतमा सामान उत्पादन गर्ने गरेको बताएका छन् । त्यस्ता वस्तु विश्व बजारमा बेच्न लैजाँदा बाँकी संसारले ऊसँगको प्रतिस्पर्धी क्षमता गुमाएको उनीहरूको आरोप छ ।

यसरी कमाएको पैसा गरिब देशमा ऋण कूटनीतिका माध्ययमद्वारा लगानी गरेर संसारभरको राज्यसत्तामाथि नियन्त्रण गर्ने प्रयासमा लागेको भन्दै उनीहरूले चीनलाई रोक्नुपर्ने तर्क गरिरहेका छन् । बाइडन प्रशासनले चीनद्वारा प्रदत्त अन्तरराष्ट्रिय सहायताका लागि ज्यादै ठूलो सामाजिक र मानवीय मूल्य चुकाउनु परेको बताएको छ । उसले अन्तरराष्ट्रिय सहायतामा श्रमशोषणको हिस्सा हुनु नहुने तर्क गरेकाे छ ।

एजेन्सीको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्