सिटिजन्स बैंकद्वारा सडक आश्रीत घरबार विहीनलाई १७ दिन भोजनको व्यवस्था र निःशूल्क स्वास्थ्य शिविर « Arthapath.com
६ बैशाख २०८१, बिहीबार

सिटिजन्स बैंकद्वारा सडक आश्रीत घरबार विहीनलाई १७ दिन भोजनको व्यवस्था र निःशूल्क स्वास्थ्य शिविर



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सडक आश्रित घरबार बिहीनलाई दिवा भोजनको व्यवस्था गरेको छ ।

बैंकले आफ्नो सत्रौं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई बिहीबार १ हजार ७०० व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको हो ।

बैंकले आफ्नो सत्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ । भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो ।

सन् २०२० मा कोभिड १९ को सुरुवातसँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरुलाई खाना खुवाउने कार्यको थलानी गरेको संस्थाले हालसम्म ३ लाखभन्दा बढीलाई खाना खुवाएको छ भने ५०० भन्दा बढीलाई अन्य सहयोग गरिसकेको छ ।

यसका साथै आजै बैंकको कोशि प्रदेशको धरान शाखाबाट निःशूल्क स्वास्थ्य शिविर संचालन गरि करीब १५० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको छ ।

साथै आजै कोशि प्रदेशको धरान शाखा र महेन्द्रचोक शाखा, मधेश प्रदेशको महेन्दनगर धनुषा शाखा, बाग्मती प्रदेशको ठिमि, थानकोट, भैंसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरुबाट बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा २२२ जना दाताले रक्तदान गरेका छन् ।

हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्