इप्पानको सीईओमा पत्रकार भीम गौतम नियुक्त, ३ वर्षे कार्यकालमा संस्थालाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता « Arthapath.com
१३ मंसिर २०८०, बुधबार

इप्पानको सीईओमा पत्रकार भीम गौतम नियुक्त, ३ वर्षे कार्यकालमा संस्थालाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भीमप्रसाद गौतम नियुक्त भएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई सीईओको रुपमा बुधबार नै स्वागत गरेका छन् । उनले गौतमको कार्यकालमा इप्पानले नयाँ उचाईं हासिल गर्ने विश्वास व्यक्त गरे । नवनियुक्त सीईओ गौतमले पनि इप्पानलाई नयाँ उचाईं दिन आफूले शतप्रतिशत योगदान दिने बताए ।

काभ्रेपलाञ्चोकको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ भने पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्षसमेत रहेका गौतमले राजधानी दैनिक, सौर्य दैनिक, रेडियो नेपाल, इमेज च्यानल, नेपाल वान च्यानल, कारोबार दैनिक हुँदै पछिल्लो समय नेपाल पूर्वाधार डट कममा सम्पादकीय नेतृवमा थिए ।

नयाँ बानेश्वर स्थित सेफर्ड कलेजमा पत्रकारिता अध्ययपन गराउने गौतम अनुसन्धान गर्ने संस्था सिआरआई नेपालका कार्यकारी निर्देशकसमेत हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमै एमफिल गरेका छन् ।

देशभरका ४५० भन्दा बढी ऊर्जा उत्पादकहरु आवद्ध रहेको इप्पान ऊर्जा उद्यमीहरुको साझा संस्था हो । इप्पानमा आवद्ध संस्थामध्ये १६३ आयोजनाबाट १ हजार ७०० मेगावाट विद्युत उत्पादन हुनुका साथै ३ हजार २०० मेगावाट क्षमताका १३६ आयोजनाहरु निर्माणाधिन र ३ हजार ५०० मेगावाट क्षमताका १२६ आयोजनाहरु निर्माणमा जाने तयारीमा छन् ।

क्षेत्रगत लगानीका हिसबाले सबैभन्दा धेरै लगानी भएको ऊर्जा क्षेत्रमा नेपालको निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँ लगानी भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्