नवनियुक्त प्रबन्धक निर्देशक अर्यालद्वारा पदभार ग्रहण
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को नवनियुक्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् ।
पदभार ग्रहण गर्दै अर्यालले आफूप्रति सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गरिन् । उनले पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान प्रतिवद्ध रहने बताइन् । साथै आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गरिन् ।
भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई टेलिमकमो प्रबन्धक निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । उनको कार्यकाल चार वर्षको हुने छ । गत वर्षको असोज १७ गते बसेको मन्त्रिपरिषदले अर्याललाई कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो ।
अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् ।
उनीले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् । २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी अर्याल २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।