काठमाडौ फिन्टेकको सल्लाहकारमा प्रतिष्ठित बैंकर जोशी नियुक्त
काठमाडौं । प्रतिष्ठित बैंकर सशिन जोशी काठमाडौ फिन्टेकको सल्लाहकारमा नियुक्त भएका छन् ।
बैंक तथा वित्त क्षेत्रमा तीन दशक बिताएका जोशी रणनीतिक योजना, डिजिटल नवप्रवर्तन र नेतृत्वमा विशिष्ट योगदान पु¥याउँदै आएका छन् ।
उनी फोनपेका अध्यक्ष, जवालाखेल ग्रुप अफ इन्डस्ट्रीजका पूर्व समूह कार्यकारी निर्देशक, नाबिल बैंक र एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् । यसका साथै स्टान्डर्ड चार्टर्डमा कर्पोरेट तथा संस्थागत बैंकिङको नेतृत्वदायी भूमिका समावेश छन् ।
काठमाडौँ फिनटेक नेपालको बैंकिङ र फिनटेक क्षेत्रमा सीप, ज्ञान र क्षमताको वृद्धिका लागि स्थापित तालिम र परामर्श प्रदायक संस्था हो । यो संस्था देश तथा विदेशका प्रतिष्ठित संस्थाहरूसँग सहकार्य गर्दै बैंकिङ र फिनटेक क्षेत्रका लागि आवश्यक ज्ञान र सीप हस्तान्तरण तथा परामर्श प्रदान गर्दै आएको छ ।
फिनटेक क्षेत्रको दिगो विकासलाई केन्द्रमा राखेर यस संस्थाले प्रतिपादित गरेको ‘नेपाल फिनटेक फेस्टिवल’ देशकै प्रतिष्ठित वार्षिक कार्यक्रमको रूपमा स्थापित भइसकेको छ।
जोशीको नियुक्तिसँगै संस्थापक र प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले भने,‘ सशिन जोशीजस्तो सम्मानित बैंकिङ व्यक्तित्व काठमाडौँ फिनटेकको सल्लाहकारमा आवद्ध हुनु केवल हाम्रो संस्थाका लागि मात्र होइन, समग्र बैंकिङ र फिनटेक क्षेत्रका लागि गौरवको कुरा हो । उहाँको रणनीतिक दृष्टिकोण, संस्थागत ज्ञान र डिजिटल परिवर्तनप्रतिको उत्साहले नेपालमा फिनटेक इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ।’
काठमाडौँ फिनटेकले नेपालमा फिनटेक र बैंकिङको डिजिटल भविष्यलाई सशक्त बनाउन आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै जानेछ ।












