एनपीएलमा सहभागी सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच प्रायोजन सम्बन्धी समझदारी

काठमाडौं । यही मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच प्रायोजन सम्बन्धी समझदारी भएको छ ।
मंगलबार भएको समझदारी अनुरुप एनपीएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरको रुपमा नेपाल टेलिकम रहनेछ ।
उक्त समझदारीपत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सको तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिदैं आएको बताइन् ।
उनले नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्स मार्फत एनपीएलमा जोडिन पाउँदा खुशी व्यक्त गरिन् । साथै एनपीएल मार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने बताइन् ।