प्रभु महालक्ष्मी लाइफको सीईओ भट्टराई सहितलाई भिआरएस, ३ देखी १८ महिनासम्मको सुविधा   « Arthapath.com
११ माघ २०८०, बिहीबार

प्रभु महालक्ष्मी लाइफको सीईओ भट्टराई सहितलाई भिआरएस, ३ देखी १८ महिनासम्मको सुविधा  



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेश भट्टराई हिजो बुधवार राजीनामा दिएका छन् । भट्टराईलाई सञ्चालक समितिले भिआरएस लिएर बिदा हुन आग्रह गरेपछि भट्टराईले फागुन १ गते देखी लागु हुने गरी राजीनामा दिएका हुन् । 

कम्पनीले आफ्ना अन्य सिनियर कर्मचारीलाई स्वैच्छिक अवकाश मार्फत कम्पनीबाट बिदा गर्ने भएको छ ।

इन्स्योरेन्सको बुधवार साँझ बसेको सञ्चालक समिति बैठकले माथिल्लो तहमा कार्यरत (डेपुटी म्यानेजरभन्दा माथिका) कर्मचारीको लागी स्वैच्छिक अवकाश योजना ( भिआरएस) ल्याउने निर्णय गरेको हो ।

कम्पनीले १५ दिनको म्याद राखेर भिआरएस निकालेको स्रोतले अर्थपथलाई बतायो । माथिल्लो तहमा १ वर्षभन्दा बढी समय काम गरेका कर्मचारीले भिआरएसमा आवेदन दिन सक्नेछन् । जसमा ७ महिना देखी २४ महिनासम्मको सुविधा दिएर कर्मचारी बिदा गर्ने कम्पनीको तयारी रहेको छ ।

सेवा अवधिका आधारमा वर्षको ३ महिना बराबरको तलब भत्ता सुविधा दिने गरी भिआरएसको प्रस्ताव अघि सारिएको छ । कम्पनी खुलेको ६ वर्ष पुगेको हुँदा सुरुदेखि नै अनवरत काम गरिरहेका कर्मचारीले अधिकतम १८ महिनाको सुविधा पाउनेछन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका रमेशकुमार भट्टराईले सञ्चालक समितिसँग कुरा नमिलेपछि बुधवार नै राजीनामा दिएका छन् । प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर भएको १ वर्ष नबित्दैदेखि कम्पनीमा आन्तरिक कलह सुरु भएको थियो ।

भिआरएसको तारोमा अव महालक्ष्मीबाट भित्रिएका वरिष्ठ कर्मचारीहरू पर्ने निश्चितजस्तै बनेको स्रोतको दाबी छ । भट्टराईको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिको बैठकले सन्तोष प्रसाईँलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्